पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस संयुक्त राष्ट्रसंघका नयाँ महासचिव
काठमाडौं, २८ असोज — पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघका आगामी महासचिवका रूपमा आधिकारिक रूपमा नियुक्त भएका छन् ।
सन् २०१७ को पहिलो दिन उनले संसारको उच्चतम कूटनीतिज्ञका रूपमा बान कि मूनको ठाउँ लिनेछन् ।
६७ वर्षीय गुटेरेस संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका प्रमुखका रूपमा विगत १० वर्षदेखि कार्यरत थिए ।
सिरियाको गृहयुद्ध अन्त्य गर्नु आफ्नो सबभन्दा ठूलो चुनौती रहेको उनले बताए ।
अहिले संसार खतरनाक समयबाट गुज्रिरहेको र सबैतिरका मान्छेले सुरक्षित भविष्यका लागि मिलेर काम गर्नुपर्ने उनले बताए ।
गुटेरेस व्यावसायिक इन्जिनियर हुन् र उनी सन् १९७६ मा राजनीतिमा प्रवेश गरेका हुन् । पोर्चुगलको पहिलो लोकतान्त्रिक निर्वाचनमा उनले भाग लिएका थिए ।
शरणार्थी नियोगको प्रमुखका रूपमा उनले सिरिया, अफगानिस्तान र इराकको शरणार्थी समस्यामा काम गरेका थिए ।
त्यो अवधिमा उने पश्चिमा राज्यहरूलाई द्वन्द्वग्रस्त इलाकाबाट भाग्न विवश शरणार्थीहरूलाई मद्दत गर्न अपिल गरेका थिए ।
संयुक्त राष्ट्रसंघमा पहिलोपटक महिला महासचिव नियुक्त गर्नका लागि लामो प्रयास गरिएको भएपनि गुटेरेसलाई नियुक्त गरिएको छ ।
महासचिव पदका लागि लडेका १३ जना उम्मेदवारमध्ये सात त महिला नै थिए ।
तीमध्ये युनेस्कोकी महानिर्देशक बुल्गेरियाली इरिना बोकोभा र न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री तथा युएनडिपीकी प्रमुख हेलेन क्लार्कको सम्भावना प्रबल रहेको मानिएको थियो ।
संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषद् सर्वा्धिक शक्तिशाली हुन्छ र त्यसका सदस्यमध्ये पाँच देशसँग भिटो पावर हुन्छ ।
सुरक्षा परिषद् जत्तिकै शक्तिशाली नभएपनि महासचिवले शीर्ष कूटनीतिज्ञ र प्रमुख प्रशासनिक अधिकारीका रूपमा काम गर्छन् ।
महासचिवको काम चुनौतीपूर्ण हुन्छ र उसले अन्तर्रा्ष्ट्रिय द्वन्द्व चर्किन नदिनका लागि सार्वजनिक तथा निजी रूपमा प्रयास गर्नुपर्ने हुन्छ ।
पाँच वर्षको एक कार्यकाल र अधिकतम दुई कार्यकाल महासचिवको हुने प्रावधान रहेको छ ।
बीबीसी