महिला विश्वकप एसियाली छनोटमा नेपालको दोस्रो हार, थाइल्यान्डसँग ३ विकेटले पराजित
काठमाडौं। आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ । हङकङमा जारी छनोटअन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ३ विकेटले पराजित भएको हो ।
हङकङको मोङ कोकमा रहेको मिसन रोड मैदानमा नेपालले दिएको ७७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको थाइल्याण्डले १८ ओभर ४ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । थाईल्याण्डको जितमा चानिडा सुत्तिरुआङले अविजित २३ रन जोडिन् । त्यस्तै नट्टाकन चानटमले १३ रन बनाइन् । बलिङतर्फ नेपालकी निर्मला शाहीले ३ तथा सरिता मगरले २ विकेट लिइन् । थाइल्याण्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा थाइल्याण्डले चीनलाई पराजित गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर ७६ रन जोडेको थियो ।
नेपालको लागि निर्मला शाहीले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन । कप्तान रुबिना क्षेत्री ७ रन तथा सरिता मगर ४ रनमा अविजित रहिन् । थाईल्याण्डका लागि नटिया बूचाथम, वोङपाका लिएन्ग्प्रसेर्त,सुलेपोर्न लाओमी र रत्ताना सङसोमाले एक एक विकेट लिईन । थाइल्याण्डसँग पराजित भएपछि ग्लोबल छनोटमा छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ । इंग्ल्यान्डमा अर्को वर्ष हुने विश्वकपको लागि ग्लोबल छनोटमा छनोट हुने सम्भावना जीवित राख्न नेपाललाई थाइल्याण्डबिरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । पहिलो खेलमा आयोजक हङकङसँग ६ विकेटले पराजित भएको नेपालले अब बुधबार चीनसँग खेल्नेछ । टि ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दैछन् । एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।