सद्दाम हुसैनको भव्य महल म्युजियममा परिणत (तस्बिरहरूसहित)
October 12, 2016 | 10:04 am    


काठमाडौं । इराकको बसरा सहरमा अवस्थित पूर्वराष्ट्रपति सद्दाम हुसैनको एक भव्य महललाई म्युजियममा परिणत गरिएको छ, जहाँ इराकका ऐतिहासिक तथा अमूल्य वस्तुहरू राखिाएका छन् । बीबीसीका अनुसार गत हप्ता यस महलमा राखिएका ऐतिहासिक वस्तुहरुको अवलोकनका लागि सयौं मानिसहरु पुगेका थिए । तर, बसराको उक्त महललाई म्युजियम बनाउने काम सम्पूर्ण रूपमा पूरा भने नभइसकेको बताइएको छ ।
बसराको महललाई नया स्वरूप दिन एक २७ वर्षीय युवा महदी अलूस्वीको खास योगदान रहेको छ । उनले तीन वर्ष लगाएर निर्माण, पेन्टिङ तथा बिजुलीबत्ती र खानेपानी पाइपको मर्मत गरेका थिए । यसअघि उक्त भवन ब्रिटिस सेनाले आफ्नो अपरेसनल सेन्टरको रूपमा प्रयोग गरिरहेको थियो । भवनलाई विद्रोहीहरुले यसअघि नराम्रो तरिकाले क्षति गराएका थिए । कुनै समय सत्ता तथा भव्यताको निशानीको रूपमा रहेको यो भवन पछि खण्डहर बनेको थियो ।

“मैले जब पहिलो पटक यो महललाई देखें, तब लाग्यो यो इँटाबाट बनेको नभएर मानिसको रगतबाट बनेको हो,” अलूस्वीले भने ।
यसको सिलिङलाई सफा गरेर फेरि पेन्टिङ गरिएको थियो । ब्रिटिस कम्पनीका तर्फबाट जिर्णोद्धारको काम गर्ने इन्जिनियर ड्युरे तवफिकले भने, “यस महलका स्टाफहरु अचानक सद्दाम हुसैन आइपुग्छन् कि भनेर हरेक दिन तीन पटक खाना पकाउँथे भन्ने कुरा थाहा पाउनु मेरो लागि डरलाग्दो कुरा थियो । तर, उनी कहिल्यै आएनन् ।”
सद्दाम हुसैनको शासनकालमा यी महलको भित्ताका पछाडि के भइरहेको छ भन्ने कुरा अधिकांश इराकी नागरिकहरुलाई थाहा हँुदैनथ्यो ।
अलूस्वीले उनलाई सबैभन्दा धेरै खुशी उक्त भवनको अगाडिको बालकोनी देख्दा लाग्ने बताए । उनले यसलाई मर्मत गर्दा पहिलेको डिजाइनलाई तोडमोड गरेका थिएनन् ।
ड्यूरे तवफिकका अनुसार पहिलो पटक उनी यस महलमा आउँदा उनले सद्दाम हुसैनको नाम महलको भित्ताहरुमा जताततै २ हजार पटक लेखिएको भेट्टाएका थिए । नयाँ प्रधानमन्त्रीले मेटाउनु भने पनि नमिल्ने भएकाले अब यो इतिहासको एक भाग भएको उनले बताए ।
यसअघि सन् १९९१ मा बसराको म्युजियम लुटिएको थियो र त्यसका आधाजति सामान चोरिएका थिए भने यसका निर्देशकलाई पनि गोलि हानी मारिएको थियो ।
अब यसमा नयाँ निर्देशक आइपुगेका छन् । उनले बगदादबाट सयौं सामानहरु बसरा ल्याइसकेका छन् ।