८८ वर्ष काटेका भैरव रिसालको दशैं अनुभव‘४०/५० वर्षपहिले दशैं मनाउँदा कस्तो हार्दिकता हुन्थ्यो, कस्तो रमाइलो हुन्थ्योतर अहिले मान्छेहरू खालि औपचारिकता पूरा गर्नका लागि मात्रै दशैं मनाउँछन् ।’
काठमाडौं, २५ असोज — उमेरले ८८ वर्ष काटिसकेका वरिष्ठ पत्रकार भैरव रिसाललाई हिजोआजका चाडपर्वहरू खालि औपचारिकतामा मात्र सीमित भएकोमा चिन्ता लाग्छ । दशैं, तिहारजस्ता ठूला चाडपर्वहरू अधिक कृत्रिमतातर्फ उन्मुख भइरहेकोप्रति उनी गुनासो गर्छन् ।
‘४०/५० वर्षपहिले दशैं मनाउँदा कस्तो हार्दिकता हुन्थ्यो, कस्तो रमाइलो हुन्थ्यो,’ रिसाल विगत सम्झन्छन्, ‘तर अहिले मान्छेहरू खालि औपचारिकता पूरा गर्नका लागि मात्रै दशैं मनाउँछन् ।’
मुलुकको राजनीतिक व्यवस्थामा आएको परिवर्तन, सोसँगै राज्यले अख्तियार गरेका नीतिसँगै भएको अर्थतन्त्रको विकास अनि सामाजिक, सांस्कृतिक तहहरूमा देखिएको फेरबदल लगायतका कारण चाडवाडको शैलीमा परिवर्तन देखिएको उनको ठहर छ ।
राणा शासनमा दशैं
रिसाल वि.सं. १९८५ सालमा भक्तपुरको अनन्त लिङ्गेश्वरमा जन्मिएका थिए । उनी जन्मँदा मुलुकमा निरंकुश राणा शासन कायम थियो । राणा शासनमा नागरिकलाई खुला ढंगले हिँडडुल गर्ने, बोल्ने, लेख्ने लगायतका स्वतन्त्रतामाथि कडा नियन्त्रण र निगरानी राखिएको हुन्थ्यो ।
‘त्यसबेलाको राजनीतिक व्यवस्था अनुरूप नै मानिसका सामान्य आचरण र संस्कृति स्थापित थिए,’ उनी भन्छन्, ‘यसले चाडवाड मनाउने तरिका पनि निर्धारण हुन्थ्यो ।’
‘सन् १९९५ तिर म अलिक जान्ने हुँदाताका चिउराको बास्ना आउँदा अब दशैं आयो भनेर हामी फुरुक्क हुन्थ्यौं,’ रिसाल झण्डै ८० वर्षअघिको इतिहास सम्झन्छन् ।
उनका अनुसार दशैं र पूजाको प्रयोजनका लागि त्यतिबेला प्रत्येकले घरमै चिउरा कुट्थे ।
‘फूलपातीदेखि चिउरा खान पाइन्थ्यो,’ उनले थपे, ‘अष्टमीमा बोका वा च्याङ्ग्राको बलि दिएर मासु खान पाइने भएदेखि चाहिँ हामीलाई पूर्ण दशैं आएको अनुभूति हुन्थ्यो ।’
पेटभरि मासु खान दशैं कुर्नुपर्ने बाध्यता रहेको त्यो समयमा मासु खान पाइने भइयो भनेर आफूहरू दशैंमा उमंगित हुने गरेको अनुभव उनले सुनाए ।
त्यतिबेला राम्रो लगाउने, उपलब्ध भएसम्म मीठो खाने, पिङ खेल्ने लगायतका गतिविधि गरेर दशैं मनाउने प्रचलन रहेको रिसाल बताउँछन् । पहिरनमा दौरा सुरुवाल, इष्टकोट तथा हुनेखानेले जुत्ता, खानेकुरामा चिउरा, मासु, काँक्रोको अचार (खल्पी) खाएर दशैं मनाइन्थ्यो ।
बाल्यावस्थामा दशैंको समयमा बाँसका लिङ्गामा बाबियोको मोटो डोरीमा काम्लो राखेर पिङ खेलेको सम्झना उनको मानसपटलमा अझै पनि ताजा छ । दशैं आएपछि उनी आफैंले कैयौंपटक रातो माटो वा कमेरोले घर सिंगारपटार गरेका थिए ।
उतिबेला दशैंको समयमा हैजाका कारण कैयौं मानिसको ज्यान जाने गरेको उनी बताउँछन् ।
‘सरसफाईमा खासै ध्यान नदिने र पाएको बखत एकैचोटि धेरै मासु खाइदिँदा कहिलेकाहीँ गाउँमा हैजाको संक्रमण फैलिन्थ्यो,’ उनले भने ।
घरघरमा बलि दिने र बलि दिइएको खसीबोका वा च्याङ्ग्राको मासु लामो समयसम्म राख्ने प्रचलनले दशैंताका गाउँ नै गनाउने गरेको विगत उनले सुनाए ।
अहिले चलनमा रहेको जस्तो देवीदेवताको मन्दिरमा पशु बलि दिने प्रचलन अत्यन्तै दुर्लभ रहेको उनी बताउँछन् ।
संकुचित राजनीतिक व्यवस्था, आर्थिक विपन्नता, अभाव लगायतका समस्याका बावजुद त्यतिबेला हार्दिकताका साथ दशैं मनाइने गरेको उनको अनुभव छ ।
प्रजातन्त्र आएपछिको दशैं
लामो संघर्षपछि वि.सं. २००७ सालमा मुलुकमा प्रजातन्त्र आएपछि भने जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएका थिए ।
‘प्रजातन्त्र आएपछि गाउँगाउँमा विद्यालय र स्वास्थ्य केन्द्र खुल्न थालेका थिए,’ रिसाल भन्छन्, ‘यसले नागरिकलाई शिक्षित बनाएको थियो ।’
प्रजातन्त्रको प्रार्दुभावपछि मानिसको चेतनामा आएको परिवर्तनले रूढ संस्कृतिलाई केही बदल्न सहयोग पु-याएको उनी बताउँछन् ।
‘दशैं धार्मिक पर्व भएकाले आधारभूत रीतमा परिवर्तन नआए पनि मानिसहरूलाई चाडवाड मनाउनका लागि आर्थिक हैसियत र स्वतन्त्रता प्राप्त थियो,’ रिसालले भने ।
पञ्चायतमा दशैं
पञ्चायतकालमा जारी भएको भूमिसुधार ऐन–२०२१ लाई जनताको तहमा परिवर्तन ल्याउने सबैभन्दा ठूलो कोशेढुंगा ठान्छन् रिसाल ।
‘सामन्ती शासनको जगजगी रहेकाले अधिकांश जग्गा र त्यहाँको उत्पादन सामन्तको स्वामित्वमा रहन्थ्यो जसका कारण त्यो समय जनताले गरेको उत्पादनको दुई तिहाई तलसिंह (जग्गा साहु) लाई बुझाउनुपर्थ्यो,’ रिसाल भन्छन्, ‘तर भूमिसुधार ऐनले जनतालाई जग्गा र उत्पादनको स्वामित्व प्रदान ग-यो, अब जनताले आफ्नो उत्पादनको एक चौथाई मात्र उत्पादन तलसिंहलाई बुझाए हुने भयो ।’
भूमिसुधार ऐन जारी भएपछि जनताको जीवनस्तर र अर्थतन्त्रले ‘छलाङ’ मारेको रिसालको अनुभव छ ।
‘प्रजातन्त्रले दिएको स्वतन्त्रता र भूमिसुधारले दिएको जग्गाको स्वामित्व तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा आएको परिवर्तनले जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्यायो,’ रिसाल थप्छन्, ‘अब मजाले चाडवाड मनाउन पाउने हैसियत जनताले प्राप्त गरेका थिए ।’
पञ्चायतकालमा दशैंमा राजाको हातबाट टीका लगाउने प्रचलन रहेको उनी बताउँछन् ।
‘नेता, राजाप्रति अतिशय विश्वास गर्ने मान्छे अनि चाकरीबाज राजाको हातबाट टीका लगाउन दरबारमा लाम लागेका हुन्थे,’ रिसाल भन्छन्, ‘कतिपय त दरबार हेर्ने बहानामा पनि दशैंमा राजाकहाँ टीका लगाउन पुग्थे ।’
अहिलेको दशैं
मूलतः बहुदल आएपछि र मुलुक गणतन्त्रमा प्रवेश गरेपछि चाडवाड मनाउने शैलीमा व्यापक परिवर्तन आएको रिसालको ठहर छ । केही वर्षयता उनलाई दशैंको रौनकले छुँदैन ।
‘अहिले अधिकांशको आर्थिक हैसियत बलियो छ, शिक्षित छन्,’ उनी भन्छन्, ‘तर अहिलेका मान्छेहरूबीचमा भावनात्मक दूरी निकै ठूलो छ ।’
अचेल मानिसहरू खालि औपचारिकता निभाउनका लागि मात्रै दशैं मनाउने उनी बताउँछन् । ‘दशैंका परम्परागत चलन, हार्दिकता सबै हराएर गएको छ,’ उनी चिन्ता प्रकट गर्छन् ।
मनोरञ्जनका अरू थुप्रै विकल्प उपलब्ध हुनु, वैदेशिक रोजगारी तथा शहरोन्मुख प्रवृत्ति, प्रविधिको बढ्दो प्रयोग लगायतका कारण पनि दशैंप्रति मानिसहरूको आस्था कम भएको उनी बताउँछन् ।
आफूले सामान्य ढंगले परिवारसँगै बसेर दशैं मनाउने गरेको उनले बताए ।
लोकान्तरडट कमबाट साभार