सहकारीको नाउँमा ब्रम्हलुट, मासिक साठी प्रतिशतसम्म ब्याज

सहकारिताको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यले खोलिएका अधिकांश सहकारीहरु कमाउ धन्दामा लागेको पाईएको छ । जिल्लामा रहेका अधिकांश सहकारी संस्थाहरु सिमित व्यक्तिहरुको रकम कमाउने माध्यम हुँदा समेत सरकारले त्यसप्रति कुनै चासो नदेखाउँदा सर्वसाधारणहरु मारमा पर्ने गरेकाछन् ।
सहकारी संस्थाले आफ्ना सदस्यहरुमा बचत गर्ने बानीको विकास गराई आफ्ना सदस्यहरु बीच क्रण प्रवाह गर्दै सामुहिक लगानीका आधार निर्माण गर्ने ऐनमा व्यवस्था भएपनि कुनै पनि सहकारी यो मर्म अनुशार चलेको पाईँदैन । आफ्ना शेयर सदस्यबीच बचत तथा ऋण परिचालन हुनु पर्नेमा बजारमा १ सय रुपीयाँमा खाता खोल्न लगाएर व्याज समेत नदिई कारोवार गर्दै आएको पाईँदा समेत कुनै निकायको अनुगमन भएको पाईँदैन ।
केही सहकारी संस्थाहरूले कल कर्जाका रुपमा १ लाख रुपीयाँको दैनिक २ सय रुपीयाँ सम्म व्याज असुली गर्ने गरेको समेत पाईएको छ । यसरी हेर्दा मासिक ६० प्रतिशत व्याज लिने गरेको पाईएको छ । जिल्ला सदरमुकाम कुस्मामा रहेका केही ठूला सहकारीहरुले कल कर्जाका नाउँमा करोडौं रुपीयाँ लगानी गरेर ब्रम्हलुट गर्ने गरेको भएपनि डिभिजन सहकारी कार्यालय बाग्लुङले कुनै अनुगमन र कारवाही गरेको पाईँदैन ।
बैंकहरुले मात्र कल कर्जा जारी गर्न पाउने भएपनि सहकारीहरुले कल कर्जा लगानी गर्न नपाईने सहरकारी डिभिजन कार्यालय बाग्लुङ्गका प्रमुख बिष्णु प्रसाद शर्माले बताउनुभयो । कल कर्जा भन्ने सहकारीको नियममा नै हुँदैन शर्माले भन्नुभयो–सहकारी ऐन–२०४८ को विपरित जाने सहकारीलाई कारवाही गर्छौं । सिमित कर्मचारी र धेरै सहकारी भएकाले आँफूहरुले नियमित रुपमा अनुगमन र कारवाही गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।
विशेष गरि बजारमा रहेका ठूला सहकारीहरूले अनियमितता गरेको भन्ने जानकारी भएपनि कारवाही गर्ने आधार नभेटिएकाले हालसम्म कुनै सहकारीलाई कारवाही गर्न नसकिने उहाँले बताउनुभयो । सहकारी ऐन र नियमावली अनुशार सहकारीका सदस्यले गरेको बचतको व्याज र ऋणको व्याजको अन्तर ६ प्रतिशत रहनुपर्ने भएपनि केही सहकारीले भने व्याजको अन्तर समेत बढि राखेको पाईएको छ । यसले सर्वसाधारण उपभोक्ताहरु मरमा परेकाछन् ।
केही ठूला सहकारीहरूले अपारदर्शी ढंगले काम कारबाहीलाई निरन्तरता दिँदै आएको, वार्षिक करोडौंको कारोबार गरे पनि मुनाफा भने केही लाखमा खुम्च्याउने गरेको, बचत तथा ऋण सहकारीले ढिकुटीको कारोवार गर्ने गरेको, कृषि सहकारीले गैर कृषि क्षेत्रमा लगानी गरेको भएपनि कारवाही नभएको उपभोक्ताको गुनासो छ ।
नियामक निकायले कमजोर कानुन र जनशक्तिको अभाव भन्दै यसतर्फ खासै ध्यान नदिएको तथा सूचना पाएको खण्डमा सहकारीका कर्मचारीहरूले नै मिलोमतो गरेको आधारमा आर्थिक प्रतिवेदन पारित हुँदै आएको सहकारी विज्ञहरूको भनाइले सहकारी संस्थाहरू अझै नचेतेको देखिएको हो । सहकारी संस्थाले जति मुनाफा आर्जन गरे पनि वार्षिक १५ प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न नपाउने कडा कानुनी प्रावधान रहेका कारण सहकारीको कार्यकारी पदमा रहेका तथा सञ्चालक समितिका सदस्यहरूको मिलेमतोमा विभिन्न शीर्षक देखाएर अपारदर्शी ढङ्गले खर्च गर्ने गरेको छ ।
मुलुकमा फस्टाउँदो सहकारीप्रति आम जनताको आकर्षण बढ्दै गएको भए पनि सहकारीमा लागेर रातारात मालामाल बन्ने सपना देखेका केही खराब नियत भएका सहकारीकर्मीहरू यस्तो कार्यमा संलग्न रहँदै आएका छन् । सहकारीको मूल उद्देश्य स–साना रूपमा बजारमा छरिएर रहेका पुँजीहरूलाई एकत्रित गरेर उनीहरूलार्ई आपत परेको समयमा गर्जो टार्ने तथा स–साना परियोजनामा लगानी गर्ने रहे पनि केही सहकारीका सञ्चालकहरूले घरजग्गाको कारोबार, कतिपयको ढुकुटीमा लगानी, कैयौं सहकारीको सेयरमा लगानी गर्ने गरेका छन् ।
सहकारीको सिद्धान्त अनुसार तथा सर्वसाधारणको पक्षमा काम गर्ने सहकारी सञ्चालकहरू समेत विभिन्न नाममा भत्ता लिएर सहकारीलाई लुट मच्चाउने माध्यम नै बनाएका छन् । सहकारी संस्थाका सञ्चालक, प्रबन्धकहरूले बोर्ड बैठक, ऋण समितिको बैठक, लेखा समितिको बैठक आदि बैठकको नाममा भत्ता तथा विभिन्न खर्चको नाममा आफू र आफ्ना मानिसको नाममा रकम निकासा गरेर तथा कतिपय खर्चको कीर्ते बिल तयार गरी ब्रम्हलुट मच्चाउने गरेको बुझिएको छ ।
डिभिजन सहकारी कार्यालय तथा सहकारी विभागले समेत यस्ता कुरामा ध्यान दिन सकेको छैन । देशैभर खुलेका सहकारी संस्थाको अनुगमन तथा नियमन गर्ने निकाय आफैं परिणाममुखी कार्यमा अगाडि बढ्न नसक्दा सहकारीका माफिया दिनप्रतिदिन नयाँ–नयाँ शैलीमा ठगी कार्यमा संलग्न हुँदै आएका छन् । सयौं सहकारीका विरुद्धमा परेको मुद्दा, गलत क्रियाकलाप तथा ठगीको उजुरीको सम्बन्धमा छानबिन गर्दैमा व्यस्त रहँदा सहकारी कार्यालयहरूले सहकारीभित्र हुने गलत धन्दाको विषयमा छानबिन तथा अनुसन्धान गर्न सकेको छैन ।
पर्वतमा हाल ३ सय ३१ सहकारीहरु क्रियाशिल रहेकाछन् भने धौलागिरीमा १ हजार ४३ सहकारी रहेको डिभिजन सहकारी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई