हेर्नुस, कालोपत्रे सडकको बेजोग, हप्ता दिनमै नाली बन्यो
पर्वत,हिउँदमा कानमा तेल हालेर बस्ने र बर्षा लागेपछि काम गर्ने नेपाली प्रबृति अझै सुध्रेको छैन। यसले न कामको गुणस्तर कायम हुन्छ न त ठेकेदारले नै नाफा कमाउन सक्छ । हिउँदभर काम नगर्ने र बर्षा लागेपछि सडक कालोपत्रे गरेपछि अहिले दोबिल्ला फलेबास सडकको कालोपत्रे कामै नलाग्ने भएको मात्रै छैन ठेकेदारले पनि ठुलै घाटा बेहोर्नुपर्ने अवस्था आएको छ।
दोबिल्ला देखि फलेबास सम्मको सडकमा कालोपत्रे भैरहेको बेला भारी बर्षा भएपछि एक सय मिटर जति सडक बगाएको छ भने कालोपत्रे धेरै ठाउँमा भत्किएको छ भने धेरै ठाउँमा कामै नलाग्ने भएको छ। पछिल्लो साता कालोपत्रे गरिएको झण्डै एक सय मिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीयले मापदण्डअनुसारको सामाग्री नराख्दा र सडक विभागका कर्मचारी ठेकेदारसँग मिलेमतो गर्दा कालोपत्रे एक साता पनि नटिकेको आरोप स्थानियबासीले लगाएका छन । बर्षाका क्रममा खोल्साको बाढीलाई एउटा ह्युमपाइपले धान्दैन कल्भर्ट हाल्ने सुझाब दिदा नमान्दा सडकमा थप क्षति भएको स्थानीय यामनारायण श्रेष्टले गुनासो गरे । खोल्साको बाढीले ठाउँठाउँको सडक समेत बगाएको छ ।
यो कालोपत्रेका लागि लामा कन्ट्रक्सन प्रालिले १ हजार ६ सय मिटर कालोपत्रे गर्नेगरी ठेक्का लिएको हो । तीन करोडमा ठेक्का आब्हान गरेपनि ठेकेदारले ३८ प्रतिशत छाडेर लिएको थियो । ठेकेदार कम्पनीले गुणस्तरमा बेइमान नभएको दाबी गरेको छ । ठेकेदार डिबि तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताए । यता सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले ठेकेदारलाई कामका लागि जिम्मा दिएकाले कालोपत्रे उप्केको बिषयमा आफुलाई कुनै मतलब नभएको बताए । उनले सडकको काममा पत्रकारले अनावश्यक चिन्ता लिएको र आगामी दिनमा त्यस्ता चिन्ता नलिन आग्रह गरे । ‘सडक डिभिजनले गरेको काममा पत्रकारहरुले अनावश्यक चिन्ता लिनु आवश्यक छैन’ उनले भने ।
सडक कालोपत्रे गर्नका लागि १८ करोड रुपैया खर्च हुनेछ र ३ बर्ष सम्ममा फलेबास सम्म सडक कालोपत्रे बन्नेछ । दोबिल्ला –फलेबास सडकको निर्माण कार्य २०५१ साल देखि शुरु भएको थियो । उक्त सडकको ट्रयाक खोल्न र स्तरउन्नती गरि ग्राभेल गर्न अहिले सम्म करोडौ रुपैया खर्च भैसकेको छ ।
समाप्त