दशैको मुखमा जेलको बास
पर्वत, असोज २०, नेपालीहरुको महानचाड हो बिजया दशमी, दशैमा बिदेशमा भएका पनि आफन्तको आशिष थाप्नका लागि घर फर्कने गर्दछन । सबैको चाहना हुन्छ परिवारमा संगै बसेर चाडबाड मनाउने , रमाईलो गर्ने अनि चाडलाई अविस्मरणीय बनाउने हाम्रो नेपाली चलन नै हो । तर दशैं कसैका लागि भने दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने साथीको हत्या गरेको अभियोगमा २० बर्ष जेल सजाय सुनाईएका राम्जादेउराली गाबिस–२ का टेकबहादुर जिसी दशैको मुखमा जेलमा छन । यस्तै श्रीमतीको हत्या गरेको अभियोगमा १० बर्ष जेल सजाय सुनाईएका पर्वतको शालिग्राम गाबिस – ६ का दिपक तिवारी पनि प्रहरी हिरासतमा छन । दशै बिदाका कारण अदालत बन्द भएकाले उनी जेलमा पुगेका छैनन तर जेल पुग्नबाट छुट्ने संभावना छैन ।
दुई हप्ताको अवधीमा जेलमा पुग्नेहरुमा नकवजनी चोरीको अभियोगमा एक महिना १५ दिन सजाय पाएका अनिल किसान, रहजनी चोरीमा तीन बर्ष १० दिन सजाय पाएका सन्तोष लामिछाने, नकवजनी चोरी मा २८ दिन सजाय सुनाइएका टेकबहादुर बिक पनि जेलको चिसो छिंडीमा दशै मनाउँदैछन । सवारी ज्यान मुद्दामा १ बर्ष, ११ महिना, ५ दिन सजाय पाएका जयबहादुर खत्रीले पनि दशै मनाउन पाएनन ।
प्रहरीले दुई हप्ताको अवधीमा ४२ जना बिभिन्न अपराधका फरार अभियुक्तहरुलाई पक्रेको छ । सार्वजनिक अपराध र अन्य मुद्दाका अभियुक्तहरुलाई जरिवाना तिरेपछि रिहा गरिएको छ । लुकेर बसेका फरार अभियुक्तहरुलाई कुनै पनि हालतमा नछाडिने र दशैका बेलामा समेत यस्ता अपराधीहरुलाई टिका लगाएको स्थानमा भेटेरै भएपनि जेल चलान गर्ने योजनामा पर्वत प्रहरी पुगेको छ । फरार अपराधी पक्राउ गर्ने अभियानमा सफलता मिलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए ।