लोकमानको घरमा सूचना टाँस्न पुगेको सर्वोच्चको टोलीले साक्षी भेटेन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा पुगेर सूचना नटाँसी सर्वोच्च अदालतका कर्मचारी फर्किएको छ। कार्कीको नियुक्त विवादबारे फेरि सुनुवाई गर्ने सर्वोच्चको निर्णयबारे सूचना टाँस्न कर्मचारी खटाइएको थियो।
अख्तियारका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार कर्मचारी शम्भु खत्रीलाई सूचना टाँस्न जिम्मेवारी दिइएको हो।
अख्तियारको निर्णय २० दिनसम्म पनि प्रमुख आयुक्त कार्कीले छल्न खोजेपछि सर्वाेच्चले सूचना टाँस्ने कर्मचारी खटाएको हो। तर, कार्कीको घरमा सूचना टाँस्न वडाका कर्मचारी नआएपछि त्यसै फर्किएको छ।
यस्तो सूचना गाविस वा वडाको प्रतिनीधिलाई साक्षी राखेर टाँस्नुपर्ने हुन्छ। वडा सचिव सरिता राई सम्पर्कमा नआएको भन्दै सर्वाेच्चको टोली सूचना नटाँसी फर्किएको छ। सर्वाेच्चले दुई चार दिनभित्रै म्याद तामेल गराउन तामेली शाखालाई निर्देशन दिएपनि अझै म्याद तामेल हुन सकेको छैन।