मेरो लाश जलिरहँदा एक थुँगा फूल चढाउँनु है…..

radha-ji

त्यो दिन धेरै समयको अन्तरालपछि उनलाई हेर्न र उनको स्वर थाहा पाउन उनको गाउँ गएँ । अनायसै आज उनको घर जान मन लाग्यो । त्यहाँ पुग्दा दुःखलाग्दो दृश्य देखें र अलमलमा परें । त्यहाँको दृश्य एकदम कोलाहलपूर्ण थियो । सबै सुँक्कसुँक्क रोइरहेका थिए । साहस बटुलेर उनकाबारे सोधें । कसैले औँलाले इसारा गर्दै घरको पछाडिपट्टि अलि तल खोलाको किनारमा आगोको ज्वाला एकतमास दन्किरहेको देखायो । कौतुहलता जाग्यो । के हो त्यो ज्वाला र मलाई किन देखाएको ? फेरि अमिलो मन बनाउँदै त्यही खोलातर्फ हेरें । आगोको लप्का माथि माथि दन्कँदै थियो । नजर कतै नडुलाई एकटक लगाएर हेरिरहें ।

केही वाक्य आएको थिएन ममा, एकहोरो हेरें मात्र । अब यकिन भइसकेको थियो कि त्यो आगोको लप्काभित्र को जलिरहेको छ । असमञ्जस्यतामा परें । त्यहीँ एउटा जाजल्वयमान अनुहार, हसिँलो र फर्साइलो मान्छे जसले मलाई जहिल्यै नानी भन्थ्यो…..माया गर्दथ्यो र त्यही मायाले यहाँ आएकी थिएँ, उसैको लाश जलिरहेको थियो । मन थाम्न सकिनँ । नारी हृदय ।। त्यसैमाथि मेरो प्रेमिल हृदय ।। माया गरेको मान्छे जलिरहँदा मन थामिन सकेन ।

हुन त म जति रोएपनि त्यो आगोको लप्का निभ्नेवाला थिएन र उनी चिताबाट ब्यूँतेर मलाई के छ नानी भन्दै मुस्कुराउँदै आउनेवाला थिएनन् । ‘सानो छँदासँगै गोठालो जान्थ्यौँ । माथि मानेडाँडा छेउको चौरमा गाईबस्तु र बाख्रा छोडेर उनका गीतगजल र मुक्तक सुन्दै रमाउँथ्यौ । आरके मलाई त्यो ऐसेलु टिपिदिनु न के …..म घुर्की लाउँथे । उनी खुरुक्क आदेश मान्दथे । खुशी लाग्दथ्यो । उनी ऐसेलु टिप्दै गर्दा उनको हात काँडाले घोच्ला भनेर डराईरहेकी हुन्थें । तर साह्रै होसियारी अपनाउँथे । दिलको मात्र कच्चा …..साहस र अक्कल त थियो नै कठै ।‘ आज तिनै आरकेलाई भेट गर्न आएकी थिएँ ।

मेरो विवाह अलि सानैमा भयो । हुन त उनी पनि कति न ठूला थिए र विवाह गर्दा । तर पनि विवाह गरेकोसम्म थाहा थियो । उनी विवाहपछि छोरा नभएकामा खिन्नता व्यक्त गर्दथे । एउटा सन्तान के सन्तान । एउटा आँखो के आँखो नानी भन्थे । समयान्तरमा छोरा पनि भएछ । बैबाहिक जीवन कस्तो थियो कहिल्यै दुखेसो गरेनन् । आफ्नो गरिबीसँग उनको ठूलो गुनासो थियो । त्यसैले उनी धन कमाउने र धनी बन्ने लालसा बोकेर विदेशिएको सुनेकी थिएँ । विदेशबाट फर्केको सुनेकी थिएँ र उनैलाई भेट्न उनको गाउँ गएकी थिएँ । तर सास हैन उनको लाश आएको रहेछ ।

Radha Bastolaलोभले लाभ लाभले विलाप भन्थे त्यसै भएछ । सानो छोरा रहेछ । छोरी अलि ठूली । तिनीहरु पनि रोइरहेका थिए । किन रोयौँ भन्ने ज्ञान थियो कि थिएन तर आमाको पच्छ्यौरी समातेर रोइरहेका थिए । उनकी पत्नीको बेहाल थियो । सम्हाल्न गाह्रो परेको थियो बिचरीलाई । मेरो स्थानमा उनी थिइन् । मेरो सिउँदोमा सिन्दुर, गलामा पोते र जीउभर रातो लुगा थिए । उनकी पत्नी श्यामस्वेत थिईन ।

मन थाम्न सकिन । रोएँ । भावविव्हल भएर रोएँ । कसैलाई सम्झाउँन सकिन । आफैँ सम्झन सकेकी भए पो । मन पराएको मान्छे ।।। मलाई माया गर्ने मान्छे आज यसरी मेरै अगाडि खरानी बनिरहेको छ । ‘मेरो नसीब नै यस्तै छ कान्छु ।।। कहाँ समय थियो र तिमीलाई पर्खन,’ भन्थ्यो बिहे गरेपछि । रोएकी थिएँ त्यसबेला । आज पनि नपर्खी गयो निष्ठुरी आरके । अनि फेरि रुवायो । आफ्ना गरिबीका कुरा गर्दथ्यो । बाउ मरेको र आमाले दुःख दिएको कुरा सुनाउँथ्यो । सुनिरहन्थेँ अनि आँशु झर्दथे अनायसै । आज फेरि उ मरेर गएको छ । र ती मसिना लालाबालाले दुःख पाउलान् भन्ने लागेर फेरि रोएँ । उनको शरीरबाट उतारेको कपडा हेरें, मन थामिएन । कुनै समय मैले दिएको सर्ट जो उसलाई खुब मन पर्दथ्यो, त्यही पर कतै राखिएको थियो डढाउन ।

उसँगै उसको रहर गयो । मेरो खुसी गयो । मेरो अतित गयो । हाँसखेल र ठट्टा रमाईलो गयो । उपहार दिएका धेरै कुरा उनले संगालेर राखेका रहेछन् । सबै खरानी भए । कति प्यार रहेछ मेरो उपहारप्रति । ‘काली तिमीले जसलाई पाएकी छ्यौ त्यो तिम्रो भाग्य हो । जसलाई गुमायौ, त्यो तिम्रो अहोभाग्य हो,’ भनेका थिए निष्ठुरीले । उनी बाँच्दा ठिकै भनेका रहेछन् लाग्दथ्यो मलाई । किनकी म मेरो वर्तमान जिन्दगीसँग खुसी थिएँ । धन, सम्पत्ति, सन्तान सब थियो । साथीजस्तो लोग्ने थियो । उनीमा केही थियो सबथोक थिएन । त्यसैले जहिल्यै भेट हुँदा एक थुंगा फूल दिन्थे, गुलाबको । अनि भन्ने गर्दथे । ‘तिमी मेरी नभएर के भो र कान्छु म मरें भने मेरो लाशमा यो एक थुँगा फूल चढाई दिनु अनि लाशको छेउमा धुप जलाईदिनु,’ तर अहिले यहाँ म पत्थर भईरहेकी थिएँ । फूल होईन । खरानी भईसकेका थिए उनी । दियो जलाउन सकिनँ ।

विवाहपछि पनि उनीसँग कुराकानी हुन्थ्यो । उनी दिलमा जे भए पनि मनमा सफा थिए । घरिघरी उनलाई नानाभाँती भन्थेँ । सुरुमा उनी अचम्म मान्थे र मलाई के ठान्थे कुन्नि । विस्तारै बानी पार्दै गए । यो क्रम जारी थियो । एकदिन उनले मेरो मन दुखाए । खै किन हो, त्यति सम्झना पनि छैन । कतै टाढाको तर महत्वपूर्ण यात्रामा गइरहेका थिए उनी । फोन गर्दा मैलै बसको झ्यालबाट हामफालेर मर भनेको थिएँ र उनले मन नपराउने तर मेरो फेसबुकको साथीको कुनै यात्रामा शुभयात्रा भनेकी थिएँ । त्यसै दिन उनको यो गति भएछ । मैले किन त्यसो भनेँ हुँ । किन त्यो शब्द उच्चारण गरें हुँ । मैले कविवर माधवप्रसाद घिमिरेको गौरीको त्यो प्रसङ्ग सम्झें ।  लेखिएको थियो

‘ सम्झी ल्याउँछु–आज छैन रिस क्यै, गाली गरें हुँ किन ।
जाने नै रहिछन् नि, त्यो दिन त्यसो मैले गरेँ हुँ किन ।
आफ्नैले त कसुर गर्छ, अहिले देखेर पो के भयो ।
के सम्झेर गईन् उनी, गुणकथा लेखेर पो के भयो ।

मामु उठ्नुस्न । छोरा एक्कासी चिच्यायो । किन के भो हजुरलाई र रुनु भएको ?  किन चिच्याउनु भएको ?  झसंग भएँ । बिउँझिए । छेउमा लोग्ने पानी राखीदिएर मर्निङवाक गएका रहेछन् । पानी पिएँ । जुरुक्क उठें । टुक्रुक्क बसें । टाउकोमा हात राखें । चिट्चिट पसिना आएको रहेछ । पुछें । डराइडराई छेउमा राखेको मोबाइल हेर्न खोजें । हात काँपे । कतै यहि खबर त छैन भनेर । नभन्दै उनकै मिसकल आएको रहेछ । म ढुक्क भएँ । तर मेरा भगवानलाई धेरै धेरै पुकारा गरें । कहिल्यै यस्तो नहोस् भनेर कामना गरेँ । निद्रामा देखेको भयानक सपनाले अनायसै खिन्न बनाईरह्यो । हे भगवान, उनी जहाँ छन् र जेजस्तो अवस्थामा छन् । सधैँ रक्षा गर्नु है । – सिक्किम

– See more at: http://www.nepalese.org/article/2015/06/08/14598/#sthash.3w8WDJEn.9NLfOr35.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’