राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम शुरु
खुर्कोट सबस्टेशनको शिलन्यास , २८ महिनामा सक्ने लक्ष्य
पर्वत, असोज १५ , म्याग्दी र मुस्ताङ्गमा निर्माणधिन जलबिद्युत आयाजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम शुरु गरेको छ।
आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना खण्डको काम शनिबार देखि शुरु भएको छ। आयोजनाको पर्वतको खुर्कोट स्थित २२०÷१३२÷३३ केभी सबस्टेशनको शिलन्यास भएको छ।
खुर्कोटमा आयोजित कार्यक्रमम पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलन्यास गरे । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना खण्ड ३९ किलोमिटर लामो हुने छ। बिद्युत प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाको खुर्कोट – कुस्मा खण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी शुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताए । आयोजनाको खुर्कोट –दाना प्रसारण लाईन तथा खुर्कोट र दाना सबस्टेशनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ। आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । खुर्कोट देखि दाना सम्म १ सय १० वटा टावर रहनेछन ।
म्याग्दीमा निर्माणाधिन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, ४ मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १ सय ५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि पनि सबस्टेशनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । खुर्कोट देखि पर्वत, स्याङ्गजा, पाल्पा र रुपन्देही सम्मको प्रसारणलाईनका लागि जग्गा अधिग्रहणको प्रकृया शुरु भएको उनले बताए । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।