माधव नेपालको संस्मरणः सीपी मैनालीले भनेपछि जागिर छाडें गौरदेखि काठमाडौैसम्म, राजनीतिदेखि काजकिरियासम्म

हाम्रा पूर्खाको कुरा गर्ने हो भने दुई शताब्दी भन्दा पहिले उहाँहरुले धादिङको जीवनपुरबाट बनासर हुँदै भारत बैरगियाँ, त्यसबेलाको मुजफ्फरपुर जिल्ला अन्तर्गतको ‘माडपाकोठी’ भन्ने ठाउँमा शिवहर -पछि त्यसलाई शिवहर थाना भनियो) राजाको शासन कालमा जग्गा जमिनहरु प्राप्त गर्नुभएको थियो ।

हाम्रा पूर्खाको विद्वताबाट प्रसन्न भएर शिवहर राजाले आफ्नो स्थानमा बस्नका लागि अनुरोध गरेको सुनेका थियौं । उहाँहरुले प्राप्त गरेको उब्जाउ भूमिको छेउमा बस्ती बसाउने काम पनि राजाको आदेशमा भयो रे ।

सुरु सुरुमा गौरमा रहेको एउटै जग्गामा हाम्रो परिवारका पाँचै जना बुवाहरुको साझा घर रहेको थियो, जसलाई हामी बाँसघारी भन्थ्यौं । घरको छेउमा बाँसघारी थियो, त्यसको छेउमा एउटा इनार थियो, त्यसको छेउमा एउटा मन्दिर थियो ।

हामी बिहान सबेरै इनारबाट पानी निकाल्ने, दाँत माझ्ने, नुहाइ धुवाइ गर्ने र त्यहीँको पानी ल्याएर खाना पकाउन प्रयोग गर्ने गथ्र्यौं । सबै छरछिमेकीहरु त्यही इनार प्रयोग गर्दथे र त्यही छेउमा रहेको माईको मन्दिरमा पूर्जा गर्दथे । यसरी त्यहाँको सामाजिक जीवन चलिरहेको थियो ।

पछि हाम्रो परिवार अलि ठूलो हुन थालेपछि जेठा बुवा सबैभन्दा पहिला अलग हुनुभयो र अलग ठाउँमा एउटा घर बनाउनुभयो । हाम्रो घरभन्दा दुईतिन घर दक्षिणतिर मेनरोडमै उहाँको घर थियो ।

पछि हाम्रा काहिँला बुवा र हाम्रा बुवा दुवैले मेनरोडमा जग्गा लिनुभयो र घर बनाएर बस्न थाल्नुभयो । बाँकी दुई परिवार माइँला र साइँला बुवाहरु पछिसम्म त्यहीँ बस्नुभयो ।

पछि हाम्रा साइँला बुवाका जेठा छोरा कृष्णकुमार नेपालले अलग घर बनाउनुभयो । स्कुल जाने बाटोमा र त्यहाँ सनुभएको थियो ।

हाम्रो टोल जसलाई भन्सार रोडको बस्ती भन्छन्, जो भारतको सीमा नजिकै पर्छ । हामी हिँड्दै जाँदा दुई मिनेट र कुद्दै जाने हो भने एक मिनेटमा भारतको सीमानामा पुग्थ्यौं ।

मेरो वाल्यकाल र पढाइ

मेरो पढाइ पनि राम्रो भएर होला, बुवाले मलाई एकैचोटि दुई क्लास टपाएर राखिदिनुभयो । मेरो उमेरको हिसाबले मेरो उमेरका समकक्षीहरु मभन्दा दुई क्लास, तीन क्लास जुनिएर भएर मभन्दा धेरै सिनियर दाजुहरु मेरा समकक्षी भए । लक्ष्मणकुमार उपाध्याय मेरा दाजु हुनुहुन्छ, उहाँ र मैले सँगसँगै एसएलसी पास गरेका हौंं । हामी सँगसँगै पढ्थ्यौं । त्यसैगरी सिनियर रहेका दाजु सुशीलकुमार नेपालसहित अरु पनि धेरै व्यक्तिहरु थिए । मभन्दा थोरै जेठा शंकर उपाध्याय, मभन्दा दुई क्लास जु्नियर हुनुभएको थियो । कक्षा टपाइदिएका कारण मैले साने उमेरमा एसएलसी गरे । मैले १४ वर्षको उमेरमा एसएलसी गरे ।

सानैदेखि मेरो स्वाभाव मिलनसार तर मिजास अलि कडा थियो । कामसित मात्र मतलब हुन्थ्यो । अनावश्यक फाल्तु कुराहरु मलाई मन पर्दैनथ्यो । कसैले अनुचित कुराहरु गर्न थाल्यो भने म मन पराउँदैनथे ।

त्यसबेला हाम्रो खपडाको घर थियो र घरमा ट्वाइलेटको व्यवस्था थिएन । त्यतिखर घरमा ट्वाइलेट राख्दैनथे । हामी बिहान सबेरै उठेपछि लोटामा पनि लिएर मन्दिरको छेउबाट पर खेतमा गएर शौचनिवृत्त भएर घरमा आउने गथ्र्यौं । नुहाउनका लागि हाम्रो सामुन्नेमा भएको कुवाको पानी प्रयोग गथ्र्यौं । हृयाण्ड पाइपको व्यवस्था त्यतिखेर थिएन ।

म सम्झन्छु ,’जब बेलुका शौच गर्नका लागि जानुपथ्र्यो । म कताकता भुत, प्रेत र बोक्सी तीनवटा कुराले सताउँथ्यो । मन्दिरको पछाडिको खलियानसम्म जाँदा त ठिकै हुन्थ्यो, त्यहाँबाट आधा सास फेरेर जान्थें म । फेरि एउटा प्लट पुरै छोडेर टाढा जानुपथ्र्यों, नत्र फेरि नजिकै दिसा गर्न थाल्यो भने गाउँलेहरु कराउलान् भन्ने डर थियो ।

हामीलाई शुद्ध बाहुनको छोरा भन्थे, मेरो ११ वर्षको उमेरमा ब्रतबन्ध भयो । ब्रतबन्ध गराउन जनकपुरमा बुवाले भार र मलाई लिएर जानुभयो । भाइ विनोद ९ वर्षका थिए र म ११ वर्षको थिएँ ।
विसं २०२२० लामा हाम्रो ब्रतबन्ध भयो । हाम्रा मामाका चार छोराहरुमध्ये दुईभाइ गरी चारजनाको जनकपुरमा सानीआमाको घर छेउकै घरमा ब्रतबन्ध भयो ।

गौरमा आठ नम्बर वडालाई पहाडे टोल भनिन्छ । त्यहाँ पहाडियाहरुको बाक्लो बस्ती छ । विभिन्न जातजातिका पहाडियाहरुको बसोबास भएको त्यहाँ सरकारी कार्यालयहरु समेत छन् । गौरभन्दा अलिकता उत्तरपूर्वतिर एउटा गाउँ छ, त्यसलाई भन्छन् पुरेनवा वा त्यसलाई कडुवा पनि भनिन्छ ।
साहित्यकार गोविन्द भट्ट पनि सोही टोलका वासिन्दा हुनुहुन्थ्यो । पुरेनवा दरबार र दरबारको नजिकै पहाडियाहरुको बस्ती थियो ।

म बिरामी भइराख्थें

म सानै उमेरदेखि शारीरिकरुपमा अलिक कमजोर थिएँ । बेला बेलामा ज्वरो आउँथ्यो । फोक्सोका कारण मलाई ज्वरो आउने रहेछ, उक्त कमजोरी हट्छ भनेर मैले धेरै वर्षसम्म गाईको गहुत खाएको छु ।

भारतको बैरगनियाँमा एकजना बनवारीलाल अग्रवाल भन्ने डाक्टर थिए, उनले मेरो लामो समियसम्म उपचार गरे । प्रत्येक वर्ष जसो मलाई ज्वरो आइरहन्थ्यो । एसएलसीपछि उपचारका लागि बुवाले पटनामा लिएर जानुभयो । त्यहाँ गौरका हाम्रा छिमेकी मानन्धरहरुमध्येका एक जना विश्वभक्त मानन्धर हाइकोर्टको एडभोकेट हुनुहुन्थ्यो । उहाँको घरमा बसेर भारतका उपराष्ट्रिपति जाकिर हुसैनका निजी चिकित्सकसँग उपचार गराएँ । उनको उपचारबाट म निकै प्रभावित भएँ । त्यस उपचारबाट मलाई धेरै निको भयो र प्रत्येक वर्ष ज्वरो आइरहनेबाट म धेरै हदसम्म जोगिएँ ।

पढाइ र जागिर

बिरामी परेका कारण मेरो सीतामढीमा भर्ना गरेको आइएस्सीको पढाइ छुट्यो । अब के गर्ने ? भन्ने सोचाइकै बिचमा केही समय खाली भयो । मलाई अन्तर्राष्ट्रिय राजनीतिमा रुचि बढिरहेको थियो । कलाकुञ्ज पुस्तकालय र पुष्पलाल समूहबाट गुप्त रुपमा सञ्चालित अर्को पुस्तकालयबाट पुस्तकहरु लिएर पढ्न थाले । त्यति बेला पुष्पलाल समूह जिल्ला स्तरीय कमिटी कि्रयाशील थियो ।

अध्ययनका साथमा उक्त खाली अवधिमा मैले राष्ट्र बैंकले कृषि सम्बन्धी तथ्यांक सङ्कलन गर्नका लागि खटाउने तथ्याङ्क संकलकको काम गरेर केही पैसा कमाएँ ।

पछि मैले भूमि प्रशासन कार्यालयमा काम गर्नका लागि अन्तर्वार्ता दिए । मलाई सम्झना भएसम्म त्यतिखेर अन्तर्वार्तामा तीनजना मानिस बसेका थिए । एकजना डायोडाका प्रमुख (डा अरुण सायमीका कान्छा बुवा आनन्दबहादुर मानन्धर) अर्को बझाङ घर भएका हर्कबहादुर सिंहनामका भूमि प्रशासक र अमर्को एकजना प्रमुख जिल्ला अधिकारी ।

पहिलो प्रश्नका रुपमा मलाई संयुक्त राष्ट्र संघका महासचिवको नाम के हो ?’ भनेर सोधिएको थियो । ।मैले अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिका बारेमा अध्ययनत गरिरहेको हुनाले त्यो प्रश्न मेरा लागि सनमान्य बन्यो । मैले दिएको उत्तरबाट सबै प्रभावित भए र म जागिरका लागि छानिएँ ।

अन्तरवार्ताबाट छानिएपछि म खरिदारको रुपमा जागिरे भएँ, साइकिल सिकेँ र अफिसको कामले गाउँ गाउँमा जान थालें । त्यही क्रममा रौतहटका गाउँहरुमा किसानहरुका समस्याहरुलाई बुझ्न पाएँ ।

वीरगञ्जमा आइकमको पढाइ सकिएपछि म काठमाडौं गएँ, पुष्पलालको पार्टीलाई छोडेँ, नयाँ पार्टी बनाउनुपर्छ भन्ने कुरा सोचेँ र सोही काममा लागेँ

त्यतिबेला मैले नोकरीबाट केही पैसा कमाएँ । मलाई त्यति बेला लाग्यो कि ‘हामी ६ जना छोराछोरी छौँ तर कमाउने बुवा मात्रै हुनुहुन्छ । सबैको शिक्षादीक्षा एवम् घर व्यवहारका निम्ति बुवालाई समस्या छ, त्यसैले मेरो उच्च शिक्षाको खर्च मैले आफैँ जोहो गर्नुपर्छ, जसले गर्दा बुवालाई आर्थिक भार नपरोस् ।’ मैले पढाइका लागि खर्च जम्मा गर्न थालें ।

जागिरसँगै राजनीति

एक वर्ष पढाइ छुटेपछि आइएस्सी पढ्नका लागि धेरै मिहिनेत चाहिने र मेरो स्वास्थ्य धेरै राम्रो नभएकाले मैले वीरगञ्जमा आइकम पढ्न थालें । आइकमको पढाइसँगै म राजनीतिक गतिविधिमा संलग्न भएँ र पुष्पलाल समूहको पार्टी सदस्य बनेँ । खरिदारको जागिर छोडेँ ।

वीरगञ्जमा आइकमको पढाइ सकिएपछि म काठमाडौं गएँ, पुष्पलालको पार्टीलाई छोडेँ, नयाँ पार्टी बनाउनुपर्छ भन्ने कुरा सोचेँ र सोही काममा लागेँ ।

राजनीतिक सोचाइका अतिरिक्त फेरि मैले जागिरको खोजी गरेँ र नेपाल बैंक लिमिटेडमा मलाई नोकरी प्राप्त भयो । जागिर पाउनासाथ मलाई बिराटनगरको रानी इलाकाको शाखामा खटाइयो ।

बिराटनगर जाने नेपालको बाटो थिएन, रक्सौलको बाटो हुँदै जोगबनी र त्यहाँबाट बिराटनगर पुगेँ । म थकित थिएँ । हनहनी जरो आउँछजस्तो भएको थियो । मेरा एक जना दाजु दिव्यकुमार उपाध्याय बिराटनगर जुट मिलमा एकाउन्टेन्ट हुनुहुन्थ्यो, उहाँको फेमिली क्वार्टर थियो । अर्का दाजु गोविन्दकुमार उपाध्याय अलग्गै क्वार्टरमा बस्नुहुन्थ्यो ।

बिराटनगर गएको पहिलो दिन गोविन्द दाजुको कोठमा मैले सामानहरु राखेँ र बाहिर होटलमा खाना आएँ । ज्वरो आउँछजस्तो भएका बेला तातो-तातो खाना खाएको त थकान मेटियो र म स्फूर्तिसहित साबिक अवस्थामा फर्किएँ ।

पछि गोविन्द दाजुको डेरामा बस्ने र दिव्य दाजुको घरमा खाना खाने गर्न थालेँ । म महेन्द्र मोरङ कलेजमा बिहानी सिफ्टमा बीकममा भर्ना भएँ । बिहान सबेरै उठेर कलेज जाने, दिउँसो अफिसमा काम गर्ने । बेलुकी मजदुरकावीचमा राजनीति गर्ने मेरो दैनिकी थियो ।

मैले राजनीति गर्ने कुरा घरमा थाहा दिएको थिइनँ । बुवाले बेला बेलामा सम्झाउँदै भन्ने गर्नुहुन्थ्यो, ‘बाबु आफ्नो व्यक्तित्व बनाउन सकेनौ भने जिन्दगीमा कुनै अर्थ छैन, कम्तिमा पनि ग्रयाजुएसन गर, आफ्नै व्यक्तित्व निर्माण गर र त्यसपछि मात्र आफू जहाँ, जेमा लाग्नु छ लाग, आफ्नो जीवन आफैँ बनाउनुपर्छ । ‘

यो ज्ञान मेरा लागि निकै महत्वपूर्ण थियो । म राजनीतिमा लागेका बेला ‘बुर्जूवा शिक्षा पढ्नु हुँदैन र शिक्षा छाडेर राजनीतिमा हामफाल्नुपर्छ’ भन्ने व्यापक अभियान थियो । मलाई पनि बिराटनगरमा विश्वराज भट्ट भन्ने त्यस बखत मोरङ रानीका मुख्य नेताले पढाइ बहिस्कार गर्न र राजनीतिमा हामफाल्न दबाव दिएका थिए । मैले पढाइ छोड्ने कुरालाई अश्वीकार गरेँ । मेरो तर्क थियो कि ‘कार्ल माक्र्सले पीएचडी गर्दा हुने, अनि हामीले पढ्न किन नहुने ?’ मैले बुवाको पढाइ पूरा गर्ने अभिप्रेरणा अनुरुप बीकमको पढाइ पूरा गरेँ र राजनीति पनि गरिरहेकै थिएँ ।

म राजनीतिमा लागेको कुरा दाजुहरुले बुवालाई खबर गर्नुभएको रहेछ । त्यतिबेला सर्लाही जिल्ला घर भएका भवनाथ उपाध्याय, जो त्यतिबेला नेपाल बैंक लिमिटेडमा अधिकृत पञ्चम तहमा काम गर्नुहुन्थ्यो । उहाँ हाम्रो भिनाजुको कान्छो भाइ हुनुहुन्थ्यो -उहाँ पछि नेपाल बैंकको महाप्रवन्धक पनि हुनुभयो ।) बुवाले मलाई गौरमा सरुवा गर्नका लागि भन्नुभएछ र मेरो गौरमा सरुवा भयो ।

मैले बिराटनगरमा जागिर सुरु गरेर पहिलोपटक घरमा आउँदा आमालाई के लगिदिउँ भनेर सोचेँ ।

मालाई सबैभन्दा चाहिने र मन पर्ने बाटा हो भन्ने कुरा मनमा आयो । मैले बाटा किनेर आमालाई लगिदिएँ । बाटा ल्याइदिएको देखेर आमा निकै खुसी हुनुभयो । नेपाल बैंकमा जागिर सुरु गरेपछिको पहिलो कमाइबाट ल्याएको हुनाले त्यतिबेला आमाको अनुहारमा निकै खुसी छचल्किएको कुरा अहिले पनि स्मरण गरिरहेको छु ।

गौरमा आएपछि राजनीतिमा नलाग्ला भन्ने बुवाआमाको सोचाइ थियो । म भने आइबारदेखि शुक्रबारसम्म बैंकमा काम गर्नेँ, शुक्रबार बेलुका साथीहरुकोमा काम छ’ भनेर निस्किन्थेँ, गाउँ गाउँमा किसानहरुकोमा गएर संगठन गर्थें र आइतबार बिहान फर्किन्थेँ । यो क्रम निरन्तर चलिरहृयो । यस क्रममा मैले रौतहट जिल्लाका विभिन्न स्थानमा संगठन निर्माण गर्ने काम गरेँ ।

नयाँ पार्टी निर्माण अभियान

म ०२८ सालमा बिराटनगर गएको थिएँ र ०३१ सालको सुरुमा म गौरमा आएँ । गौरमा एक वर्ष काम नगर्दै म र सीपी मैनालीका बीचमा अब मैले भूमिगत हुनुपर्छ भन्ने सोच आउन थाल्यो । ०३१ सालको सुरुमा पार्टी बनाउनका लागि हामीले कोसिस गर्‍यौं । तर, त्यो सम्भव भएन ।

राजीनामा दिने क्रममा मेरो मनमा एकखालको बाढी नै आयो । मैले आमालाई र बुवालाई निकै धेरै सम्झिएँ, घरको सबै परिस्थिति आँखामा नचिरहृयो

त्यसपछि जागिर छाडेर पूर्णकालीन हुनुपर्‍यो भनेर सीपी मैनालीले प्रस्ताव राख्नुभयो । उहाँ र म दुईजना व्यक्ति थियौँ-नयाँ पार्टी स्थापना गर्ने व्यक्तिहरु । उहाँ पूर्णकालीक हुनुहुन्थ्यो, तर म जागिरे थिएँ । ‘अब जागिर छोड्नुपर्‍यो’ भनेर ०३१ सालको फागुन महिनामा हामी काठमाडौं आयौँ । राजा वीरेन्द्रको राज्याभिषेक चलिरहेका बेला हामी कितावसहितका समान लिएर गइरहेका थियौं, पुलिसले चर्को खानतलासी लिइरहेको थियो । तर, हामी कसै गरी जोगिएर आयौं ।

म नोकरी छाड्ने मानसिकतासहित बैंकमा गई निहुँ बनाएर महाप्रवन्धक आनन्दराज राजभण्डारीसँग भनें कि ‘म बीकम पास भएको मान्छे, मलाई बैंकले अधिकृत तहमा बढुवा गरेन, म यो बैंकको काम गर्दिनँ । तर, उहाँ मेरो अनुमान विपरीत तुरुन्त अधिकृत तहमा बढुवा गर्न तयार हुनुभयो । मलाई आफ्टेरो पर्‍यो ।

म समाजमा योग्यता अनुसार काम नपाएको भनेर विद्रोह गरेर जागिर छोड्न चाहन्थेँ । उनले भोलि आउनु भनेकाले मलाई भोलिको विश्वास छैन । भनेर ०३१ चैत्रदेखि राजीनामा गरेर हिँडे ।

राजीनामा दिने क्रममा मेरो मनमा एकखालको बाढी नै आयो । मैले आमालाई र बुवालाई निकै धेरै सम्झिएँ, घरको सबै परिस्थिति आँखामा नचिरहृयो । भूमिगत हुँदैछु, नयाँ जीवनको यात्रा आरम्भ गर्दैछु, कस्तो हुने हो, त्यो अनिश्चित भविष्य ? यी र यस्तै कुराहरु मनमा आइरहे ।

एकातर्फ भविष्यको चिन्ता थियो भने अर्कातर्फ राजनीतिक जिम्मेवारी र कर्तव्यको विषय ।

राजनीतिक जिम्मेवारी अन्तर्गत सीपी मैनालीले पूर्वतर्फको जिम्मा लिने र मैले पश्चिमतर्फको जिम्मा लिने कुरा भएको थियो । यो सबै काम नोकरी गरेर गर्न सम्भव थिएन । विभिन्न समयमा, विभिन्न बाहनामा हप्ता हप्ताका छुट्टी लिँदा यो प्रक्रियालाई लामो समय टिकाउन सकिँदैन भन्ने मेरो निष्कर्ष थियो ।

अन्त्यमा मैले जागिर छोड्ने निर्णय गरेँ र पञ्चायती सत्तालाई ढाल्नका लागि ‘अब म प्राइभेट जागिर गर्छु र पोखरामा अडिटिङको काम गर्दैछु भनेँ ।’ घर बाहिरका मानिसलाई प्राइभेट काम गर्छु भने पनि घरमा मैले पार्टीको काम गर्न थालेको कुरा बताएको थिएँ ।

भूमिगत भएपछि जनकपुरमा पार्टी काम गर्दागर्दै म ०३२ माघमा पक्राउ परेँ । घरमा बुवाहरुलाई मैले पोखरामा छु भनेर ढाटेँको थिएँ । तर, जनकपुरबाट पक्राउँ परेँ । म पक्राउ परेको कुरा हाम्री ठूलीआमाका माध्यमबाट बुवाआमाले थाहा पाउनुभएछ ।

पक्राउ पर्नासाथ मैले मेरो नाम निरज शर्मा भएको र घर सिलगुढी भएको कुरा बताएको थिएँ । जब पुलिसले मलाई बयान लिन थाल्यो, सोचेँ कि ‘मलाई अब ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउँछन् र १० वर्षको सजायँ हुन्छ । किनकि मैले त्यति बेला पक्राउ गर्न आउने प्रहरीमाथि ‘फर्सा’ नामक हतियार उठाएको थिएँ ।

त्यति लामो समय घर परिवारको सम्पर्क बाहिर रहनु सम्भव छैन र यदि त्यसो गरिहाले पनि पछि वास्तविकता थाहा भएपछि झन् असजिलो मुद्दा लगाएर धेरै सजायँ दिनेछन् ।’ त्यसैले मैले मेरो बयान फेरेँ ।

‘मेरो घर गौर हो, मेरो बुवाआमाको नाम यो हो, सहित मैले आफ्नो जीवनका सबै कुरा सावधानीपूर्वक बताएँ ।’ भूमिगत भएदेखि पक्राउ पर्दासम्मको कुरा बताउँदा ‘बैंकले योग्यता अनुसारको काम नदिएकाले रिसाएर मैले जागिर छोडेको हो, जागिर छोडेपछि म भारततिर गएको कुरा बताएँ । मैले नेपालमै बसेको कुरा गरेको भए ‘कसको घरमा’कहिलेदेखि जस्ता अनेक प्रश्नको जवाफ दिनुपथ्र्यो ।

भारतमा कहाँ गएको भनेर सोध्दा मैले लखनउ गएँ भनेँ । मलाई पश्न सोध्ने डीएसपी लखनउमा पढेका रहेछन् । उनले लखनउमा के छ ? भनी सोधे, मैले भने लखनउमा ‘टाउन हल ।’ उनले ठीक भने । उनले फेरि सोधे ‘लखनउमा कति ओटा रेल्वे स्टेसन छन् ?’

त्यतिबेला हाम्रा दाजु गणेशकुमार नेपाल जनकपुर चुरोट कारखानामा इन्जिनियरको काम गर्नुहुन्थ्यो र उहाँको घर जनकपुरमै थियो । मैले आफ्नो दाजु रहेको रहेको बताए उहाँको घरको ठेगाना समेत बताइदिए । त्यसपछि मलाई उहाँहरुको घरमा पुर्‍याउने काम भयो । घरमा बड्की आमा हुनुन्थ्यो । त्यहाँ पनि प्रहरीले मेरा बारेमा सोध्ने काम गर्‍यो । मैले भनेको र बड्की आमाले भनेको अधिकांश कुराहरु मिलेपछि मलाई यातना दिने काम कम भयो र घरमा पनि खबर भयो ।

त्यसपछि बुवा मलाई भेट्न जलेश्वर जेलमा आउनुभयो । आमाले विभिन्न खाने कुराहरु बनाएर पठाउनुभएको कुरा अहिले पनि मेरो मानसपटलमा ताजा नै छ । मैले पनि बुवाआमालाई ‘केही छैन म यहीँ छु चिन्ता नलिनू’ भनेर आश्वस्त पार्न खोजेको थिएँ ।

त्यसपछि दुई वर्ष जलेश्वर जेलमा बस्दा परिवारसँग मेरो बेलाखबतमा सम्पर्क रहिरहृयो । दुई वर्षको जेल जीवन सकेर सीतामढी हुँदै म घरमा गएँ र बुवाआमालाई भने, ‘अब मैले यो बाटो लिइसकेँ, यही बाटोमै मैले आफूलाई समर्पित गर्छु , दशैं तिहारमा आइहाल्छु, बेलाबेलामा भेट भइहाल्छ ।’

आमाको निधनपश्चात म एउटा समस्यामा परेँ । म कर्मकाण्डमा विश्वास नगर्ने मान्छे, परिवारको चाहना विधि र प्रक्रिया सबै पूरा गर्ने

बुवाको आफ्नो जागिर छँदै थियो । मेरो यो निर्णय सुनेर बुवाआमालाई केही चिन्ता त अवश्य लाथ्यो होला, तर दुबै जनाले मलाई खासै केही भन्नुभएन र कहिल्यै पनि मेरो निर्णयमा बाधा खडा गर्नुभएन ।

आमाबुबाको निधन र काजकर्मबारे

२०६० सालमा आमाको स्वास्थ्य विग्रियो । त्रिवि शिक्षण अस्पतालमा उहाँको उपचार गरियो । अन्तिम अवस्थासम्म पनि आमाले मेरो नाम लिइरहनुभएको कुरा सँगै रहेका आफन्तजनले मलाई बताए । त्यतिबेला म बल्खुमा पार्टीको स्थायी कमिटिको बैठकमा सहभागी थिएँ । म आर्यघाट पुग्दा आमाको निधन भैसकेको थियो ।

आमाको निधनपश्चात म एउटा समस्यामा परेँ । म कर्मकाण्डमा विश्वास नगर्ने मान्छे, परिवारको चाहना विधि र प्रक्रिया सबै पूरा गर्ने ।

मेरो परिवारमा मेरा काकाहरु तथा दाजुभइहरु कसैले पनि मलाई दबाव दिनु हुन्न । यसर्थमा हाम्रो परिवार अलि उदार परिवार हो भनेर पनि भन्न सकिन्छ । तर, जेसुकै भए पनि सबैको अपेक्षालाई मैले बुझेको थिएँ ।

त्यतिबेला मैले भनेँ, ‘मलाई यो कोठाभित्र बसेर काजकर्म गर्ने परम्पराप्रति विश्वास छैन, बाबुआमाको जीवनकालमा नै छोराछोरीले उहाँहरुलाई खुसी राख्नुपर्दछ, बाँचुञ्जेल दुख दिने तर मरिसकेपछि स्वर्ग पुर्‍याउन भनेर दसदान गर्ने कुरामा मलाई विश्वास छैन, भाइहहरुको आफ्नो सोच छ भने त्यसअनुसार बस, तर मलाई फुक्का छोडिदेऊ ।’

म त्यतिबेला पार्टीको प्रमुख पनि थिएँ । धेरै भेटघाटहरु पनि गर्नुपथ्र्यो । अर्को कुरा, म त्यति लामो समय काजकर्ममा खर्चिने कुराको विपक्षमा थिएँ, काजक्रियालाई छोट्याएर ३ वा ५ दिनको बनाउने पक्षमा थिएँ ।

हिन्दु धर्मअन्तर्गतका अन्य कतिपय शाखाहरुले छोट्याएर काजकर्म गर्ने कुरा अभ्यास गरिसकेको अवस्थामा यो विषय तर्कयुक्त एवं व्यवहारिक पनि थियो । तर पारिवारिक वा अन्य कारणले गर्दा त्यस समयमा छोट्याउने कुरा सम्भव भएन । त्यसपछि पारिवारिक सल्लाह र त्यसमा पनि विशेष गरी भाइहरुको आग्रहमा मैले कपाल काट्ने, दागवत्ती दिने काम गरें ।

भाइहरु पशुपति आर्यघाटमा बसेँ । म आफ्नो घरमा शुद्ध भएर बसेँ । यो सबै बुबालाई चित्त बुझेको थिएन । तर, उहाँले केही भन्नुभएन ।

हाम्री आमाको निधन भएको समयमा राजाले सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका थिए । यसपूर्व नै गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा तत्कालीन ५ राजनीतिक पार्टीका तर्फबाट मेरो नाम प्रधानमन्त्रीमा प्रस्तावित गरेका थिए ।

जब बुबाको देहावसान भयो, त्यतिबेला पनि मैले परिवारका सबै सदस्यहरुलाई राखेर काजकर्मको अवधि छोट्याउने विषयमा आफ्नो प्रस्ताव राखेँ । यसमा एक हदसम्म सहमति पनि भएको थियो

सूर्यबहादुर थापा सपथग्रहणपश्चात सोही दिन आर्यघाटमा आएर समवेदना दिनुभयो । उक्त यथार्थलाई नबुझी बाहिर के प्रचार गरियो भने ‘माधव नेपाल प्रधानमन्त्री बन्छु कि भन्ने लोभमा आमाको किरिया नगरी बस्यो ।’ उक्त प्रचारमा कुनै सत्यता थिएन । किनभने आमाको निधनपूर्व नै सूर्यबहादुर थापालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीमा नियुक्त गरिसकेका थिए । मैले मेरो मान्यताका कारण आमाको काजकर्ममा संलग्न भएको थिइनँ ।

जब बुबाको देहावसान भयो, त्यतिबेला पनि मैले परिवारका सबै सदस्यहरुलाई राखेर काजकर्मको अवधि छोट्याउने विषयमा आफ्नो प्रस्ताव राखेँ । यसमा एक हदसम्म सहमति पनि भएको थियो । यसैबीचमा कान्छी बहिनीले बुवाको अन्तिम इच्छा ‘सय वर्ष प्रवेश भएँ, सम्पूर्ण विधि पुर्‍याएर काजक्रिया गरिदिनू’ भन्ने थियो भनेपछि कान्छी बहिनी वसुधा, माइली बुहारी अञ्जना र मेरी जीवन सँगिनी गायत्रीलाई निर्णय गर्ने जिम्मा दिइयो ।

अर्कोतर्फ हाम्रो परिवारको जेठो सदस्य दिव्यकुमार दाजुले पनि बु्वाले काजकर्म विधिपूर्वक गरिदिनु भनेको बताएपछि दिन छोट्याउने मेरो चाहना निर्णयमा परिणत भएन । मैले आमाको समयमा जे-जस्तो विधि अवलम्बन गरेको थिएँ, यसपटक पनि सोहीअनुसार गरेँ ।

( सादगी नेताका रुपमा चिनिने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको यो संस्मरण ‘मंगलकुमार उपाध्याय नेपाल स्मृति ग्रन्थमा प्रकाशित छ । नेता नेपालले आफ्ना पिताका बारेमा लेखेको २० पृृष्ठ लामो संस्मरणको एउटा सानो अंश सम्पादनसहित यहाँ उधृत गरिएको हो- सं)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी