पूर्वनिर्धारित कार्यक्रमसमेत रद्द गरेपछि सांसद आक्रोशित

 

सभामुख ओनसरी घर्तीमगरले संसद् र समितिको बैठक प्रभावित हुनेगरी एनजीओ/आईएनजीओले तारे होटलमा आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुन सांसदलाई कडा निर्देशन जारी गरेकी छन् । व्यवस्थापिका संसद्को बैठकमा पटक/पटक कोरम नपुग्ने समस्याले महत्वपूर्ण विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुने गरेपछि सभामुख घर्ती मगरले यस्तो निर्देशन जारी गरेकी हुन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र सरकारी गैरसरकारी संस्था (एनजीओ) हरूका कुनै पनि कार्यक्रममा जानुअघि संसद्को बैठकलाई प्रभावित गर्ने/नगर्ने विषयको अध्ययन गरेर मात्र निर्णय हुने जनाउ पनि संसद् सचिवालयले सांसदहरूलाई दिएको छ । बुधबार बसेको संसद् बैठक कोरम नपुग्दा आधा घण्टाका लागि स्थगित भएको थियो । मधेसी आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा कोरमको कुरा उठेको थियो । संविधानको धारा ९४ बमोजिम कुनै विषय निर्णयका लागि प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । गणपूरक संख्या पुग्न नसके निर्णय हुन सक्दैन । संसद् बैठकमा ५ सय ९५ को आवश्यक एक चौथाइ पुग्न १ सय ४९ सदस्य हुनुपर्छ ।

गत २४ भदौमा पनि संविधान कार्यान्वयनका लागि ल्याइएका न्याय प्रशासन, न्यायसेवा आयोग र न्याय परिषद् विधेयकलाई निर्णयार्थ प्रस्ताव गर्ने क्रममा कोरम नपुगेर बैठक स्थगित भएको थियो । सभामुख घर्ती मगरले लगातार १० दिन उपस्थित नभएमा संसद्को सदस्यता नै खारेज गर्ने भन्दै चेतावनीसमेत दिएकी थिइन् । तर, सांसदहरूले सभामुखको चेतावनीलाई बेवास्ता गर्दै पुनः पुरानै नियति दो¥याएपछि एनजीओ र आईएनजीओको कार्यक्रममा जान रोक लगाएकी हुन् । सभामुखलाई जानकारी नै नदिएकाले ११ असोजमा नगरकोटमा गएको वातावरण समितिलाई कार्यक्रम नसक्दै फिर्ता बोलाएकी थिइन् । विकास समितिले बिहीबार र शुक्रबार पार्क भिलेजमा गर्न लागेको कार्यक्रमलाई पनि उनले रद्द गराएकी छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी