कुश्मा–बलेवा यान्त्रिक पुलले बीस प्रतिशत मुनाफा बाड्ने
पर्वतको कुस्मा देखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले गएको आर्थिक बर्ष २० प्रतिशत मुनाफा सेयर धनीलाई बितरण गर्ने भएको छ।
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७२÷०७३ मा १ करोड २ लाख रुपैया मुनाफा बितरण गर्न लागेको हो ।
लिमिटेडको शुक्रबार सम्पन्न पाँचौ साधारणसभाले यस वर्ष २० प्रतिशत मुनाफा वितरण गर्न स्विकृती दिएको छ । साधारणसभाले स्विकृती दिएपछि १ करोड २ लाख मुनाफा बितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘यस बर्ष लगानीकर्तालाई २० प्रतिशत मुनाफा बितरण गर्न साधारणसभाबाट स्विकृत गरिएको छ’ उहाँले भन्नुभयो । यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका ५ सय सर्वसारधणले लगानी गरेका छन । गत बर्ष १९ प्रतिशत मुनाफा बितरण गरेको थियो ।
यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारीक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका रहेको छ । पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको सचिब केदानरनाथ शर्माले जानकारी दिनुभयो । पुलमा यात्रा गर्नेहरुका लागि बलेवा क्षेत्रमा स्थायी घर हुनेलाई प्रतियात्रु ७५ रुपैया र अन्यत्रकालाई १ सय रुपैया भाडादर तोकिएको छ । उक्त पुल संचालन भएसँगै विगत दुईदशकदेखि बन्द रहेको बलेया एयरपोर्ट समेत सञ्चालनका लागि तयारी भैरहेको छ ।
यसैबिच यान्त्रिकपुलको पाँचौ साधारणसभामा बोल्ने बक्ताहरुले सर्वसाधरणले लगानी गरेर सार्वजनिक रुपमा सेवा दिएको यान्त्रिकपुल मुलुककै नमुना बनेको चर्चा गरेका थिए । यान्त्रिकपुलले सर्वसाधरणको लगानी अनुसार मुनाफाका साथै सामाजिक उत्तरदयित्व पुरा गरेको चर्चा गरेका थिए । उनीहरुले बलेवा क्षेत्रमा सुबिधा सम्पन्न रिर्सोट र भैरबस्थान सम्म केबलकार बिस्तार गर्न आवश्यक भएको कुरामा पनि जोड दिएका थिए । साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले सर्वसाधरणको लगानीको सुरक्षा र मुनाफाको ग्यारेण्टी गरिदिने हो भने धेरै ठुला आयोजनामा पनि लगानी जुटाउन कठिन छैन भन्ने यान्त्रिक पुल उदाहरण भएको बताउनुभयो ।
यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा स्थानिय बिकास अधिकारी युबराज पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, कुस्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, शेयर सदस्यहरुको तर्फबाट दिर्घनारायण श्रेष्ठ र मानकुमारी गिरीले शुभकामना दिएका थिए । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष रामकृष्ण कर्माचार्यले धन्यबाद ज्ञापन गरेका थिए भने सञ्चालन र समापन सचिब केदारनाथ शर्मा र उपाध्यक्ष कमल जिसीले गरेका थिए ।