०७ सालदेखिको सपना पूरा भयो : प्रधानमन्त्री, नेपालको विजय : दाहाल

काठमाडौँ, भदौ ३१ । नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

दीपावली गरौं : प्रधानमन्त्री
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताए ।

सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।’

राजनीतिक सङ्क्रमणकाल टुङ्गियो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेपाली जनताले गरेको प्रतिक्षाको घडी समाप्त भई जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान बनाउन सफल भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘सबैको भूमिकाबाट यो ऐतिहासिक उपलब्धि हुन सम्भव भएको हो । अब नेपालको राजनीतिक सङ्क्रमणकाल टुङ्गियो । दोस्रो संविधानसभा पनि असफल हुने हो कि भन्ने शङ्काको पनि अन्त्य भयो ।’

अध्यक्ष ओलीले अब प्राकृतिक रुपमा सुन्दर र स्रोत साधनयुक्त नेपाललाई नयाँ संविधान कार्यान्वयनका आधारमा अघि बढाउने कार्यभार आएको बताए ।

नेपालको विजय : दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सपना साकार भएको रुपमा लिँदै जनता, राष्ट्र र स्वाभिमानको विजय हो भने ।

उनले भने, ‘संविधान बन्ने प्रक्रियामा त्याग र बलिदान गरेको पार्टीको नेताका नाताले सबै सहिद र घाइते तथा सबै जनतालाई बधाइ दिन चाहान्छु ।’

दाहालले विश्वको कुनै पनि मुलुकमा संविधानसभाबाट बन्ने संविधान धर्मशास्त्रका रुपमा नरहने भएकाले यसलाई परिमार्जन र गतिशील बनाउन सकिने भएकाले सभाबाहिर रहेका दललाई वार्तामा आउन तथा विजयउत्सवमा सहभागी हुन आग्रह गरे ।

खुशीको क्षण : खनाल र देउवा
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूलाई जीवनकै अहिलेसम्मको खुसीको अनुभव भएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाएको गौरव र ऐतिहासिक घटनाका रुपमा लिएको बताए ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको २००७ सालदेखिको चाहना पूरा भएकाले अब आन्दोलनकारी दललाई पनि वार्तामा आई मुलुकको उन्नतिमा लाग्न आग्रह गरे । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका