सीमांकनपछि २४ दिनमा २४ जनाको मृत्यु
काठमाडौं, भदौ १७ । संघीयतामा सीमांकनको विषयलाई लिएर २४ दिनयता भएका आन्दोलनमा २४ जनाले ज्यान गुमाएका छन् । झडपका क्रममा करिब चार सयजना घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार १५ आन्दोलनकारी, आठ प्रहरी र एक नाबालकको आन्दोलनका क्रममा मृत्यु भएको छ ।
मंगलबार रुपन्देहीमा एक व्यक्तिको शव भेटिएको छ । तर, सो शव आन्दोलनकारीको हो वा अन्यको भन्ने खुलेको छैन । प्रहरीको २४ साउनदेखि १५ भदौसम्मको तथ्यांकअनुसार विभिन्न ठाउँमा भएका झडपका क्रममा एक सय ९० प्रहरी घाइते भएका छन् । आन्दोलनकारीतर्फ एक सय ९५ जना घाइते भएको प्रहरीले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रमुख दलले संघीयतामा ६ प्रदेशको सीमांकनको टुंगो लगाएलगत्तै मध्यपश्चिममा आन्दोलन चर्किएको थियो । मध्यपश्चिम टुक्रयाइएको भन्दै आन्दोलनकारीले नेताहरूको घरमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा गत २५ साउनमा सुर्खेतमा तीनजनाको मृत्यु भएको थियो ।
३१ साउनमा जुम्लामा पनि प्रहरीले गोली चलाउँदा एक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मध्यपश्चिमसँगसँगै तराईमा आन्दोलन चर्कियो । दलहरूले ४ भदौमा ६ बाट ७ प्रदेशमा जाने निर्णय गरी मध्यपश्चिमलाई यथावत् राखेपछि मध्यपश्चिमको आन्दोलन रोकियो । तर, तराईमा निरन्तर बन्द र आन्दोलन चलिरहेको छ ।
तराईमा आन्दोलन उग्र हुँदै गएपछि शान्तिसुरक्षामा सेनालाई समेत स्थानीय प्रशासनको मातहतमा खटाउन थालिएको छ । १९ दिनदेखि निरन्तर तराई बन्द हुँदा जनजीवन कष्टकर भएको र प्रतिकार हुनसक्ने अवस्था देखिएको भन्दै छिटो समस्या समाधान हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् ।
‘बन्दको प्रतिकारमा सर्वसाधारण सडकमा उत्रिए भने त्यो अवस्थामा स्थिति भयावह हुनसक्छ’–तराईका एक प्रहरी अधिकारी भन्छन्–‘राजनीतिक नेतृत्वले तराईको अवस्थालाई अझै बुझ्न सकेको छैन जस्तो छ ।’ प्रहरीले राति स्कर्टिङ गरेर मालबाहक ट्रक तथा यात्रुबाहक सवारीसाधन गन्तव्यमा पुर्याउँदै आएका छन् । तराईका २० जिल्लामध्ये झापा, चितवन र कञ्चनपुरबाहेकका अन्य जिल्ला ठप्पजस्तै छन् ।