मुस्ताङमा भूकम्पपीडित परिचयपत्र बाँडियो
मुस्ताङ, भदौ १६ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु गरेको छ ।
भूकम्पका कारण घर तथा अन्य आवासगृहमा पूर्णरुपमा क्षति पुगेका भूकम्पपीडितलाई राहतसँगै परिचयपत्र वितरण सुरु गरिएको हो ।
भूकम्पपीडित परिचयपत्र पाएमा उनीहरुलाई अन्य सरकारी सुविधा प्राप्त गर्न सहज हुनेछ । भूकम्पले पूर्णक्षति पुगेका ७६ घरपरिवारमध्ये अहिलेसम्म ३० परिवारलाई वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।
जिल्लामा १६ गाउँ विकास समिति रहेका छन् । तीमध्ये सबैभन्दा बढी घमी गाविसका घरमा क्षति पुगेको पाइएको छ ।
परिचयपत्र पाएमा राहतका अतिरिक्त पीडितको अन्यत्र कुनै स्थानमा आवासगृह नभएको पाइएमा तत्कालै आपत्कालीन आवास शीर्षकमा १५ हजार रुपैयाँ थप सहयोग प्रदान गर्न सकिने प्रावधान रहेको प्रशासनले जनाएको छ । रासस