भ्रमपूर्ण समाचारको नक्कल : आचारसंहिताको गम्भीर उल्लङ्घन
भीष्मराज ओझा/हरि लामिछाने
काठमाडौँ, १५ भदौं । केही भारतीय सञ्चार माध्यमले सम्प्रेषण गरेको भ्रमपूर्ण समाचार नेपाली सञ्चार माध्यमले हुबहु नक्कल गर्दा जनमानसमा भ्रम सिर्जना भएको छ ।
भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आइतबार उत्तरप्रदेशको एक कार्यक्रममा बोल्नुभएको विषयलाई भारतको एक सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारले भ्रमको अवस्था सिर्जना गरेको थियो ।
नेपालको राष्ट्रियता र अखण्डतामाथि आँच आउने गरी प्रकाशित भएको उक्त समाचार यहाँका केही सञ्चारमाध्यमले हुबहु नक्कल गरेका थिए ।
त्यस्तो समाचारको हुबहु सम्प्रेषण गर्दा ‘पत्रकार आचारसंहिता–२०६० ९संशोधित तथा परिमार्जत–२०६४०’ को गम्भीर उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक त कुनै पनि सञ्चारमाध्यमको अनुमति बिना समाचार नक्कल गर्न पाइँदैन, अर्को कुरा सञ्चारमाध्यमले आफ्नो विश्वसनीय स्रोत नभई समाचार प्रकाशन गर्न हुँदैन ।” तर सो समाचार उपरोक्त दुबै आधार बिना र मुलुकको सार्वभौमसत्ता एवम् राष्ट्रियतासँग प्रत्यक्ष जोडिएको विषयलाई नेपाली सञ्चारमाध्यमले आचारसंहिताको ठाडो उल्लङ्घन गरी सम्प्रेषण गरेको अध्यक्ष कार्कीको भनाइ छ ।
आचारसंहिताअनुसार कुनै पनि पत्रकार र सञ्चारमाध्यमले मुलुकको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जातजाति, सम्प्रदायबीच कटुता उत्पन्न गर्ने समाचार सम्प्रेषण गर्नुहुँदैन ।
मुलुक जटिल राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको वर्तमान अवस्थामा सञ्चारमाध्यमले एकपछि अर्को गर्दै विषयको सम्बेदनशीलतालाई हल्कारुपमा लिई समाचार आउने गरेको भन्दै काउन्सिलले छिट्टै निर्देशन जारी गर्ने तयारी गरेको छ ।
भारतीय सञ्चारमाध्यमले गृहमन्त्री सिंहलाई उद्धृत गरी “मधेस समस्या नेपालको आन्तरिक मामिला भएपनि त्यहाँ बस्ने एक करोड भारतीय नागरिकको चासोमा भारत सरकारले ध्यान दिने” भनी प्रकाशन गरेको थियो ।
गृहमन्त्री सिंहलाई उद्द्यृत गरी आएको सो समाचारले दुई देशबीचको सद्भाव खल्बलाउन सक्ने भन्दै चर्चाको केन्द्रमा रह्यो ।
यहाँस्थित भारतीय राजदूतावासले सोमबार साँझ नै विज्ञप्तिमार्फत सो समाचारको खण्डन गरेको थियो । विज्ञप्तिअनुसार गृहमन्त्री सिंहले उक्त कार्यक्रममा मधेसी मुद्दा नेपाली आफैँले सम्बोधन गर्नुपर्ने बताउनुभएको थियो । गृहमन्त्री सिंहले आपूmले त्यस्तो नबोलेको जनाएको दूतावासले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले सञ्चारमाध्यमले समाचारको सम्बेदनशीलता तथा गहिराइ बुझेर मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । भारतीय गृहमन्त्रीले बोलेको विषयमा स्वयम् भारतीय राजदूतावासले खण्डन गरिसकेको अवस्थामा नेपाली सञ्चारमाध्यमको व्यावसायिकतामा ख्याल नपुगेको जस्तो देखिएको उहाँको भनाइ थियो ।
सल्लाहकार भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यमले जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व हो तर समाचारको यथार्थता र विश्वसनियता पनि कायम राख्नुपर्छ ।”
आचारसंहितापालनाको विषय नेपाली सञ्चारमाध्यममा बेलाबेलामा निकै चर्कोरुपमा उठ्ने गरेको छ । यसले गर्दा नेपाली सञ्चार क्षेत्रलाई सङ्ख्यात्मक विकासको तुलनामा गुणस्तरीय र व्यावसायिकता कायम गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
यही भदौ ७ गते कैलालीको टीकापुरका थारुहटको माग गर्दै भएको जुलुस भड्किएपछि भएको हिंसात्मक घटनाका सम्बन्धमा पनि अधिकांश सञ्चारमाध्यमले स्रोतको पुर्नपुष्टी नगरी समाचार सम्प्रेषण गरेका थिए ।
सात प्रहरी र एक नाबालकको हत्या भएको सो घटनाका सम्बन्धमा सञ्चारमाध्यमले पटकपटक २१ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका थिए ।
यस्ता विषयका सम्बन्धमा प्राध्यापक पी खरेल चर्चामा आएका र ठूला सञ्चारमाध्यमले प्रकाशित गरेको भन्दैमा सबै विषय आधिकारिक नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सम्बेदनशील विषयमा सम्बन्धित सरोकारवालासँग सोधेर दुई÷तीन स्रोतसँग पुष्टी गरेर मात्र समाचार दिनुपर्छ । सतर्क भएर आधारभूत व्यावसायिक धर्म निर्वाह गर्नुपर्छ ।”
यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कैलाली टीकापुर घटनाका सम्बन्धमा प्रधानमन्त्री सुशील कोइरालासँग गरेको टेलिफोन वार्ताको प्रसङ्गलाई पनि केही सञ्चारमाध्यमले उक्त वार्ताको विश्वसनीय आधारबिना समाचार सम्प्रेषण गर्दा काउन्सिलले सचेत गराउनुपरेको थियो ।
भारतका केही सञ्चारमाध्यममले पटक–पटक गर्ने यस्तो अनर्गल प्रचार स्वयम् भारत सरकारको नीति विपरित रहेको गृहमन्त्री सिंहको भनी प्रकाशित समाचारको भारतीय दूतावासबाट भएको खण्डनले पनि पुष्टि गर्छ ।
यस्ता प्रचारले नेपाल र भारतबीचको सताब्दीऔँदेखिको सांस्कृतिक विषयमा प्रतिकूल प्रभाव पार्ने भएकाले भारतीय सञ्चारमाध्यम पनि उत्तिकै सचेत र जिम्मेवार हुनुपर्ने देखिन्छ भने नेपालका सञ्चारमाध्यमले पनि त्यस्ता प्रचार सामग्रीको पुष्टी वा सत्यता प्रमाणित गर्न लाग्नुपर्ने देखिन्छ । रासस