वीरगन्जमा प्रहरीको गोली लागि दुई जना घाइते, स्थिति तनावग्रस्त
वीरगन्ज, भदौ १५ । कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मंगलबार पनि वीरगन्जमा झडप भएको छ । त्यसक्रममा दुईजना घाइते भएका छन् ।
प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले चलाएको गोली लागि गन्डक चोकमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दीपेश पटेल र सन्दीप पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको प्रहरीले जनाएको छ ।
कफ्र्युको अवज्ञा गर्दै मंगलबार बिहानैदेखि वीरगन्जको गन्डक चोक, लक्ष्मणवा चोकलगायतका ठाउँमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा पनि छन् ।
प्रदर्शनकारी र प्रहरीबीच मंगलबार बिहानदेखि पटकपटक भइरहेको झडपका कारण वीरगन्जको जनजीवन बिहानैदेखि त्रसित बनेको छ ।
सोमबार दिउँसोदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक र रानीघाटलगायत सहरका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटकपटकको झडपपछि वीरगन्ज तनावग्रस्त बनेको छ ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ । रासस