हिन्दुराज्यका प्रदर्शनकारीलाई अँश्रु ग्यास र पानीको फोहोरा
काठमाडौं, भदौ १५ । नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै मंगलवार राजधानीमा प्रदर्शन गर्नेलाई नयाँ बानेश्वरमा प्रहरीले अँश्रुग्याँस र पानीको फोहोरा हानेको थियो ।
हिन्दुराज्यको माग गर्दै काठमाडौंको त्रिपुरेश्वरबाट राप्रपा नेपाल र तीनकुनेबाट नयाँ बानेश्वर पुगेका खुमबहादुर खड्काको टोलीले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले अँश्रुग्याँस र पानीको फोहोरा हानेको थियो ।
सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडप पनि भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला भइ राप्रपा नेपालका कार्यकर्ता संविधानको विधेयकबाट धर्म निरपेक्षता हटाउनुपर्ने, सनातन हिन्दुराज्य कायम गर्नुपर्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरु थापाथली, माइतीघर मण्डलाहुँदै बानेश्वर पुगेका थिए ।