नेपालद्वारा कुवेत त्रियासी रनले पराजित
काठमाडौँ, भदौ १५ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसि प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज नेपालद्वारा कुवेत ८३ रनले पराजित भएको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टज जितेर ब्याटिङ गरेको नेपालले ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा कुवेतले निर्धारित ओभर पुरै खेलेर ९ विकेटको क्षतिमा १६७ रन मात्र बनायो ।
नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रममा ब्याट्सम्यान सम्हालिएपछि सम्मानजनक स्कोर बनेको हो । दीपेन्द्रसिंह ऐरी र सौरभ खनालले १३० रनको महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्रले २ छक्का र ९ चौकाको मद्दतमा ८५ रन तथा सौरभले एक छक्का र ५ चौका प्रहार गर्दै ७३ रन जोडे । त्यस्तै, प्रेम तामाङले २३, कप्तान राजु रिजाल १५ र सुनिल धमलाले ११ रन बनाए । बलिङतर्फ कुवतका मोहम्मद फौजिले ३ विकेट लिए ।
कुवेतका मोहम्मद मिजान अलिले अविजित ८५ रनको योगदान दिए पनि टिमलाई जिताउन भने सकेनन् । उनले ११२ बल खेल्दै तीन छक्का र ६ चौका हाने । यस्तै मुस्ताक अहमदले २२, एलन थोमस र विलास ताहिरले समान १३-१३ रन तथा नोमन बूद्रोले १२ रन जोडे ।
बलिङतर्फ नेपालका सुसिल कँडेल र प्रेम तामाङले समान २÷२ विकेट लिए । त्यस्तै दिपेन्द्र ऐरी र आरिफ शेखले एक–एक विकेट बाँडे ।
प्रतियोगितामा नेपालले चार खेल खेल्दै तीनमा जित तथा एकमा हार ब्यहोरेको छ । रासस