गाईजात्रा पर्व मनाइँदै

काठमाडौं, भदौ १३ । काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव ‘गाईजात्रा’ आज भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आजका दिन एक वर्ष्भित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको पाइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंगय अंक प्रकाशित गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि