विद्यालय सञ्चालन गर्न व्यावसायिक तरकारीखेती
खोटाङ, १२ भदौ । आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यावसायिक तरकारीखेती सुरु गरेको छ ।
नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यावसायिक तरकारीखेती सुरु गरिएको हो ।
आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । “तरकारीखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेको छ ।” आचार्यले भन्नुभयो, “विद्यालय आफैँले व्यावसायिक तरकारीखेती सुरु गरेपछि विद्यार्थीसमेत यसप्रति आकर्षित भएका छन् ।”
विद्यालयको दुई र भाडामा लिइएको दुई गरी चार रोपनी जग्गामा विभिन्न प्रकारका तरकारीखेती लगाइएको प्रधानाध्यापक आचार्यले बताउनुभयो । व्यावसायिकरुपमा सुरु गरिएको तरकारीखेतीमा शिक्षक, अभिभावक र विद्यार्थीले हरेक शुक्रबार १ बजेदेखि काम गर्ने गरेका छन् ।
दुई वर्षअघि देउसी खेलेर सङ्कलन गरिएको रु ४३ हजार रकमबाट तरकारीखेती सुरु गरिएको विद्यालयले जनाएको छ । व्यावसायिक रुपमा सुरु गरिएको तरकारीलाई आवश्यक पर्ने विषादी विद्यालय आफँैले तयार गर्ने गरेको छ ।
विद्यालयले उत्पादन गरेको तरकारी स्थानीय हाटबजारमा बिक्री हुने गरेको छ । निजी स्रोतबाट सञ्चालन गरिएको विद्यालयमा सोही आम्दानीबाट शिक्षकलाई तलब भुक्तानी दिन थालिएको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
विसं २०४९ फागुन ४ गते स्थापना गरिएको विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८१ विद्यार्थी अध्ययनरत छन् । रासस
Download as zipDownload
कोरला नाका खुलाउन कूटनीतिक पहल
2015-08-29 09:56
मुस्ताङ, १२ भदौ । लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न कूटनीटिक पहल थालिएको छ ।
नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका खोल्न जिल्लाका सभासद् र सरोकारवाला पक्षले पहल थालेका हुन् । यही नाकामार्फत हुने कारोबारलाई व्यवस्थित बनाउन १५ वर्षपछि गत असार पहिलो सातादेखि छोसेरमा नेचुङ भन्सार कार्यालय सञ्चालनमा आइसकेको छ ।
मुस्ताङका सभासद् रोमी गौचन थकालीले नाका सञ्चालन गर्न परराष्ट्र मन्त्री, सचिवदेखि प्रधानमन्त्रीसम्म छलफल गरिएको बताउनुभयो ।
“कूटनीतिक रुपमा अघि बढ्नुपर्छ, विगतमा हाम्रोतर्फबाट त्यति पहल भएन” उहाँले भन्नुभयो “नेपालको विकासका लागि यो नाका खोल्न एकदमै आवश्यक छ ।” नाका सञ्चालन गर्नसके बर्खाको छ महिना तातोपानी भन्सारको विकल्प हुने उहाँको भनाइ छ । विसं २०६२÷६३ अघिसम्म नाका खुल्ला रहेका कारण दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत र दैनिक उपभोग्य सामान किनबेच पनि चल्ने गरेका थिए । तर त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
तिब्बतसँगै सिधै जोडिएकाले यो नाकालाई चीनले सुरक्षाको हिसाबले अति ‘संवेदनशील’ मान्दै आएको छ । विसं १९७४ ताका तिब्बतीयनले मुस्ताङको यही नाका हुँदै ‘खम्पा विद्रोह’ सञ्चालन गरेकाले पनि चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै लगेको हो ।
“कूटनीतिक हिसाबमा चीनको सुरक्षा चिन्तालाई हामीले विश्वस्त बनाउनुपर्छ, यसो गर्न सकियो भने चीन पनि यसमा नकारात्मक छैन”, सभासद् गौचनले भन्नुभयो । व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर आफ्नो तहबाट गृह र परराष्ट्र मन्त्रालयमा छलफल चलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताउनुभयो । रासस