संविधान जारी गर्न नडराऔं : सभासद्हरु

काठमाडौँ, भदौ ११ । सभासद्हरुले प्रमुख दलका शीर्ष नेतालाई संविधान छिटो जारी गर्न नधर्मराई दह्रोसँग खुट्टा टेक्न सुझाव दिएका छन् ।

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि संविधानसभामा जारी छलफलमा भाग लिदै सभासद्हरुले यस्तो सुझाव दिएका हुन् ।

सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न तथा विकासलाई तीव्र तुल्याउन हिमाल, पहाड र तराई जोडेरमात्र सङ्घीय प्रदेश निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

संविधान तयार भएपछि संविधानसभाकै प्राङ्गणबाटै संविधान जारी भएको घोषणा गर्ने व्यवस्था मिलाउन पनि सभासद्ले सुझाव दिनुभएको छ ।

उहाँहरुले विभिन्न जातजाति र समुदायले प्रदेशको सीमाङ्कनभन्दा हकअधिकार र सामाजिक न्यायका विषयवस्तुमा प्राथमिकताका साथ आवाज उठाउनुपर्छ भन्नुभयो ।

प्रगतिशील र परिवर्तनकारी दस्तावेजका रुपमा प्रस्तावित संविधानको मस्यौदा आएको भनी धेरै सभासद्ले स्वागत गर्नुभएको छ ।

देशलाई आर्थिक रुपले सम्पन्न तुल्याउन थोरै प्रदेश बनाएर जानुपर्छ भन्ने मत पनि केही सभासद्ले अघि सार्नुभएको थियो ।

बैठकमा अधिकांश सभासद्ले कैलाली घटनालाई मानवताविरोधी बर्बरतापूर्ण र त्रूmरको सङ्ज्ञा दिँदै लामो समयदेखि राजनीतिक सङ्क्रमणमा रहेको मुलुकलाई छिटो लोकतान्त्रिक संविधान दिएर विकासतर्फ उन्मुख गराउनुपर्छ भन्नुभयो ।

आपसमा सद्भाव राख्ने, मेलमिलापको नीति अघि बढाउनेतर्फ सबैमा सद्वुद्धि पलाओस् भन्दै केही सभासद्ले सबैभन्दा पहिला नेपाल अनि मात्र सङ्घीयता हो भन्ने पक्षलाई सबैले राम्रोसँग मनन् गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

बैठकमा केही सभासद्ले भने विभेद्मा परेको, राजनीति र नीति निर्णयका हिसाबले मूलधारमा नरहेको समुदायको अधिकार कटौती गरेर ल्याइने संविधानमा हस्ताक्षर नगरिने चेतावनी दिनुभयो ।

धर्म निरपेक्षलाई राज्यले स्वीकारिसकेपछि त्यसलाई नचलाउन सुझाव दिँदै उहाँहरुले मातृभाषामा सूचना पाउने अधिकारको व्यवस्था गर्न माग गर्नुभयो ।

थारु र मगर समुदायले उठाएका मागलाई कुनै न कुनै रुपमा सम्बोधन गरेरमात्र संविधान जारी गर्न सभासद्ले सुझाव दिनुभएको छ ।

आजको छलफलमा सभासद्हरु शान्ता चौधरी, नागेन्द्र कुमाल, तेजकुमारी पौडेल, प्यारेलाल राना, सिन्धुजलेसा बुढाथोकी, नवराज शर्मा, डा सुवोधकुमार पोखरेल, पेम्बा गुरुङ, बेदमाया भण्डारी शाक्य, रञ्जीत कर्ण, विनोद श्रेष्ठ, गणेशप्रसाद विमली, गणेशकुमार मण्डललगायतले भाग लिनुभएको थियो ।

परिमार्जित विधेकमाथिको छलफल संविधानसभामा जारी रहेको छ । संविधानसभामा तीन दिनदेखि उक्त परिमार्जित विधेयकमाथि छलफल भइरहेको छ ।

उक्त विधेयकमाथिको छलफलमा आजसम्म ३२५ भन्दाबढी सभासद्ले आ–आफ्नो धारणा राखिसक्नुभएको छ ।

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्न ४५२ जना सभासद्ले नाम लेखाउनुभएको संविधानसभा सचिवालयले जनाएको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई अधिकतम २० मिनेटसम्मको समय दिइए पनि बाँकी सबै सभासद्लाई बोल्नका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभाको अर्को बैठक शनिवार दिउँसो भ१ः०० बजे बस्नेछ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी