धनगढीमा निषेधाज्ञा, बाँकेमा निषेधाज्ञा घट्यो, रौतहटमा एम्बुलेन्स जलाइयो

धनगढी, भदौ ८ । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा अहिले ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्नेलाई गोलीसमेत हान्ने अधिकार दिएको स्थानीय प्रशासनले जनाएको छ । टीकापुरमा भएको घटनापछि हिजो दिउँसोबाट सो नगर क्षेत्रमा पनि जारी भएको निषेधाज्ञा आदेश यथावत् छ ।

जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकमा भएको सहमति बमोजिम शान्ति सुरक्षाको स्थिति थप बिग्रन नदिन सदरमुकाम धनगढीमा पनि निषेधाज्ञा लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।

टीकापुरमा भएको घटनापछि टीकापुर नगर क्षेत्रका साथै आसपासका मुनुवा, जोशीपुर, नारायणपुर, पथलैया, दुर्गौली, धनसिंहपुर, थापापुर, सानिक भजनी र खैलाड तथा बौनिया गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । यी क्षेत्रमा सोमबार साँझदेखि नै सेना परिचालन गरिएको छ ।

घटनापछि टीकापुर सुनसान

कैलाली जिल्लाको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि स्थानीयवासीमा सन्त्रास फैलिएको छ ।

कसैले कल्पना नगरेको घटना भएपछि स्थानीयवासीमा कतै पुनः त्यस्तैखालको घटना दोहोरिने हो कि भन्ने त्रास देखिएको स्थानीयवासी गीता जोशीले बताउनुभयो ।

बिहानैदेखि बजार सुनसान छ । सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । जताततै प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ ।

स्थानीय प्रशासनले स्थिति थप बिग्रन नदिन टीकापुर र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै व्यापक रुपमा प्रहरी र सेना परिचालन गरेको छ । टीकापुर नगरपालिका साथै भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबारको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ दिउँसोको समयमा समेत निषेधाज्ञा लगाइएको छ । विगत केही दिनदेखि त्यहाँ रातिको समयमा निषेधाज्ञा लगाइएको थियो । यस्तै टीकापुर नगर क्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार दिउँसोको घटनापछि साँझबाट स्थिति नियन्त्रणमा लिई सामान्य अवस्थामा आइसकेको बताउनुभयो । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सुरक्षाको थप रणनीति बनाउन अहिले जिल्ला सुरक्षा समितिको बैठक डाकिएको उहाँले बताउनुभयो ।

घटनामा परी निधन भएका प्रहरीहरुको शव सम्बन्धित परिवारको जिम्मा लगाउन आवश्यक तयारी गरिएको छ । प्रहरीको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । घटनामा परी घाइते भएका प्रहरीहरुको स्थानीय टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २१ प्रहरी घाइते भएका थिए । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरिएको छ । दुई प्रहरीको अवस्था बढी गम्भीर रहेको छ ।

बाँकेमा पाँच घन्टाका लागि निषेधाज्ञा हटाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले गएराति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा दिउँसो २ बजेसम्मका लागि हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकका अनुसार आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्म पुनः निषेधाज्ञा जारी रहने छ ।
प्रशासनले नेपालगन्जको उत्तर राँझाको भुजइगाउँदेखि दक्षिण जमुनाहासम्म र पूर्वको फुलटेक्रा चोकदेखि पश्चिमको नन्दनी मिलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।
नेपालगन्ज आसपासको क्षेत्र अहिले सामान्य रहेको छ ।

रौतहटमा एम्बुलेन्स जलाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् ।

केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए । रासस

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना