कैलाली, बाँके र रौतहटमा कफ्र्यू, २० दिनदेखि आन्दोलन जारी

काठमाडौं, भदौ ८ । संघीयताको सिमाङ्कनको विषयमा कैलाली–कञ्चनपुर लगायत देशका विभिन्न जिल्लामा २० दिनदेखि आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि स्थानीय प्रशासनले विभिन्न जिल्लामा कफ्र्यूृ र निषेधाज्ञा जारी गरेको छ ।

सोमवार ७ प्रहरीसहित ८ जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगरपालिकासहित ६ गाविसमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । कैलाली–कञ्चनपुरमा आन्दोलन शुरु भएको २० दिन पूरा भएको छ ।
प्रशासनले सोमवारदेखि दुर्गौली, जोशीपुर, नारायणपुर, धनसिंहपुर, मुनुवा र पत्थरैयामा कफ्र्यु आदेश जारी गरेको हो । सोमवार कैलालीको टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट सात सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको थियो । घटनामा नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरीका २२ जना घाइते भएको र घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचार गर्न नेपालगञ्ज र काठमाडौं ल्याइएको छ । घटनामा ४ जना आक्रमणकारी पनि घाइते भएका थिए ।
बाँके जिल्लाको नेपालगञ्जमा पनि कफ्र्यु आदेश जारी गरिएको छ । राँझादेखि जमुनाहासम्म, फुल्टेक्रादेखि नन्दनी मिलसम्मको क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको हो । आन्दोलनका कारण बाँकेमा लगातार १४ दिनदेखि बन्द छ ।
रौतहट सदरमुकाम गौरमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै गएपछि बाध्य भएर प्रहरीले बल प्रयोग गर्नुपरेको र हिजो अपरान्ह साढे ४ बजेदेखि आज विहान ५ बजे सम्मका लागि कर्फयु आदेश जारी गरेको बताए ।
नवलपरासीमा पनि सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको पञ्चनगर भूताहादेखि राजमार्गहुँदै सुनवलसम्म निषेधाज्ञा जारी गरेको छ । रामग्राम नगरपालिकाका सबै वडा, पूर्व पश्चिम लोकमार्गको पूर्वमा पञ्चनगर– भूताहादेखी पश्चिममा सुनवल चोकसम्मको १२ कि.मी. दुरीलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ । निषेधाज्ञा १३ गतेसम्म लागू हुने प्रशासनको सूचनामा जनाइएको छ ।
जिल्लालाई विभाजित गरेको भन्दै एकीकृत रुकुम संघर्ष समितिले आन्दोलनमा जारी राखेको छ । समितिले सिंगो रुकुमलाई ५ नम्बर प्रदेशमा राख्न संविधानसभालाई २४ घण्टे अल्टिमेटमसमेत दिएको छ ।
चितवनदेखि कञ्चनपुरसम्मको तराइलाई थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै १३ दिनदेखि नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्लामा पनि प्रदर्शन जारी छ । यस्तै मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दबाट मध्य तराइका आठ जिल्लाको जनजीवन कष्टकर बनेको छ । सप्तरीका राजविराज, भारदह, रुपडी, कुसवा, कञ्चनपुर, कल्याणपुरलगायतका स्थानमा प्रदर्शन जारी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा