प्रतिलिपि अधिकार उल्लङ्घनका थोरै मात्र उजुरी

वासुदेव पौडेल

काठमाडौँ, भदौ ६ । प्रतिलिपि अधिकारको संरक्षणमा सहयोग पु-याउने एक मात्र उद्देश्यले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना गरिएको एक दशकभन्दा बढी भयो तर त्यहाँ पर्ने उजुरीको सङ्ख्या भने धेरै कम छ ।
प्रतिलिपि अधिकार हननका कुरा बाहिर धेरै आए पनि स्रष्टाहरु उजुरी दर्ता गर्ने कार्यालयमा खासै पुगेको देखिँदैन । कार्यालयमा प्राप्त उजुरीको सङ्ख्या अत्यन्त न्यून रहेको रजिष्ट्रार बाबुराम गौतमले जानकारी दिनुभयो ।
कार्यालयका नायव सुब्बा रोनिशा खतिवडाका अनुसार २०६४ र २०६५ सालमा एक÷एक मात्र उजुरी परेको थियो भने २०६६ मा तीनवटा मात्रै उजुरी प-यो । कार्यालयमा २०६८ र २०६९ मा एउटा पनि उजुरी परेन भने २०७० मा एक र २०७१ मा पाँचमात्र उजुरी प-यो ।
यसवर्षको साउन मसान्तसम्ममा दुईवटा मात्र उजुरी परेको नायब सुब्बा खतिवडाले बताउनुभयो । कुनै पनि स्वरुप र माध्यमबाट साहित्य, कला, ज्ञान विज्ञानका क्षेत्रमा सिर्जित रचना वा खोजका सर्जकलाई उसको प्रतिलिपि अधिकार सुरक्षित बनाइदिन सरकारले २०६१ साल वैशाख ७ गतेदेखि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना गरेको थियो । कार्यालयले प्रतिलिपि अधिकारजन्य रचना दर्ता, तिनको विवरण अद्यावधिक, रोयल्टी सङ्कलक संस्थाको दर्ता, तिनको अनुगमन र रोयल्टी दरसम्बन्धी उजुरी सुन्ने काम गर्दैआएको छ ।

कार्यालयले सिर्जना, कला र प्रस्तुतिका क्षेत्रमा क्रियाशील स्रष्टाका हितमा कार्य गर्नुका साथै प्रतिलिपि अधिकारसम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गर्छ ।
गीत, सङ्गीतको क्षेत्रमा रचना तथा सिर्जनाको धेरै नक्कल गरिएका गुनासा सुन्नमा आए पनि स्रष्टाहरुले रजिष्ट्रारको कार्यालयमा भने खासै उजुरी नगर्ने गरेको गीतकार एकनारायण भण्डारी बताउनुहुन्छ । सर्जकहरुले आफ्ना रचना तथा सिर्जना रजिष्ट्रारको कार्यालयमा दर्ता गर्ने व्यवस्था रहे पनि त्यो हालसम्म प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ । कार्यालयमा अहिलेसम्म एक हजार ३०४ रचना दर्ता भएका छन् र तिनीहरुमा साहित्य, चित्रकला, कम्प्युटर सफ्टवेयर, फोटोग्राफी, ध्वनि अङ्कन विधाको बाहुल्यता रहेको छ ।
नेपालमा सर्वप्रथम २०२२ साल जारी गरेको पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐनसँगै प्रतिलिपि अधिकार ऐन, २०२२ जारी गरिएको थियो । उक्त ऐनले पछिल्लो समयमा विकसित अन्तर्राष्ट्रिय मान्यतालाई समेट्न नसकेकाले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ जारी गरिएको रजिष्ट्रार गौतमले जानकारी गराउनुभयो ।
“मौलिक एवम् बौद्धिक रुपले सिर्जना गरिएका रचना, ध्वनि अङ्कन, प्रस्तुति र प्रसारणजस्ता क्षेत्रमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकार नै प्रतिलिपि अधिकार हो,” उहाँले भन्नुभयो – “प्रतिलिपि अधिकार अत्यन्तै गहन विषयवस्तु हुँदाहुँदै पनि जुन रुपमा यसको महत्व मनन गरिनुपर्ने हो, नेपाली सन्दर्भमा त्यसो हुन सकेको छैन ।”
प्रतिलिपि अधिकार हनन भयो भनेर केही स्रष्टाले मौखिक गुनासो गरे पनि अधिकांशले भने चासो दिने नगरेको उहाँले बताउनुभयो । लिखित उजुरी आए कार्यालयले दर्ता गरी आवश्यक अनुसन्धानका लागि प्रहरी कहाँ पठाउने गर्छ । प्रतिलिपि अधिकार हननका विषय फौजदारी मुद्दाअन्तर्गत पर्ने भएकाले प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा सरकारी वकिलमार्फत मुद्दा दायर गरिन्छ । कार्यालयमा आफ्ना सिर्जना तथा रचनाको नक्कल गरिएको भन्ने उजुरी धेरै पर्ने गरेका छन् ।
कार्यालयमा परेका उजुरीमध्येको एक उजुरीमा गत साउन १२ गते फोटोग्राफर नरेशकुमार श्रेष्ठले आफूले खिचेका राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको तस्बिर अनुमतिबिना नेपाल आर्ट काउन्सिलले फोटो प्रदर्शनीमा राखेको उल्लेख छ । सो उजुरी अनुसन्धानका लागि रजिष्ट्रारको कार्यालयले प्रहरीमा पठाइसकेको छ ।
त्यस्तै, नारी स्रष्टा सम्बन्धमा लेखिएको आफ्नो नारी चुली नामक कृतिको प्रतिलिपि अधिकार हनन भएको भन्दै साहित्यकार नरेन्द्रराज प्रसाईंले रजिष्ट्रारको कार्यालयमा उजुरी दिनुभएको छ । आफ्नो १८ वर्षको प्रयासमा २०६३ सालमा प्रकाशित विभिन्न ५२ नारी स्रष्टाबारे लेखिएको उक्त पुस्तक अङ्ग्रेजी अनुवादका नाममा प्रतिलिपि अधिकार हनन गरिएको प्रसाईंले उजुरीमा उल्लेख गर्नुभएको छ । यो उजुरीमाथि प्रहरी अनुसन्धान भइरहेको छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको कामको प्रभावकारिता बढाउनुपर्ने साहित्यकार प्रसाईंको धारणा छ ।
कार्यालयमा आएका उजुरीमध्ये अधिकांशतः साहित्यिक कृतिको प्रतिलिपि अधिकार हनन, तस्बिर, चलचित्र तथा विभिन्न गीत–सङ्गीतको प्रतिलिपि अधिकार हननलगायत विषयका छन् । प्रतिलिपि अधिकार ऐन, २०५९ मा कुनै पनि रचनाका धनीलाई आर्थिक र नैतिक दुई प्रकारको अधिकार प्राप्त हुने उल्लेख छ ।
आर्थिक अधिकारअन्तर्गत रचनाको पुनः उत्पादन, अनुवाद, परिमार्जन, संशोधन, रुपान्तरण गर्ने, बिक्री वितरण वा बहालमा दिने, आयात गर्ने, प्रदर्शन, प्रसारण गर्ने आदि अधिकार रचनाका धनीलाई हुन्छ । यी कार्य गर्न कसैलाई अनुमति दिन वा रोक्न सक्ने अधिकार सम्बन्धित स्रष्टालाई मात्र हुन्छ ।
नैतिक अधिकारअन्तर्गत आफ्नो रचनामा नाम उल्लेख गर्न लगाउने, रचनाको सम्मान वा ख्याति जोगाउने र आफ्नो रचनाको संशोधन वा परिमार्जन गर्ने आदि अधिकार रचनाकारलाई हुन्छ । बिक्री वा हक हस्तान्तरण भएको रचनामा पनि रचनाकारको नाम हटाउन वा रचनालाई अन्यथा गर्न नपाइने ऐनमा व्यवस्था छ ।
रजिष्ट्रार गौतमका अनुसार ऐनले प्रतिलिपि अधिकारको उल्लङ्घन गरिए कसूरको मात्राअनुसार जरिवाना र कैद सजाय हुने व्यवस्था गरेको छ । यस्तो कार्यमा प्रयोग गरिएका मालवस्तु जफ्त हुने र प्रतिलिपि अधिकारको धनीलाई परेको नोक्सानीको क्षति भराइदिने कानुनी व्यवस्था छ ।
प्रतिलिपि अधिकार धनीले आफ्नो अधिकारको सामूहिक व्यवस्थापन गर्न सामूहिक व्यवस्थापन सङ्गठन गठन गर्न सक्छन् । यस्ता सङ्गठनलाई रोयल्टी सङ्कलन संस्था पनि भनिन्छ । यी संस्थाले आफ्ना सदस्यको प्रतिलिपि अधिकारमूलक रचना प्रयोग गर्न अनुमति दिने, रोयल्टी दर निर्धारण गर्ने जस्ता कामहरु गर्दछन् ।
त्यस्तै, ती संस्थाले रचना प्रयोगकर्ताबाट रोयल्टी सङ्कलन गरेर प्रतिलिपि अधिकार धनीलाई वितरण गर्ने र विदेशी मुलुकका रोयल्टी सङ्कलन संस्थासँग पारस्परिक सहयोग सम्झौता गर्ने काम गर्दछन् । अहिलेसम्म नेपालमा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल (गीत–सङ्गीत रचना), प्रस्तोता समाज नेपाल (प्रस्तुति) र सङ्गीत उत्पादक समाज नेपाल (सङ्गीत उत्पादन, ध्वनि अङ्कन) गठन भइसकेको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई पर्वतको कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

गोरखामा केन्द्र भएर भूकम्पको धक्का

केही दिन मौसम बदली हुने: वर्षा, चट्याङ र हिमपातको सम्भावना- दुई दिनको मौसम पूर्वानुमान सहित

चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

मध्यपहाडी राजमार्गको पोखरा– याम्दी खण्ड – ९५ प्रतिशत काम सकियो