चित्लाङको आकर्षणः बाख्राको चिज र आरुबखडाको वाइन

राजाराम कार्की

फाइल फोटो

काठमाडौँ, भदौ ५ । गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर अशोककुमार सिंह ठकुरी लखपति बनेका छन् ।

पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने प्रचलन थियो । तर हिजोआज आर्थिक उपार्जनको प्रमुख मेरुदण्ड बनेको बाख्रापालन व्यावसायिक बन्दै गएको छ ।

ठकुरी मकवानपुर, चित्लाङ निवासी हुन् । २०५९ सालमा फ्रान्समा पुगी बाख्रापालन तालिम लिएका थिए उनले । दुई लाख ५० हजार रुपैयाँको जागिर पेरिसमा तिरस्कार गरी स्वदेश फर्केका ठकुरीको चित्लाङमा बाख्रा फार्म छ । उनको बाख्रा फार्ममा अहिले लगभग १५० विभिन्न जातका बाख्रा छन् ।

बेल्जियममा लामो समय बसेका ठकुरी बेल्जियमबाट फर्केपछि मात्र फ्रान्स पुगेका हुन् । लामो समय बेल्जियममा काम गरेका ठकुरीले अन्ततः चित्लाङमा नेपालकै पहिलो निजीस्तरबाट बाख्राको दूधबाट बनाइने चिज कारखाना स्थापना गरे । फलस्वरुप उनले फ्रान्स र बेल्जियममा चिज आपूर्ति गरी नेपालको इज्जत र गौरवलाई चिनाएका छन् । बेल्जियमकै साथीहरुबाट बाख्राको चिज धेरै माग भएको छ ।

बाख्राको दूधबाट निर्माण गरिने चिज मागअनुसार आपूर्ति गर्न नसकिएकामा उनी दुःखी छन् । उनले चिज काठमाडौँका ठूला–ठूला होटलमा बिक्री वितरण गर्ने गरेका छन् । त्यसका अलावा पोखराबाट समेत माग आएको तर पूरा गर्न नसकेको प्रति ठकुरी दुःखी छन् ।

चार लिटर दूधबाट एक किलो चिज बनाउन सकिन्छ । उनले दूध प्रतिलिटर २०० रुपैयाँमा र कडा चिज प्रतिकिलो दुई हजार ५०० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । ठकुरीले आफ्नो चिज कारखानामा नरम चिजसमेत उत्पादन गर्दछन् । नरम चिज भने प्रतिकिलो एक हजार ५०० रुपैयाँदेखि दुई हजार रुपैयाँ किलोमा बिक्री गर्ने गरेका छन् ।

बाख्रापालन व्यवसायमा सातजना व्यक्तिलाई रोजगारी दिएका छन् ठकुरीले । प्रतिमहिना करिब तीन लाख आम्दानी गर्ने गरेका ठकुरीका छोरा नाथम कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन् । ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् ।

ठकुरीको नेतृत्वमा सञ्चालनमा आएको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकलाई बाख्राको दूध, चिज र आलुबखडाको वाइन खुवाएर स्वागत गर्ने प्रचलन छ ।

मकवानपुर जिल्लाको आकर्षित पर्यटकीयस्थल चित्लाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको जिविस मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । हाल जिविस मकवानपुरले चित्लाङको आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिक क्षेत्र तोकेको छ ।

होमस्टे सञ्चालन गर्ने चाहना ठकुरीको रहर थिएन । बाध्यता हो भन्छन्–बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरका प्रमुख मेघराज ढकाल । कर्म गर्दै गएपछि क्रमशः फल विस्तारै लाग्दै जाँदोरहेछ भन्ने उदाहरणको प्रतिमूर्ति बनेका छन् अहिले ठकुरी । बेल्जियम, फ्रान्स, अस्ट्रेलियालगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज औधी मनपराइदिएकाले आफू लखपति बनेको उनले सुनाए ।

बाख्राको चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने भएकाले स्वास्थ्यका लागि श्रेयस्कर मानिएको हो ।

ठकुरीले सानन जातको बाख्राको दूध र चिज बनाई बिक्री वितरण गरेका छन् । युरोपमा सानन जातका बाख्राको चिज खोजी खोजी खाने प्रचलन रहेको बुझिन्छ । नेपालमा भारतको हरियाणा हँुदै सानन जातको बाख्रा भित्रिएको इतिहास पाइन्छ । सानन जातको बाख्राले लामो समयसम्म दूध दिने र दूधको पोषक तत्व थप गुणस्तरीय भएको विज्ञहरुको दाबी छ ।

दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । साथै साननको मासु नरम र पोषिलो भएको अनुमान छ । यस जातको बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने गरेको छ । हालको आँकडामा पाठापाठीलाई पु-याएर प्रतिदिन एक बाख्राले ४०० एमएलदेखि एक हजार ५०० एमएलसम्म दूध दिने गरेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी