कमरेड विप्लव, एकीकृत क्रान्ति र हाम्रा अपेक्षाहरु
बिनाराम खड्काबहुदलिय व्यवस्थाको स्थापना संगसंगै सर्बत्र भइरहेका राजनीतिक गतिविधिकै सिलसिलामा आजभन्दा २ दशक पहिले भर्खर एसएलसी उत्तीर्ण गरेका ३०/३५ जना भर्खरका युवा विध्यार्थीहरुको माझमा मिसिदै म पनि अन्जानरुपमै यमुना नन्द नमुना मावि सेरीगाउं खलंगा, रुकुमको खरले छ्वाएको पुरानो भवनको कोठामा प्रवेश गरेको थिएं । त्यहां तत्कालिन अ.ने.रा.स्व.वि.यू. का नेताहरु नेत्रविक्रम चन्द र मधुसुधन वैद्यबाट २ दिने प्रशिक्षण कार्यक्रमको आयोजना भएकोले हाम्रा पाइलाहरु त्यता सोझिएका रहेछन । तर हामीलाई अन्य कुनै पनि कुराको खास जानकारी थिएन बरु त्यहां राइफल चलाउन जानेका नेता आएका छन् भन्ने हल्ला चलेको थियो । पुलिस बाहेक अरुले कसरी राइफल चलाउंदा हुन ? ति कस्ता होलान ? भन्ने जिज्ञासा हाम्रो मनमा जागिरहेको थियो । प्रशिक्षण कार्यक्रमभरी हामी राइफल चलाउन जान्ने भनिएका तिनै व्यक्तितिरै ध्यान केन्द्रीत गरिरहेका थियौं । कतै यहीभित्रै राइफल चलाउने त होइनन ! हाम्रो ध्यान त्यतातिरै थियो । त्यतिखेर भर्खरका ति २ तन्नेरीहरुले हामीलाई धेरै कुराको जानकारी दिए होलान सम्झनाको तरेलिमा सबै कुरा हराइसके । तर तिनले जोशिला मुठ्ठी उठाउंदै पटक पटक उच्चारण गरेका आजको पिडदायी सवाल क्रान्ति अझै किन शुरु हुदैन, महान क्रान्तिकारी नेता अविमायल गुजमान गोन्जालो, गद्दार चिनियां संसोधनवाद भन्ने शब्द हाम्रो त्यतिखेरको कलिलो दिमागमा परेको छाप अहिलेसम्म पनि ताजै जस्तो लाग्छ । अनि गोन्जालोलाई जेलमा हाल्ने फुजीमोरीको एकदिन अन्त हुन्छ र पेरुमा अब छिट्टै क्रान्तिको झन्डा फहराउंछ । त्यसैगरी नेपालमा पनि क्रान्तिको विगुल फुक्नुपर्छ ति राइफल चलाउन जान्ने भनिएका नेत्रविक्रम चन्दका २ दशक पहिलेका हामीले सुनेका कुरा यस्तै यस्तै थिए ।
तर समयको अन्तरालमा गोन्जालोलाई जेलमा हाल्ने पेरुका कुख्यात तानाशाह फुजीमोरी आफै जेलमा सडे र जेलमै भएका गोन्जालो जेलभित्रै मरिसके कि जिउंदै छन् कुनै चर्चा, परिचर्चा, अत्तोपत्तो सुनिदैन । अनि त्यतिखेर राजधानी लिमा मात्र कब्जा गर्न बांकी भएको भनिएको पेरुको माओवादी आन्दोलन कता हरायो, कता विलायो थाहापत्तो, फाइफुइ केही छैन । कम्युनिष्ट सिद्धान्तबाट च्युत भई संसोधनवादी गद्दार बाटो लिएको भनिएको चिन अमेरिकालाई पछि पार्दै विश्वको नम्बर एक आर्थिक शक्ति सम्पन्न भएको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । अनि किन शुरु हुदैन क्रान्ति भनेर उनले पटक पटक गरेको त्यतिखेरको क्रान्तिको चिन्ता २०५२ बाट शुरु भई विभिन्न आरोह अवरोह पार गरी, अन्त विश्वमाझैँ नेपालमा पनि कम्युनिष्ट क्रान्तिका कर्मकाण्ड पूरा गरी अब कता जाने होला भनी उकालोको चौतारीमा पुर्पुरोमा हात लगाएको यात्री झैँ रणभुल्लमा परिरहेको देखिन्छ । तर अफशोच ! अझै पनि उनै नेत्रविक्रम चन्द फेरि आधुनिक राइफल र एकिकृत क्रान्तिको कुरा दोहोर्याइरहेका छन् ।
हिजो अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कुराहरु हुन्थे, साहित्यहरुमा क्रान्तिकारीहरुका विरताका वखानहरुले तरङ्ग ल्याउंथ्यो । आज समयको दौरानमा नेपाली क्रान्तिका प्रत्यक्ष अनुभवहरु पनि नेपाली जनताले भोगिसके । ति विगतमा भोगेका परिणामविनाका आङ्ग सिरिङ्ग पार्ने तिता अनुभूतिहरु सबैको मन मस्तिष्कमा ताजै छन् । २०५२ सालबाट शुरु भइ २०६३ मा युद्धविराममा टुङ्गिएको शसस्त्र संघर्षका दौरान लडाइको अग्रभागमा लड्ने योद्दाहरुलाई एकोहोरो पिडा थियो होला । कि मार्ने कि मर्ने । नेतागनहरु सकेसम्म सुरक्षित रहनु स्वभाविक हुने नै भयो मान्छे स्वयम् पहिला टाउकै त लुकाउंछ । तर ति परिवर्तनका शारथीलाई माया गर्ने तथा सहानुभूती, सद्भाव राख्नेहरुले कति पिडा भोगे कति त्यसको लेखाजोखा समकालिन राजनीतिक नेतृत्वको कुखुरे छातीले गर्न सक्दैन । त्यो पिडा विशुद्ध रुपमा नेपाली जनताको पिडा थियो र त्यो पिडाको अनुभूति समकालिन नेपाली राजनीतिका हस्तीहरुमा हुन्थ्यो भने त देशमा २०६५/२०६६ मै जनताको चाहना समाहित नयां संविधान बनी अहिलेसम्ममा विकासले गति लिइसक्थ्यो र जनताका धेरै अपेक्षाहरुको परिपुर्ति भइसक्थ्यो । तर नेपालको राजनीतिमा नेपाल एकिकरण पछि बगेको यतिधेरै रगतको मुल्य कता हरायो कता । छट्टु जादुले चम्चा गायब पारेझैँ कसैले पत्तै नपाइ हरायो । अनि फेरि हामी त पहिले जहां थियौं त्यही पो पुगिरहेका छौं । र फेरि पनि उही विद्रोह र क्रान्तिका कुरा सुनिरहेका छौं । विश्वमा कहीं नदेखिएको नसुनिएको विसाउनीमा सुस्ताइरहेको क्रान्तिलाई हठात् र छिट्टै जर्याकजुररुक उठाउने चर्चा देखिरहेका छौं ।
तर अहिले फेरि अर्को क्रान्तिको बिगुल फुक्ने होइन कि कुनै न कुनै रुपमा यसअघि चराचर जगतमा सबैले देख्नेगरी भएको कुर्वानीपूर्ण संघर्षको मुल्य खोज्नु अहिलेको ज्वलन्त आवश्यकता हो र नेपाली जनताको अहिलेको अन्तरह्रदयको झँकार पनि त्यही हो । हिजोको क्रान्तिको मुल्य नखोजीकन, त्यसको मुल्य प्राप्त नभइकन नयां क्रान्तिको सपना बांड्नु भनेको त पसलेले पहिलेको हिसाव मिलान नभइकनै फेरि फेरि उधारो सामान दिनु जस्तै हो । झट्ट हेर्दा यो उदात्त देखिएता पनि सारमा र अन्ततोगत्वा यो क्रान्तिकारी सिद्धान्तलाई घुमाउरो पाराले टाट पल्टाउने क्रियाकलाप हो । उधारै, उधारोमा क्रान्ति गर्ने अनि त्यसको प्रतिफल नखोज्नु त क्रान्तिकारी दर्शन होइन कि वैदिक दर्शनको मान्यता अङ्गिकार गर्नु हो । जसले भन्छ कर्म गर, फल (परिणाम) को आश नगर । क्रान्तिका उपलब्धी चिन्न र रक्षा गर्न नसक्नु क्रान्तिकारिता होइन, घुमाउरो रुपमा प्रतिक्रान्तिको तावेदारी हो । डाङ्गडुङ्ग र मिडियाबाजी क्रान्तिकारीताको मापो होइन । बरु यतिखेर हिजो कुनै न कुनै रुपमा सारा नेपाली जनताबाट गरिएको अद्धितिय बलिदानीपूर्ण संघर्षको प्रतिफल कसले गामगुम पार्यो ? त्यसको हिसाव खोज्ने बेला हो । परिवर्तनका लागि जनताले बगाएको रगतको मुल्यलाई कसले कहां गुमनाम पारेको छ ? अथवा जनताले बगाएको रगतमा नै अहिले राजनीतिको लेनदेन अनि खुद्रा/होलसेल ब्यापार चलिरहेको त छैन ? जनताले बगाएको रगतलाई अवमुल्यन गर्दै नेपाली जनताका अपेक्षा पूरा हुन नदिनको लागि आन्तरिक र बाह्रय रुपमा को को सहभागी छन् तिनको यथार्थ छानविन या जानकारी जनतालाई नदिइकन, जनताको रगतसंग आफ्ना व्यक्तिगत स्वार्थ साट्नेहरुको यथोचित हिसावकिताब, हिसावमिलान नगरिकन नयां क्रान्तिका पुराना सपनाहरु उठान गर्नु क्रान्तिकारी छलाङ्क होइन, आदर्शवादी गोलचक्कर हो ।
यति हुंदाहुंदै पनि नयां एकिकृत क्रान्तिको ब्याख्या गर्ने शक्तिले अहिलेका अपेक्षाहरुको सन्दर्भमा बुझ्नु जरुरी के छ भने क्रान्तिको मोडेल परिवर्तनसंगै हिजो तय गरिएका क्रान्ति र संघर्षका निशाना यथास्थितिमा छैनन । हिजो के भयो सबैका सामु जगजाहेर नै छ । तर अब पनि घरमा श्रीमतीलाई चाडपर्वमा नयां शारी किनिदिने बाचा गर्दै रोजगारीको केही उपाय नलागेर सुरक्षा निकायमा जागिरी खान पुगेका, गरिब नेपालीका छोराछोरी जसले कमिशनखोरको पन्युले डामिएको पौने पेटको कमशल राशन खाँदै, पातला लुगा अनि जाडोमा थुरुथुरु काम्दै अन्धकार रातमा अनकन्टार ठाउंमा ड्युटी बसिरहेका प्रहरी, सेनाका जवानहरुलाई उनीहरुले समाएको थोत्रो राइफल खोस्दै उनैलाई ड्याम ड्याम मारेर अबको क्रान्ति किमार्थ बहादुर र सफल हुदैन । यदि विगतमा गरिएको क्रान्तिको सपना सम्पूर्ण रुपमा पूरा भएको छैन भने विगतको क्रान्तिका सफलतालाई जोगाएर नै बांकी रहेका क्रान्तिलाई पूर्णता दिन सकिन्छ । हिजो बांकी रहेका कुराहरु धेरै छन् र होलान । सामन्तवाद, साम्राज्यवादको एजेन्टको घोषित स्थायी नियुक्ति बुझेर आधिकारिक रुपमा कोही बसेको छैन त्यो त हाम्रो चिन्तन, विचार, व्यवहार र आचरणमा जरो गाडेर रहेको छ । वैचारिक रुपमा त्यो गलत दार्शनिक मान्यतामाथि प्रहार गर्न सक्नु नै अबको एकिकृत क्रान्तिको बांकी कार्यभारको सफलता निर्भर गर्दछ । देशमा भएका ठुलठुला भ्रष्टाचारीहरु जसले देशलाई दिनदहाडै कंगाल बनाइरहेका छन् र आफ्नो पुस्तौ पुस्तासम्मको लागि कमाइरेका छन् त्यस्तालाई अबको निसानामा पार्ने काम बांकी रहेका क्रान्तिमा पूरा गर्न सकिन्छ । कागजमा मात्र विकास गरेर कुम्ल्याइरहेका कमिशनखोरहरु, अन्तराष्ट्रिय दातृ राष्ट्रबाट गरिबी निवारण र शशक्तिकरणको नाममा सहयोग प्राप्त गर्दै गरिव जनताको नाम भजाएर एनजिओ र आइएनजिओको पसल थापेर कालो धन्धा गरिरहेकाहरुलाई बांकी रहेको क्रान्तिको अभियानले छानविनको दायरामा ल्याउन सक्नुपर्छ । राजनीतिको साइनबोर्ड झुन्ड्याएर अबैध ब्यापार, दलाली, कमिशन उठाउनेहरुलाई अबको बांकी क्रान्तिले ठेगान लगाउन सक्नुपर्छ । जो कुनै सेक्युरिडी गार्डको राइफल खोसेर, निरपराध भाइ, बन्धुको शिरोच्छेदन गरेर होइन, शस्त्रको प्रयोग रहरमा होइन आवश्कतामा मात्र गरेर अहिंसात्मक स्वरुपका अभियानबाट समेत असिमित युगान्तकारी क्रान्तिकारी सफलता प्राप्त गर्न सकिन्छ । यसरी हिजो पूरा हुन नसकेका परिवर्तनका कतिपय प्रसंगहरुलाई पूरा गर्नुपर्ने आवश्यकता रहेतापनि हिजोको क्रान्तिको सपना तुहाउने, सपनाको व्यापार गर्ने अनि बचेखुचेका सफल सपनाहरुलाई पनि गलत दिशामा हुत्याउनेहरुबाट फेरि अर्को क्रान्तिको कल्पना गर्नु व्यर्थ हुन जान्छ ।
साथसाथै अर्को यथार्थ कुरा के हो भने हिजो हामीले रुकुम रोल्पा अनि देशैभरी प्रत्यक्ष भोगिसक्यौ । अब हाम्रो गाउंमा हिजोको जस्तो चक्रमा घुम्ने, कहिपनि नपुगिने, आधारभुत संरचनामा परिवर्तन गर्न नसक्ने चक्रिय क्रान्ति (Cyclic Revolution) त चाहिएको छैन । जुम्रा मार्नको लागि तोप पड्काउने नेपाली क्रान्तिको कुनै अर्को मोडलको आवश्कता पनि तत्काल छैन । विज्ञान र प्रविधिको विकासले मानव विकासक्रमका नयां नयां सम्भावनाका ढोकाहरु खुलेसंगै जनअपेक्षाहरु पनि पृथक भइरहेका छन् । मान्छेका आवश्यकता र चाहनाका त्यान्द्राहरु झनभन्दा झन बढिरहेका छन् । तिनको समाधानको लागि विश्ववजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने गुणस्तरीय र सीपमुलक शिक्षानीतिको कार्यान्वयन हामीले खोजेका छौं । युरोप, अमेरिका, मलेशिया, जापान जस्ता देशमा भएका विकासका दुर्तमार्ग (Fast Track) हामीले खोजेका छौं । हिजो विकासको नामै नसुनेका जनताहरु पनि आज उधारोमा गाउं गाउंमा सडक विस्तारमा चासो दिन लागेको परिवेशमा हिजोको क्रान्तिको नेतृत्वबाट हामीले गाउं गाउंमा मोटरबाटोको उद्घाटन गरेको देख्न चाहेका छौँ । विजुली वत्तीको लागि लघु जलविदुतको उत्पादनमा स्थानीय गाउंलेहरु उत्साहित भइरहेको वेलामा त्यसलाई सम्पन्न गर्नको लागि नेतृत्वको अग्रसरता खोजेका छौँ । अर्काको देशमा गएर दुख नगरी आफ्नै देशमा पसिना चुहाएर देश विकास गर्ने आफु र आफ्ना सन्ततीको घरपायक रोजगारी हामीले खोजेका छौं । सामान्य उपचार नपाएर पनि अकालमा ज्यान फालिरहेका गाउंवासीलाई विरामी पर्दा ओखतीमुलोको लागि सर्वशुलभ स्वास्थ्य अनि सन्चारका साधनहरुमा सहज पहुंच यस्तै यस्तै सजिला र सिधा साधा कुराहरुमा देशका कुना कन्दराका बासिन्दाहरुको माग र जोड बल अनि अपेक्षा देखिएको छ । हाम्रा गाउंघरतिरका जन अपेक्षाहरु, हामीले भोगेको हिजोको बलिदानीपूर्ण संघर्ष, अहिले चर्चामा रहेको एकिकृत क्रान्तिको सिद्धान्न र २ दशक पहिल्यैदेखि राइफल म्यानको रुपमा हामीले जिज्ञासापुर्वक हेरिरहेका नेत्रविक्रम चन्द विप्लवको अन्तरमनको महत्वाकांक्षा अनि अड्कल्दै प्रस्फुटन भइरहेको बाहिरी गर्जन वीच कही कतै तालमेल हुन्छ हुदैन ?? मुल्याङ्कनको अविभारा बलवान समयको काँधमा !
(२२ मंसिर २०७१, खलंगा ६, सोलाबाङ्ग, रुकुम)