मानव शरीर बाहिरै रक्तनली बनाउने पद्दति आविष्कार भएको छ : डा. प्रसाई

डा. नुतन प्रसाई

 

अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनमा कार्यरत एक नेपाली वैज्ञानिक डाक्टर नुतन प्रसाईंको नेतृत्वमा मानवशरिरमा रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हात लागेको छ । प्रसाईको नेतृत्वमा झण्डै २ दर्जन शोधकर्ताहरुको लामो समयदेखिको प्रयासपछि यो सफलता प्राप्त भएको हो । रक्तनलीमा खराबी आएका कारण मान्छेको अंग नै काट्नुपर्ने जस्ता समस्याहरु आउने भएकाले मानवशरिरमा रक्तनलीको निर्माण गर्न सक्ने यो पद्धतीले त्यस्ता समस्याहरु समाधान गर्ने अपेक्षा गरिएको छ । मुसामा सफलतापूर्वक परिक्षण गरिएको यो पद्धती मानव शरिरमा प्रयोग गर्न भने अझै केही समय लाग्ने भएको छ । मुसामा यसको परिक्षण गर्दा मान्छेकै रक्तनलीको विकाश भएको रोचक तथ्य फेला परेको पनि डाक्टर प्रसाईले जानकारी दिएका छन् । 

मोरङको बिराटचोकमा मध्यमवर्गीय परिवारमा जन्मनुभएका प्रसाईले मोरङको इन्द्रपुरमा रहेको सरकारी विद्यालय सुकुना माध्यामिक विद्यालयमा अध्ययन गरेका थिए । त्यसपछि विराटनगरको विराट साइन्स क्याम्पसमा अध्ययन गरेका  प्रसाईले त्यहाँ आईएस्सी गरिसकेपछि भारतको राजिव गान्धि युनिभर्सिटी अफ हेल्थ साइन्समा फार्मास्युटिकल साइन्स अध्ययन  गरे । डिस्टिङसनमा डिग्री हासिल गरिसकेपछि उनले केही समय फार्मासिस्टका रुपमा समेत काम  गरे । त्यसपछि उनी   अमेरिकामा  गए र वायोलोजीमा मास्टर्स गरे भने बायोमेडिकल साइन्समा डक्टरेट गरे । सन् २००९ मा पीएचडी गरिसकेपछि उनले  इन्डियानापोलिसस्थित इन्डियाना युनिभर्सिटीमा डाक्टर योदरको ल्याबमा काम सुरु गरे । त्यही अनुसन्धानका क्रममा उनी नेतृत्वको टोलीले रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हासिल गरेको हो । प्रस्तुत छ डाक्टर नुतन प्रसाईसँग अमेरिकाबाट प्रकाशित भइरहेको खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थीले गरेको कुराकानी ।

विशेषगरी कुनै व्यक्ति बुढो हुँदै गएपछि वा कुनै रोगका कारणले रक्तनलीहरुले काम काम गर्ने वा काम गर्न बन्द गर्ने अवस्था आउँछ । त्यो अवस्थामा रक्तनलीले काम नगरेपछि कुनै पनि अंग प्रत्यंगमा रगत नपुग्दा समस्या पैदा हुन्छ । त्यसलाई हटाउने उपचारपद्धति अहिलेसम्म केही पनि छैन । रक्तनलीमा समस्या आएमा अहिलेसम्म यसको पूर्ण समाधान गर्ने कुनै उपाय छैन । रक्तचापलाई खुम्च्याउने र बढाउने केही औषधीहरु त छ । तर संरचनागत हिसाबले रक्तनली ड्यामेज भएमा उपचार गर्ने पद्धती नै छैन । त्यसैले यो उपलब्धीबाट शरिरमा नयाँ रक्तनली नै बनाउन सक्ने प्रविधिको विकाश हुने सम्भावना देखिएको छ । शरिरको कुनै पनि टिस्यु वा अंगलाई बाँच्नका लागि रगतको फ्लो चाहिन्छ । त्यरक्तनलीको निर्माण गर्न सकिने यो उपलब्धी कस्तो खालको उपलब्धी हो ?

ही रगतको फ्लो बनाउने नली बनाउन सम्भव भएको कुरा यो शोधबाट पुष्टि भएको छ ।

यो उपचारपद्धती अनुशार नयाँ रक्तनलीहरु कसरी बनाइन्छ ?
यो कुनै रसायन वा औषधी होइन । यो कुनै व्यक्तिको शरिरको सेल लिएर त्यसमा निश्चित प्रकारको जिन हालिन्छ । यो कुनै डाक्टरले शरिरबाट केहीमात्रामा रगत निकालेजस्तै हो । सेलबाट स्टेमसेल बनाइसकेपछि त्यसबाट बाहिरै रक्तनली बनाउने सेल निर्माण गर्न सकिनेभयो । त्यो सेल इन्जेक्सनबाट शरिरमा दिएपछि त्यसले शरिरभित्र रक्तनलीको निर्माण गर्छ । शरिरबाट बाहिरै कसरी अंगको निर्माण गर्ने भन्ने विषयमा रिसर्चहरु भइरहेका छन् । कसैले कुनै अंग बनाउने हो भने पनि त्यो अंगलाई बाँच्न रक्तप्रवाह आवश्यक हुन्छ । शरिरभन्दा बाहिर त्यस्ता टिस्यु वा अंगहरु बनाउँदा पनि रक्तनलीको आवश्यकता पर्छ । यो सेल त्यहाँ पनि प्रयोग हुनसक्छ । शरिरका अंगहरु बाहिर बनाउँदा मात्र नभई शरिरभित्रै रक्तनली निर्माणका लागि यो सेलको प्रयोग हुनसक्छ । त्यस्तै शरिरबाहिर नै रक्तनली बनाएर नली नै शरिरमा हाल्ने प्रविधिमा पनि यो प्रयोग हुनसक्छ । मुटुको बाइपास सर्जरी गर्दा खुट्टाको रक्तनली निकालेर मुटुमा हालिन्छ । त्यो लामोसमय टिकाउ हुँदैन । पाँचसातवर्षमा काम गर्न छोड्ने अवस्था आउँछ । फेरी नयाँ हाल्नुपर्ने अवस्था आउँछ । बिल क्लिन्टनको दुईपटक, डिक चेनीको दुईपटक मुटुको सर्जरी गर्नुपरेको हो । तर नयाँ प्रविधि अनुशार शरिरबाहिर नै रक्तनली बनाएर हाल्न सकिने र टिकाउ हुने हुनसक्छ । हामीले हासिल गरेको सफलता मानवमा परिक्षण भएको छैन । यो केवल मुसामा परिक्षण गरिएको हो । रमाइलो कुरा त के छ भने मान्छेको सेल मुसाभित्र हाल्दा मुसामा मान्छेको रक्तनली निर्माण भयो । त्यसपछि यो मुसाको रक्तनलीसँगको अरु सर्कुलेसनसँग समेत जोडियो । त्यसपछि मुसाको रगतलाई आफ्नो रक्तनलीमा बगायो ।

सेल निकालेर बाहिर रक्तनली निर्माण गर्नका लागि कति समय लाग्छ ? कत्तिको खर्चिलो हुन्छ ?
यो निकै खर्चिलो हुन्छ । अहिले हामीले व्यवसायिक स्तरमा गरेका छैनौं । व्यवसायिक स्तरमा गएर आम उत्पादन हुन थालेमा खर्च निश्चय पनि कम हुन्छ । हामीले यो परियोजना चारवर्षदेखि गर्दा लाखौं डलर खर्च भएको छ । परिक्षणको क्रममा भएकाले खर्च यति नै लाग्छ भन्न सकिन्न । समयको कुरा गर्दा शरिरबाट निकालेर रक्तनली निर्माणगर्ने स्टेमसेल बनाउँदा ९ देखि १२ दिन लाग्छ । स्टेमसेल सुरुमा थोरै हुन्छ । त्यसलाई बढाउदै लैजानुपर्छ । प्रयाप्त स्टेमसेल बनाउँदा एकमहिनाजति लाग्छ । दुई अढाई महिनाको समयअवधिमा शरिरमा प्रत्यारोपण गर्न सकिने सेलको निर्माण हुन्छ ।

यो रिसर्च पूरा गर्दाको पृष्ठभूमी कस्तो रह्यो ?
मलाई सानैदेखि हाम्रो शरिरको अंगको विकाशबारे निकै चासो थियो । शुक्रकिट र डिम्ब मिलेर बनेको एउटा सेलबाट मान्छेको पूरै शरिर कसरी बन्छ भन्नेमा मलाई निकै चासो थियो । सेलबाट मान्छेको निर्माणहुँदा पहिलो रक्तनली कसरी बन्यो, अंगहरु कसरी बने भन्ने विषयमा निकै खुल्दुली लाग्थ्यो । अमेरिकामा पढ्न आइसकेपछि मैले रक्तनलीकै विषयमा बढी फोकस गरें । रक्तनली कसरी बनाउन सकिन्छ भन्ने कुराको ज्ञान भएमा धेरै कुराको निदान गर्न सकिन्छ भन्ने सोंच मभित्र थियो । त्यसैले म यो रिसर्चमा लागें । यो प्रोजेक्ट मेरो नेतृत्वमा भएको हो । तर यसमा हामी झण्डै दुईदर्जन जतिको टिम छ । म एसिस्टेन्ट रिसर्च प्रोफेसर हुँ । डाक्टर योदर म काम गर्ने सेन्टरको डाइरेक्टर हुनुहुन्छ । उहाँको प्रत्यक्ष सहयोगमा हामीले यो रिसर्च पूरा गरेका हौं ।

मान्छेमा रक्तनली निर्माणको पद्धती उपयोग गर्न अझै कति समय लाग्ला ?
मान्छेमा उपयोग गर्नका लागि हामी आतुर छौं । तर हतारो गर्दैनौं । मान्छेमा कुनै पनि परिक्षण गर्दा प्रोटोकलहरुमा ध्यान दिनुपर्छ । ट्युमर बढ्नका लागि पनि रक्तनलीको बृद्धि हुन्छ । त्यसैले ट्युमर नबढोस्, चाहिनेमात्र रक्तनली बनोस् भन्नका लागि थप परिक्षणहरु आवश्यक छ । सबै प्रकृया पूरा नगरेसम्म मान्छेमा जान मिल्दैन । क्लिनिकल परिक्षणमा जान तीनचारवर्ष लाग्नसक्छ । विभिन्न चरणहरु पारगरेर मान्छेमा पूर्ण सफलता प्राप्त गर्नका लागि केहीवर्ष लाग्छ ।

कस्ता रोगको उपचारका लागि यो पद्धती फलदायी सावित हुनसक्ला ?
खासगरी यो कार्डियोभास्कुलर रोगका लागि फलदायी हुनसक्छ । यस्तो रोगबाट अमेरिकामापनि धेरै मान्छेहरुको मृत्यु भइरहेको छ । मुटु र रक्तनलीसम्बन्धि समस्याहुने रोगको उपचारका लागि यो पद्धतीले सहयोग गर्नेछ । मधुमेह जस्ता रोगको उपचारमा पनि यो सहयोगसिद्ध हुनसक्छ । रक्तनली खराब भएर मधुमेह हुने होइन तर मधुमेह भएपछि रक्तनली बिग्रन्छ । रगतमा सुगरकोमात्राले रक्तनली बिगार्छ । मधुमेहहुँदा अन्धोपन हुने वा खुट्टामा घाउहरु निको नहुने समस्या हुन्छ । कहिलेकाँही त खुट्टै काट्नुपर्ने पनि हुनसक्छ । रक्तनलीकै कारणले खुट्टा काट्नुपर्ने हुन्छ । यस्ता रोगको उपचारका लागि हाम्रो रिसर्चको उपलब्धी सहयोगसिद्ध हुनसक्छ ।

नेपालमा धेरै युवा नयाँ नयाँ सोधका लागि उत्साहित छन् । त्यस्ता युवाहरुलाई के सुझाव दिनुहुन्छ ?
नेपालमा रहनुभएका युवाहरुले जति आफ्नो स्तरबाट सकिन्छ, त्यो गर्ने प्रयास गर्नुपर्छ । सपना ठूलो राख्नुपर्छ । कसैले नेपालमा बसेर अन्तरिक्षमा जाने सपना राख्छ भने ठूलो सपना देख्न बन्द गर्नुहुन्न । नेपालमा नासाजस्तो संस्था भएको भए सजिलो हुने थियो । तर त्यो नभएपनि सपनादेख्न छाड्नुहुदैन । केहीवर्षअगाडि भारतीय अन्तरिक्षयात्रीहरु पनि अमेरिकामा आएर अन्तरिक्षमा गइरहेका छन् । अन्तिम लक्ष्य अन्तरिक्षमा जाने हो भने नासामा जाने लक्ष्य लिनुपर्छ । नासामा जान कहाँ पढ्नुपर्छ, के पढ्नुपर्छ त्यतातिर लाग्नुपर्छ । अहिले संसार एउटा गाउँजस्तै भएको छ । नेपालीले चाहेभने विदेश आएर पढ्नै नसक्ने भन्ने छैन । पढ्न नसक्ने नेपालीहरु पनि हुनुहुन्छ । तर पढ्न सक्ने नेपालीहरु पनि धेरै हुनुभएको छ । त्यसैले नेपालको अवस्थालाई हेरेर केही गर्न सकेनौं भनेर बस्नु हुँदैन । जहाँ गएर जसरी सकिन्छ गर्नुपर्छ । कसैले नेपालमै बसेर काम गर्नुपर्छ । कसैले नेपाल बाहिर गएर आफ्नो क्षेत्रमा काम गर्नुपर्छ । हिम्मत नहारिकन काम गर्नुपर्छ । लक्ष्यमा अवश्य पुगिन्छ । (साभार : खसोखास साप्ताहिक)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’