मपाई – भैरब अर्याल

‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने ‘म’लाई पदोन्नति दिई ‘मपाईं’ नगराउनु पच्चीसै आना पक्षपात हो, ‘म’प्रतिको अन्याय हो। यसकारण अरुले ‘तपाईं’ भने पनि नभने पनि हामीले आफूलाई ‘मपाईं’ भन्नै पर्छ, यो युगको माग हो; ‘मपाईं’को मन्तव्य यस्तै छ। ‘मपाईं’ शब्द सुन्दा नयाँजस्तो लाग्।छ। तर यसको भाव बाषाभन्दा जेठो र इतिहासभन्दा बूढो छ। किनभने मुख चलाउनुभन्दा पहिले मान्छेले ‘म’को माया गर्न जान्यो; अरुलाई केही मान्नुभन्दा पहिले आफैंलाई सम्पूर्ण ठान्न थाल्यो। फलत: शक्ति बढ्ता हुनेले आफूलाई लायक वा नायक भनाई आत्मआदर खोजे, मपाईं बने; बठ्याइँ बढ्ता हुनेले धर्मकर्ममा अक्कलझक्कल झिकी आफूलाई ईश्वरको नक्कल भनी ‘म’को महत्ता दर्शाए, मपाईं बने। एक पटक ब्रह्मा र विष्णुमा तँ ठूलो कि म ठूले भन्नेबारे गम्कागम्की परेछ, फैसलाको लागि दुवै महादेवकहाँ पुगेछन्। देवमाथिका उपरदेव महादेव, उसै त तपाईंको धुरन्धर, झन् त्यो मौका पाएका। हत्त न पत्त आफ्नो ‘ज्योतिर्लिङ्ग’ तेर्स्याउँदै भनेछन्- “लौ, एक जना उँधो जाऊ, अर्को उँभो। जो यसको फेद वा टुप्पो पत्तो लगाउँछो, त्यही ठूलो।” मारेन के? न्यायधीश मानिसकेपछि आज्ञा नमानून् कसरी? ब्रह्मा र विष्णु राणाकालीन लाठसाहेबका चाकरीवाल दौडेझैं स्याँस्याँ गर्दै लागे तल-माथि। तर दुवैले लक्ष भट्टाएनन्। कीर्ते साक्षी बकाएर भए पनि आफ्नो मपाईंत्व जोगाउने ब्रह्माको षडयन्त्र पनि असफल भयो। अनि लँगौटी बाँध्दै महादेवले छाँटे- “देख्यौ, को ठूलो रहेछ? मेरा अगाडि तिमीहरुको मपाईंत्व! दुवै उस्तै हौ, लौ जाओ!” यसरी ब्रह्मा-विष्णुका पालादेखि चलेको मपाईंलाई कसरी नयाँ मान्नुहुन्छ? मपाईंत्व प्रदर्शित गर्ने यस्ता कथाहरु नौ मुरी पाइन्छन्। पुराण पढ्नोस्, पण्डित भेट्नोस् कि पादरी भेट्नोस् मपाईंकै गाथा सुनिन्छ। जो बूढो उही बाटो हगुवा भनेझैं जसजसलाई दुनियाँले महापुरुष मान्दै आयो, ती सबैले आफ्नो महापुरुषत्व मपाईंबाटै सुरु गरेका त होइनन्? कुन्नि, मपाईंलाई त शङ्कै लाग्छ। अर्काको तपाईंत्व स्वीकार नगरेर ‘म’कै महिमा मादल बजाउनु मपाईं बन्नु हो। सभ्यताको जतिति विकास हुँदै आयो, उतिउति मपाईंत्व प्रवृत्ति पनि विष्णुमतीले मूला मौलाएझैं मौलाउँदै आएको छ। त्यसैले प्रत्येक व्यक्ति आफूलाई हात्ती सम्झन्छ, अरुलाई बोका। अब समाज हात्तीहात्तीको हो वा बोकैबोकाको हो कसले छुट्याइदिने? अर्को शब्दमा मपाईंत्व एक नशा हो, यसले लट्ठयाएपछि कक्टेल पार्टीका श्रीमानहरुले झैं सब मपाईंहरु एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन्। सम्झनुभएन? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढयो, भीम र दुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो। यस्तै मपाईं मपाईंको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खड्गीज्यूकहाँको बनेल बन्यो। हिरण्यकशिपुदेखि हिटलरसम्म, अलेक्जेन्डरदेखि एडवर्डसम्म, बाबरदेखि बबरसम्म कसले आफूलाई मपपईं भनेन? तर के गर्नु! सबै मपाईं ठोक्किए-बरालिने पोइको काटमुनि गुन्डाका मुन्डा टाउका जुझेझैं। फलस्वरुप नौरङ्गी क्रान्ति भए, संघर्ष भए, युद्ध र महायुद्धहरु भए, आखिर बलियाहरुको मपाईं झन पाक्यो, चतुरहरुको मपाईं झन् चर्क्यो। दब्ने मपाईंको इतिहास माटोमा मिल्यो, जितुवा मपाईंको महिमा चितुवाझैं उफ्र्यो, त्यसैले रामायण लेखियो, रावणायण लेखिएन, ‘चन्द्रमयूख’ देखियो, ‘देवमयूख’ देखिएन। मपाईंको त यस्तै खस्रा कुरा गर्ने बानी छ। नास्तिक भनून् वा नाकठाडो भनून्, मपाईंलाई पनि आफ्नो महान् मपाईंत्वमा पूरा विश्वास छ। वास्तवमा मपाईं बन्नु आत्म-आदर खोज्ने मानवीय मनस्थितिको मोटो विशेषता हो। आफू जस्तै बामपुड्के भए पनि अरुलाई होच्याइदिन पाए हातले नछोइदिन धर्को लामो पार्ने ‘बीरबल मेथड अफ् डेभलपमेन्ट’ सफल भइरहन्छ। त्यसैले होला खुश्चेभले मरिसकेको स्तालिनकको जरैसम्म जुँघा उखेलेर मपाईं बने। त्यसैले त जुनसुकै गल्लीमा भेटिने जोसुकै मान्छेसित सोध्नोस्- सब चोर, सब लोफर, सब आवारा, सब नामर्द, सद्दे भन्नु उही मात्र, जो तपाईंसँग हाँकिरहेको हुन्छ। प्रत्येक पसले भन्छ- म अरुजस्तो ठगाहा होइन, प्रत्येक कर्मचारी छाँट्छ- म अरुजस्तो कामचोर र घूसखोर होइन, प्रत्येक युवती नखरा पार्छे- म अरुजस्तो छँडुली होइन, प्रत्येक युवक धक्कु लगाउँछ- म अरुजस्तो नामर्द होइन, प्रत्येक कवि-कलाकार फुल्छ- म अरुजस्तो बकमफुसे होइन। प्रत्येक नेता गुड्डी हाँक्छ- म अरुजस्तो झ्यासझुस लिडर होइन। ओहो! जसका अगाडि उभिए पनि उही मपाईंजनित थुकका छिटा मुखमा पर्नुसिवाय केही छैन। हुँदाहुँदा गल्लीको लुते कुकुरले कुइँकुइँ गरेको सुन्दा पनि म अरुजस्तो भुस्याहा होइन भनी फुइँ छोडेको त होइन? भन्ने शङ्का लाग्छ मपाईंलाई। शङ्का मात्रै होइन, कुकुरको मपाईं झन मापाको हुन्छ। फोहोर खाने जात भएर के गर्नु, जुनसुकै देवीदेवताको स्थानतिर हेर्नोस्- वरिपरि झुम्मिइरहेका हुन्छन् उनै। मोटरमा गुड्नेदेखि रकेटमा उड्नेसम्म सौभाग्य पाएको कुकुर जस्तोसुकै लुते, लुखुरे, लिँडे, तिल्के, टाटे, रागेपाटे, झिल्के, झ्याउरे भए पनि आफूलाई बेलाइती नै सम्झन्छ। त्यसैले त मान्छे जहाँ पूजा गर्छन् कुकुर त्यहाँ जिभ्रो लतपताइदिन्छ, मान्छे जहाँ ढोग दिन्छन्, कुकुर त्यहाँ तुर्क्याइदिन्छ। कसले नदेखेको छ र? एक चौटा मासुको निम्ति अथवा एउटी माली कुकुर्नीको निम्ति कुकुरहरुको मपाईं कसरी चर्किन्छ? कसरी उनीहरु दाँत ङिच्याएर एकअर्कासित लुछाचुँडी गर्छन् र कति चाँडै मित्र शत्रु हुन्छन; अनि मपाईंको धुमर्के झन्डा पिँधतिर झुन्ड्याएर एकै दिन भए पनि, एकै छिन भए पनि, कुकुरतिहार मनाउचछन्, माला लगाउँछन्। जब मपाईंत्व चुर्लिंदा माछापुच्छ्रेको चुचुरोमा पुग्छ अनि कार्तिके डाँगाहरु झैं उनीहरु जसको पाए पनि घोडा चढ्न खोज्छन्, जसलाई पाए पनि टोक्न ताल्छन्। अनि सबैतिरबाट घुस्सा खान्छन्, कुइँकुइँ गर्दै फेरि बिरालासित मित्रता बाँध्न थाल्छन्। त्यसैले त कहिलेकाहीं राजनीतिमा कुकुर-बिरालाको पनि संयुक्त मोर्चा भएको देख्न पाइन्छ। मपाईं- न धार्मिक दृष्टिकोणले पाप हो, न कानुनी दृष्टिले अपराध। मागेर खानेदेखि मात्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ। त्यसैले त अचेल जसले आङ्देखि टाङ्सम्म रङ्गीचङ्गी प्वाँख जडेर आफ्नो महत्ता दर्शाउन सक्छ त्यो महान् हुन्छ। कामले नसके कुराले, दिमागले नभ्याए सुराले, जसरी भए पनि आफ्नो महत्ता बढाउनुपर्छ, अनि स्वास्नीले नुन किन्न पठाउँदा “नुनभन्दा चुन सेतो रे’छ बूढी” भन्दै चुनको पोको गोजीमा हालेर आउने भलादमीले पनि चतुर चन्द्रको उपाधि पाउन सक्छ। युग मपाईंको हो। त्यसैले युगअनुसार आवाज हुनुपर्छ, आफ्नो सह्रनी आफैंले गर्नुपर्छ- अरु कसले गरिदिन्छ? हाम्रा साहित्यिकहरुले पनि यो कुरा छर्लङ्ग बुझेका छन्। त्यसैले कोही आफूलाई शेलीको सालो ठान्छन् त कोही मिल्टनको मामा। कुनै पनि सभासम्मेलन वा समारोहमा जानोस- कर्केछड्के हावभावका साथ मञ्चमा उभिनेचाहिँ कवि वा वक्ता सुनाइरहेको हुन्छ- मपाईं-महिमा। सुन्नेहरुचाहिं खासखास खुसखुस गर्दै सुनाउनेलाई तीन कटडी पनि नगनी आफआफ्ना महत्वको महिमा गाइरहेको हुन्छन्। यसै क्रममा सम्मेलन सिद्धिन्छ, अरुले लेखेको पनि पढिदेऊँ, अरुले बोलेको पनि सुनिदिऊँ, अरु पनि तपाईं हुन् भन्ने प्रवृत्ति कसैमा छैन। किनभने यो ‘नामकरण’को बेला हो, कामकरणको होइन। मपाईं धेरै थरीका हुन्छन्। कसैलाई उपाधि-मपाईंले छोएको भोलिपल्टैदेखि उनीहरु शङ्का गर्न थाल्छन्- के दुनियाँमा मजत्तिको पढैया र बढैया अर्को कोही होला त? कसैलाई पगरी-मपाईं लागेको हुन्छ, ओहदामा पुग्नेबित्तिकै उनीहरुका आँखाले सबैलाई हल्कारा देख्छ। त्यस्तै, कोही जहानियाँ-मपाईं हुन्छन् त कोही घरानियाँ-मपाईं। कसैलाई मोहनी-मपाईंले सताएको हुन्छ। बाटाघाटामा, अड्डाअदालतमा, कार्यालयमा व विद्यालय, महाविद्यालयमा जति पनि युवती देखिन्छन् सबैका आँका उनीहरु आफैंपट्टि फर्केको देख्छन् र साथीहरुसँग फुइँ छाड्छन्- मलाई देख्नासाथ सबै युवती मोहित हुन्छन् किन होला? तर युवतीले उसको गालाको चाउरी हेरेका हुन् वा गलाको गाँड हेरेका हुन् उसलाई सुइँकै हुँदैन। यस्तै कोही चुइयाँ-मपाईं हुन्छन् जो पेट मार्नु नै आफ्नो पुरुषार्थ सम्झन्छन्, कोही फुइयाँ-मपाईं हुन्छन्, घर बन्दकी राखी पार्टी जमाउँछन्। यस्तै कोही हुन्छन टपर्टुइयाँ-मपाईं, उनीहरुलाई एकै थोकमा मात्रै मपाईंत्व प्रदर्शित गरेर हुँदैन। चढ्नेमा रिक्सादेखि रकेटसम्म, पढ्नेमा पिनासको कथादेखि प्याराडाइज लस्टसम्म, चिन।नेमा चोरदेखि चर्चिलसम्म, किन्नेमा रिबनदेखि रेडियोसम्म इत्यादि सबैतिर उत्तिकै महत्ता प्रदर्शन गर्नु टपर्टुइयाँ-मपाईंको मूलभूत विशेषता हो। मपाईं त छँदै छन्, अझ त्यस्ताको मपाईं रमाइलो हुन्छ, जसलाई कसैले झुक्किएर पनि तपाईं भनिदिंदैन। बिचराहरु आफ्नो महत्ता देखाउन टोपीको चुच्चोदेखि जुत्ताको टुप्पोसम्म झिलिक्क पार्दै दिनदिनभर पूल सडक चक्कर मार्छन्। सिउन लागेको सूचीकार देखे पनि, पिउन लागेको जँड्याहा देकेप पनि ‘हलो’ भन्दै हात मिलाउँछन्। एक-दुईवटा फिल्मी गीत गुनगुनाएर उसको ध्यान तान्न खोज्छन्। जब कसैले पनि वास्ता गरिदिँदैन, घरमा गएर स्वास्नीलाई हकार्छन्- “बुझिस्, मलाई दुनियाँले कत्रो सन्मान गर्छ, तर तैं जैरी मात्र मेरो महत्ता बुझ्दिनस् बाबै!” यस्ता पुङ न पुच्छरका मपाईंहरु जत्ति धेरै भए मपाईंलाई चाहिं उत्ति रमाइलो लाग्छ। किनभने भेट हुनासाथ “ओहो तपाईंजस्तो” भनिइपछि कमसेकम भोजन वा सिनेमाको निम्तो पाइहालिन्छ। कोही यस्ता अभागी पनि हुन्छन् ख्वाउँदा-प्याउँदा पनि प्रशंसा पाउँदैनन्। त्यस्ताको मपाईं यस्तरी बटारिन्छन् कि अर्थ न बर्थ धोक्रो फुलाएर तीन धोक्रो रिस मनमा कोची मनमनै आफ्नो प्रशंसा गर्न थाल्छन्। सबै तँजस्तै छुसी हुन् त!- भन्नुहोला तपाईंहरु, त अचेल तपाईं निम्ठो भए मपाईं झन् झुसी! नपत्याए तपाईं नै भन्नोस्, यो सिङ्गो लेख पनि एउटा मपाईंत्व-प्रदर्शन नै न हो? सिंहनाद भैरब अर्याल

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना