स्वप्नद्रष्टाको खाँचो : भीम उपाध्याय

लेखक भीम उपाध्याय, महानिर्देशक स्थानीय पूर्वाधार बिकास तथा कृषिसडक बिभाग

विकासको दौडमा पछि परेको मुलुक अनेक दुर्घटनावाट गुज्रिरहन्छ । नेपाल अहिले यही चपेटामा छ । नेपाल त्यति सानो र श्रोत–साधनविहिन तुक्ष मुलुक होइन । नेपालीको वौद्धिक क्षमताको स्तर पनि रामै्र हो । संसांरका करिव दुइसय मुलुकभध्ये जनसंख्याको हिसावले वयालिसौै ठूलो र क्षेत्रफलमा बयानब्वेऔंै स्थानमा पर्छौ । करिव १५० मुलुक त हामी भन्दा तल छन् । प्राकृतिक श्रोतको पनि कमि छैन । वैदेशिक सहयोग पनि पर्याप्त आइरहेको हो । अनि कहा रह्यो त समस्या? परिकल्पना, अठोट, दृढनिश्चयीपना, आशावादिता, प्रतिवद्धता, प्रभावकारी समन्वय र साहसिक कार्यान्वयन व्यवस्थाको नितान्त कमि नै हाम्रो समस्या हुन् । वाहिरी भौतिक चरित्रका नभई यी आन्तरित चारित्रिक व्यक्तित्वका समस्या हुन् । जिम्मेवारी सम्हाल्ने उचित र योग्य मान्छेको चयन गर्ने क्षमता विकसित हुन सकेन ।

‘म फ्रान्स रुचाउदिन, तर मेरो यो मातृभूभिलाई औधी माया गर्छु’ फ्रान्सेली दार्शनिक भोल्टेयरले भन्थे । मुलुकलाई माया गर्नेहरुलाई मात्र आलोचना गर्ने हक हुन्छ । यथार्थमा राष्ट्र्प्रेमी भनेका स्वतन्त्र र निडर भएर आलोचना गर्न आँट्नेहरु नै हुन् । तर, रजगज त यहा अवधारणा केन्द्रित अनावश्यक वादविवादमा सिमित हुने र समस्या समाधानका लागि जुक्ति विकसित गर्र्न दिमागमा जोड नहाल्ने पण्डितहरुको छ । त्यस्तालाई इगिंत गर्दै आधुनिक चीनका महान नेता देंग जिसिआवोे पेंगको प्रतिकृया हुन्थ्योे, ‘मुसा मार्दासम्म विरालो कालो होस् वा सेतो केही फरक पर्दैन ।’ चौपायाले रंग चिन्दैन, चौपायाले झैे मुलुकका लागि राम्रो नराम्रो चिन्न किन छाड्यौ? अन्धाले सपना देख्दैन, अन्धोले झै सपना देख्न किन असमर्थ भयौ?

विंगस् अफ फायर आत्मकथा पुस्तकमा युवाहरुलाई सदा प्रोत्साहित गर्दै स्वप्न देख्न उत्साहित गर्न इन्जिनियर वैज्ञानिक भारतका पूर्वराष्ट्रपति एपिजे अव्दुल कलामले लेखेका छन्, ‘तुक्ष लक्ष्य राख्नु अपराध हो । दृष्टिमा अस्पष्टता र सही निर्देशनको कमी अहिलेको नयाँपुस्ताको प्रमुख समस्या हो । आफ्नो प्रगतिलाई जाँच गर्ने कार्य अति कठिन छ । जीवनको परिक्षामा प्रश्नपत्र पनि आफै तयार पार्र्नु पर्छ, उत्तर पनि आफै लेख्नु पर्छ र उत्तरको परिक्षण र मुल्यांकन पनि स्वयं गर्नु पर्छ ।’
प्रविधिमा पछि परेका मुलुक परतन्त्रतातर्फ मात्र धकेलिन्छ । टेक्नोलोजीसम्पन्न राष्ट्रले मात्र स्वतन्त्रता र संप्रभुत्ताको आनन्द लिन समर्थ हुन्छ । उदाहरणका लागि, भारत क्षेत्रीय महाशक्ति हुनाको कारण नै औद्योगिकरण र प्रविधिले लैश भएर हो । करिव करिव एकैसमयमा भारत र नेपाल प्रजातान्त्रिक व्यवस्थामा पाइला हालेका हुन् । उसको आर्थिक वृद्धिदर ९ प्रतिशत भन्दा वढी भइसक्यो हाम्रो ३ प्रतिशतको वरिपरि छ । आयातित हैन, आफ्नै खालको ग्रामीण विकासको नया परिकल्पना साथ भारत सरकारले पनि भिजन २०२० तर्जुमा गरिसकेकोे छ । त्यहा हजारौ वैज्ञानिक, इन्जिनियर र विचारक स्वप्नद्रष्टा एवं कर्मयोगीको योगदानले समृद्धिको चुचुरो चुम्न अहिले त्यो मुलुक तीव्रवेगमा लम्किरहको छ ।

डा होमी जहागिर भाभा र प्रा विक्रम साराभाई जस्ता वैज्ञानिकहरुले परमाणु उर्जामा आधारित उच्चप्रविधि विकासको नेतृत्व लिएर आआफ्ना क्षेत्रमा भारतलाई अघि वढाए । सधै भुखमरीवाट पिडित कृषिमा आश्रित तत्कालिन भारतलाई विश्वको खाद्य भण्डारक ठूलो मुलुकमा रुपान्तरण गर्ने कार्यमा कृषिविज्ञ डा एम एस स्वामीनाथनले हरित क्रान्तिको अगुवाई गरे । उनले आफ्नो मातृभूमिलाई विश्वखाद्य भण्डारणमा अग्रणी राष्ट्र्को स्थानमा उभ्याइ छाडे । दुग्ध उत्पादन उद्योगमा गुणात्मक फड्को मारेर स्वेत क्रान्ति ल्याउन डा भर्गिस कुरियनले सहकारिताको आन्दोलनलाई पूर्ण सफलतासहित अवतरण गराए । प्रतिरक्षा सवल नभएको र सामरिकरुपले असुरक्षित मुलुक राष्ट्रको रुपमा धेरैदिन टिक्न सक्दैन, ताकतले मात्र ताकतको आदर गर्छ भन्ने व्यवहारिक दर्शनमा आधारित भएर अन्तराष्ट्र्रिय विरोध र व्यवधानवाट अविचलित रही अव्दुल कलामले आत्मनिर्भर प्रतिरक्षा क्षमतामा गुणात्मक फड्को ल्याई विश्व मानचित्रमा भारतलाई आणविक एवं क्षेप्यास्त्र शक्तिसम्पन्न राष्ट्र्को दर्जा दिलाउन विश्व समुदायलाई वाध्य पारे ।

वालवालिकाको एउटा भेलाको भाषण पछि एक जना दशवर्षे वालिकाले डा अव्दुल कलामसंग अटोग्राफ भराइ मागिन । तिम्र्रो महत्वाकांक्षा के छ ? डा कलामले सोधे । ‘म विकसित भारतको नागरिकको रुपमा वाच्न चाहन्छु’, तत्क्षण तिनले जवाफ दिइन् । यस्तै चाहना राख्ने लाखौलाख देशवासीलाई समर्पित गर्दै भारतलाई सन् २०२० मा विश्वको गरिवीमुक्त पाँच विकासित राष्ट्र्मा ल्याइ पुर्याउने परिकल्पनायुक्त इण्डिया २०२०ः अ भिजन फर द न्यु मिलेनियम पुस्तक प्रकासित गरे । वालवालिकाको सृजनशीलतावाट प्रभावित भएर तिनलाई समर्पित गर्दै डा कलामले इग्नाइटेड माइन्ड किताव पनि लेखेका छन् । ‘धरति माथिको आकासभित्र र सागरमुनि छोपिएको कुनै पनि संसाधन भन्दा प्रज्वलित युवा मस्तिष्कको संसाधन कही वढी शक्तिशाली हुन्छ ।’, त्यसमा उल्लेख छ । विकसित नेपालको नागरिक भएर वाच्न नचाहने नेपाली पनि को होला र ? तर, परिश्रम पनि गर्नु पर्यो नि ।
तीन दशक अघिसम्म हामी जस्तो आर्थिक अवस्थाको मलेशिया आज आधुनिक विकसित अर्थ व्यवस्थाको चोटामा पुगेको छ । पेशाले चिकित्सक डा महाथिर मोहम्मदको नेतृत्वदायी स्पष्ट परिकल्पनाशक्ति र कार्यसम्पादनलाई यसको श्रेय जान्छ । उनले आर्थिक, सामाजिक, राजनीतिक, आध्यात्मिक, सांस्कृतिक तथा मनोवैज्ञानिक लगायतका सवै क्षेत्रमा विकासित राष्ट्रमा पुर्याउने गरी रणनीतिक नीति निर्धारण गरेर समयपूर्व नै सफलताकासाथ कार्यान्वयन गर्दै लगे ।
चीनले आफ्नो विकासको परिकल्पनामा विज्ञान तथा टेक्नोलोजीलाई मुख्य उत्पादक शक्ति मान्योे । आधुनिक चीनका स्वप्नद्रष्टा देंग सिआवो पेंगको परिकल्पनाको लक्ष लिए, समय सुहाउदो विज्ञान एवं प्रद्योगिकीद्धारा राष्ट्र्रको सम्पूर्ण शक्ति र क्षमतालाई वढाउने, जनताको रहन सहनको स्तरलाई माथि उठाउने, ठूलास्तरमा गरिएका ओद्योगिक तथा कृषि उत्पादनवाट सृजित समस्याहरुको हल खोज्दै जाने, जनसंख्याको वृद्धिवाट संसाधन र पर्यावरणमा पर्ने दवावको प्रभावमा नियन्त्रण पाउने । ठोस दृष्टि राखेर कार्य गर्नाले नै आज चीन विश्वको तीव्रतम आर्थिक विकास गर्ने मुलुक भएको छ ।
साठीको दशकतिर जापानी उत्पादनको गुणस्तर विश्वमा घटिया मानिन्थ्यो । जापानले त्यसताका पश्चिमवाट टेक्नोजोलोजी आयात गर्दथ्यो । प्राकृतिक साधनको नाममा उसंग केहीपनि थिएन र अहिले पनि छैन । दोश्रो विश्वयुद्धमा अपमानजनक रुपले तहसनहस भएको जापान आज आफ्नो परिकल्पना र मेहेनतवाट विश्वको सवैभन्दा शक्तिशाली देशमा परिणत भएकोे छ । तीन दशक अघिसम्म दक्षिण कोरियालाई विकासको आस मरेको असंभव राष्ट्र् भनिन्थ्योे । । त्यो राष्ट्र्र अहिले दुनियाको अग्रणी देशमा गन्ती हुन्छ । स्टील, पनडुव्वी, कार र इलेक्ट्रोनिक्स क्षेत्रका लागि प्राकृतिक श्रोतसाधन र सामथ्र्यताहीन मुलुक मानिए वावजुद उसको यसै क्षेत्रको उन्नति चमत्कारिक छ ।

सयकडौै वर्षसम्म मुलुकविहिन अवस्थामा भौतारिनुु परेको कठिन परिस्थितीविच सन् १९४८ मा यहुदीहरुको नया राष्ट्र्रकोरुपमा मध्यपूर्वको मरुभूमिमा इजरायलको जन्म भयोे । राष्ट्र्रविहीनतावाट मुक्ति पाएकोमा तिनीहरु औधी खुशी एवं हर्षित हुने नै भए । मरुभूमिमा पानी र खाद्यान्नको व्यवस्था गर्नु तत्कालिन अवस्थामा कम दूरुह कार्य थिएन । त्यसमाथि चारैतिर शत्रु राष्ट्र्हरुवाट घेरिएको मुलुकलाई आफ्नोे सुरक्षा व्यवस्था गर्नु थप चूनौतिपूर्ण तथा अहम कार्य थियो, अद्यापि छ । परिकल्पना र अठोटपूर्ण कार्यान्वयनवाट कृषि तथा एग्रीफूड सम्वन्धि टेक्नोलोजी विकासको दृष्टिमा अहिले उ विश्वको सर्वोच्च एवं विकसित मुलुक वनेको छ । सैनिक, आर्थिक र टेक्नोलोजी क्षेत्रमा यस देशको हासिल गर्न सकेको श्रेष्ठता उसको उच्चस्तरको परिकल्पनाशक्तिको अथक प्रयास तथा अठोटको प्रतिफल हो ।

भारतका पूर्वराष्ट्र्पति डा एपिजे अव्दुल कलामले आफ्नो पदको सपथग्रहणको अवसरमा दिनु भएकोे पहिलो मार्मिक संवोधन भाषणको सानो अंश हाम्रो मुलुकलाई पनि त्यत्तिकै सान्दर्भिक छ, “…रोगमुक्ति, सम्पन्नता, उच्च उत्पादकत्व, सद्भावनापूर्ण जीवन र मजबूत रक्षा व्यवस्था कुनै पनि राष्ट्रका लागि महत्वपूर्ण तत्व हुनुपर्दछ । विकासको विभिन्न चरणमा जव वालक आफ्नो मातापिताद्धारा पोषित हुन्छ तव उ एक जिम्मेवार नागरिकको रुपमा वदलिन्छ । शिक्षक जव ज्ञान र अनुभवले समृद्ध हुन्छ तव मानवीय मूल्ययुक्त युवा मनुष्यले आकार लिन्छ । कुनै व्यक्ति वा समुह जव प्रविधिले सम्पन्न हुन्छ तव अधिक उपलव्धीमुलक संभावनातर्फ रुपान्तरण सुनिश्चित हुन्छ । कुनै संगठनका नेता जव आफ्ना सहयोगीलाई शक्ति प्रदान गर्छ तव नेताहरुको जन्म हुन्छ, जसले देशको विविध क्षेत्रमा परिवर्तन ल्याउन सक्दछ । महिलाहरु जव शक्तिसम्पन्न पारिन्छन् तव समाजमा स्थिरता सुनिश्चित हुन्छ । देशका राजनेता दूरदर्शी नीतिद्धारा जव जनतालाई सशक्त वनाउछन तव देशको समृद्धि सुनिश्चित हुन्छ । विकसित देशमा रुपान्तरण गर्ने माध्यम ज्ञानको तागतको साथसाथै विभिन्न स्तरमा शक्ति प्रदान गर्नु हो । हामीसंग एक मूलभूत मानसिक संरचना हुनु पर्छ । मानसिक संरचनाको अर्थ हो, सुस्पष्ट उद्देश्य, लक्ष्यको गांभीर्यता र मनमष्तिस्कको पवित्रता ।…”

आजको जटिल तथा प्रतियोगी विश्व परिवेशमा त्यही देश टिक्छ जो ज्ञान र योग्यता आधारमा निरन्तर समयसापेक्ष प्रविधिको उपयोगको माध्यमवाट प्रगति हासिल गर्ने योग्यता राख्छ । पुरानो मक्किएको प्रशासनिक तथा कानूनी प्रणालीवाट स्वतन्त्र नभएसम्म चौतर्फी विकासका लागि अनुकूल प्रणाली र वातावरण स्थापित हुन सक्दैन । सुधारकोे पट्यारलाग्दो आशैमा मात्र ग्रामीण गरिवहरु त्यसै सयौ वर्षसम्म पर्खेर धैर्य गर्न सक्दैनन् । निर्धनको जीवनस्तर सुधार्र्न आफ्ना सुख सुविधालाई त्याग गर्न तयार हुने वैज्ञानिक तथा विशेषज्ञहरु अगाडि आउनै पर्छ । प्रशासनमा सकृय योगदान गरेर विद्यमान पत्रु प्रभावहीन प्रकृयागत कार्यप्रणालीमा आमूल सुधार ल्याउने अधिकारीहरुले आंट गर्न थाल्नैपर्छ । यस्ता कार्यमा दिलोज्यानले सहयोग पुर्याउने चाहना भएका नेताहरुको खोजी गरेर वैज्ञानिक एवं विशेषज्ञहरु, प्रशासनका अधिकारीहरु र राजनेताको समन्वयात्मक संयोजन झन आवश्यक छ । यस्तो कार्यपद्दतिले मात्र उन्नतिको वाटोमा आइलाग्ने कठीन भन्दा कठिन कार्य पनि सहज तुल्याउन सक्छ ।
विगतलाई कोसेर कर्तव्य निर्वाह हुदैन । आंट गरेर योग्य साहसीहरु अघि सर्नुु नै उन्नतिकोे सही वाटो हो, यही सही सुत्र हो ।

 

सम्बन्धित समाचार

1 Comment for “स्वप्नद्रष्टाको खाँचो : भीम उपाध्याय”

  1. bp Badal

    ठिक हो सर !! भिजन भएका करिस्मटिक नेता नभए पछि येस्तै हो शंघियता को बिसयमा पनि नया बहस येसरी चलाउने हो कि सर !!!???!!! जनता र सिंह दरबारको बिच्मा अर्को दरबार मन्य हुँदैन !!

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो