एमाओवादीः आन्तरिक व्यवस्थापनको चुनौती

गोविन्द आचार्य –
गत संविधानसभा निर्वाचनमा सवैभन्दा ठूलो दल बनेको एकीकृत नेकपा(माओवादी) आउँदो चुनावमा कुन स्थानमा पुग्ला भन्ने बहस र अडकलवाजीहरु विभिन्नढंगले भइरहेका छन् । यस्तोबेला एमाओवादी केन्द्रीय समितिको बैठकमा समेत यसवारे पर्याप्त छलफल भएको छ । भदौ ११ गतेदेखि सुरु भएको बैठकमा लगातार ३ दिनसम्म देशका २४० वटै निर्वाचन क्षेत्रमा १ महिने अभियान संचालन गरेर आएका केन्द्रीय सदस्य र सल्लाहकारहरुले निर्वाचन क्षेत्रका वास्तविकतावारे रिपोर्ट प्रस्तुत गरेका थिए । वैठकमा १ महिने अभियानको समीक्षा भएको छ, आगामी चुनाव परिणामको संभावित अवस्थाको आंकलन गरिएको छ । चुनावी उम्मेदवारसहित चुनावी अभियान सुरु गर्नु अघि एकपटक फेरि आम जनतासम्म पुगेर उत्साह थप्ने एवम् पार्टीको आन्तरिक पंङ्तिलाई सुदृढ गराउने उद्देश्यले संगठन सुदृढीकरण र जनपरिचालनको नयाँ अभियान तय गरिएको छ । यो वैठकवाट पार्टीको चुनावी घोषणापत्र, उम्मेदवार छनौटका आधार तय गर्ने तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेलगायतका काम पनि भएको छ ।
देशभित्रका सबै शक्ति र अन्तराष्ट्रिय समुदायले समेत अत्यन्तै चासोपूर्वक हेरिरहेको यो बैठक धेरै अर्थमा महत्वको छ । विरोधीहरुले एमाओवादीमा फूट ल्याउने उद्देश्यले गरिरहेका कतिपय कसरतलाई पनि वैठकले गतिलै जवाफ दिएको छ । अहिले पार्टीका तमाम नेता, कार्यकर्ता र शुभचिन्तक पार्टी एकढिक्का बनोस्, संस्थागत होस् र गुटबन्दी जरा जरासम्म अन्त्य होस् भन्ने माग गरिरहेका छन् । यसअघि पार्टीको माथिदेखि तलसम्मको पङ्ति पार्टीको कार्यादिशा कस्तो बनाउने भन्ने लामो बहसमा अल्झियो । त्यसवेला विचार समूह र गुट, उपगुटको जन्म भयो । अहिले भने पार्टीको एउटै विचार छ, विचारको विषयमा कुनै बहससम्म छैन । यस्तो वेला पार्टीका कुनै पनि केन्द्रीय नेता गुटबन्दी अन्त्यका लागि लाग्नु जरुरी हुन्छ । अव गुट होइन पार्टी बनाउने हो । पार्टीलाई सस्थागतढंगले नचलाईकन न त चुनाव जित्न संभव हुनेछ न त पार्टी कार्यदिशा र कार्यनीतिको कार्यान्वयन ।
गत हेटौडा महाधिवेशनमा सर्वसम्मतरुपमा पार्टीको नयाँ कार्यदिशा पारित गरेको एमाओवादीले सोही कार्यदिशा अनुरुपको संगठन निर्माणमा ढिलाई गर्दा बीचमा पार्टीको गतिमा केही सुस्तता आएको थियो । साउन पहिलो साताको विस्तारित वैठकले पार्टीको कार्यदिशा नयाँ तर संगठनात्मक संरचना पुरानै कायम भएकाले समस्या आएको महशुष गर्दै यसको समाधानका लागि संविधानसभा लगत्तै विशेष संगठनात्मक सम्मेलन गरेर पार्टीका संगठनात्मक समस्या समाधानको विधि तय गर्ने निर्णय गरेको थियो । संगठनात्मक सम्मेलनमा संगठन सम्वन्धी छुट्टै दस्तावेज नै पेश गरेर नयाँ संगठनात्मक कार्यदिशा पारित गर्ने र त्यसवाट सबै गाठाहरु प्mुक्ने अपेक्षा गरिएको छ । हाललाई अध्यक्ष प्रचण्डलाई मात्रै पदाधिकारीमा कायम राखी अन्य सबै नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएर केन्द्रिकृतढंगले परिचालन हुने निर्णय भएको थियो । विस्तारित बैठकपछि पार्टी नेताहरु गाविस तहसम्म पुगेर आएका छन् । केन्द्रदेखि राज्य, जिल्ला, निर्वाचन क्षेत्र र गाविससम्म पार्टीको स्पष्ट चित्र सबै सामु आएकै छ । प्रमुख समस्या पनि पहिचान भएका छन् ।
एमाओवादीका लागि अहिले सबैभन्दा ठूलो चुनौति आन्तरिक व्यवस्थापनकै भएको छ । तल्लो तहसम्मका सबै आन्तरिक समस्या यथावत राखेर निर्वाचन जित्न सम्भव हुँदैन । यसवेला तत्काल समाधान नगरी नहुने समस्या समाधान गर्ने र पार्टीको आन्तरिक एकतालाई अझै मजबुद बनाउने चुनौति सबै नेता, कार्यकर्ताको काधमा छ । पार्टीको आन्तरिक पंतिलाई एकतावद्ध बनाएर उचित जिम्मेवारी दिन र सही ढंगले परिचालन गर्न सक्दा एमाओवादीका लागि धेरै ठूलो अवसर र संभावना छ । पार्टीको आन्तरिक समस्या समाधान गर्दा बाह्य शक्तिले एमाओवादीलाई हराउन पनि सक्ने छैन । तर आन्तरिक पंतिको उचित व्यवस्थापन गर्न सकेन, त्यहाँभित्र विवाद र असन्तुष्टी बढ्यो भने ठूलै धक्का व्यहोर्नुपर्ने अवस्था पनि आउन सक्नेछ । एमाओवादीले आन्तरिक समस्या समाधान गरेर चुनावमा जाँदा र समस्याहरु कायमै राखेर जाँदा आकाश जमिनकै फरक हुने अवस्था छ । यसप्रति एमाओवादीको प्रमुख नेतृत्व गम्भीर बन्नै पर्छ ।
कम्युनिष्ट पार्टीको सदस्य हुनु भनेको आफ्नै स्वार्थका लागि लड्नु होइन । सर्वहारा वर्गको मुक्तिका लागि आफू गोरु झैं जोतिन र आवश्यक पर्दा वलिदानका लागि छाती थाप्न तयार हुनेहरु मात्रै सच्चा कम्युनिष्ट बन्न सक्छन् । नेतृत्वले आफू वा आफ्नो पूर्व गुटगत मानसिकतालाई केन्द्रित बनाएर सोच्यो, आफ्नो नाफा र घाटाको हिसाव गर्न थाल्यो र कार्यकर्ताको काधमा चढेर स्वार्थ पूरा गर्ने सपना मात्र देख्यो भने त्यस्तो नेतृत्ववाट क्रान्तिको कार्यभार पूरा गर्न संभव हुने छैन । नेतृत्व आफै समस्या बन्ने होइन, समाधान बन्नु पर्छ । अहिले पार्टीको नयाँ कार्यदिशा र कार्यनीतिका पक्षमा पार्टीको नेतृत्वदेखि कार्यकर्ता र समर्थकसम्म एकमत रहेको तथा अध्यक्ष प्रचण्डको नेतृत्व वरीपरी सबै नेता र कार्यकर्ता गोलबन्द भएर विरोधीहरु विरुद्ध जाइलाग्नु पर्ने अवस्थामा कुनै पनि प्राविधिक मुद्धा उचालेर पार्टीलाई हानी पुर्याउने काममा पार्टीभित्रका कोही पनि लाग्छन् भने त्यो सैह्य हुन सक्ने छैन ।
पार्टीको आन्तरिक व्यवस्थापन ठीक ढंगले गर्न सक्दा अहिले पनि एकीकृत माओवादी नै नेपाली जनताको आशा र भरोशाको केन्द्र हो । जनताले गत संविधानसभा निर्वाचनमा एकीकृत माओवादीलाई सबैभन्दा ठूलो दल बनाएकै हुन् । आम जनताले माओवादीलाई निर्वाचनवाट सबैभन्दा ठूलो दल बनाउनुको अर्थ हो यसले अघि सारेको कार्यदिशाको अनुमोदन । आज जनतामा माओवादी नेताहरु पनि हिजोका संसदीय नेताहरु जस्तै त बन्ने होइनन भन्ने चिन्ता त छ तर जनता माओवादी वाहेक अरुले परिवर्तनका एजेण्डा संस्थागत गर्न सक्दैनन भन्ने राम्रैसँग बुझेका छन् । आम जनताको यो चिन्तालाई सहीढंगले संवोधन गर्दै परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी एमाओवादी नेतृत्वकै काधमा छ ।
गत संविधानसभा र सरकारमा रहँदा विरोधीहरुले काम गर्न नदिएकै कारण एमाओवादीले चाहे जसरी अघि बढ्न सकेन भन्ने कुरा जनताले बुझिसकेकै छन् । कांग्रेस र एमालेले ०६२÷०६३ सालको जनआन्दोलनमा व्यक्त नया“ चेतनालाई आत्मसात् गर्न नसकेकै कारण अहिले देशले नयाँ संविधान पाउन सकेन भन्ने कुरा जनतालाई जानकारी छ । जनताको संघीय गणतन्त्र सस्थागत गर्ने आन्दोलन एकीकृत माओवादीको अगुवाईमा अघि बढ्नु पर्दछ भन्ने जनचाहना हो । यस स्थितिमा पार्टी पङ्ति एकतावद्ध भएर अग्रगमनको पक्षमा रहेका सबै शक्तिहरुलाई गोलबन्द बनाउँदै प्राप्त उपलब्धिको रक्षा र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने बाटोमा निरन्तर अघि बढ्नु जरुरी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक, यी हुन् ‘बागी उम्मेदवार’(सूचीसहित)

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएको पदमा भोलि मतदान हुने (तालिकासहित)

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन