डलरको मारमा नेपाल

जीएस क्षेत्री- 

विश्व मुद्रा बजारमा यतिखेर अमेरिकी डलर बलियो हुँदै आएको छ । सन् २००८ को विश्व आर्थिक मन्दीपछि क्रमैसँग कमजोर हुँदै आएको अमेरिकी अर्थतन्त्र पछिल्लो समयमा त्यहाँ चालिएको आर्थिक सुधारका कार्यक्रमहरूपछि पुनः वृद्धिको बाटोतर्फ फर्कन थालेपछि डलर बलियो भएको हो । अमेरिकी डलर बलियो भएपछि त्यसको विनिमयमा विश्वका प्रमुख मुद्राहरू चीनको युआन, जापानको येन, ब्रिटिस पाउन्ड, भारतीय रुपैयाँलगायत सबै खस्केका छन् । सबैभन्दा ठूलो प्रभाव भारतमा परेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा खस्कँदै गएपछि त्यहाँ लगानी गरेका विदेशी र गैरआवासीय भारतीयहरूले आफ्नो सम्पत्ति (इक्विटी) फिर्ता लिन थालेका छन् । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनियय नखस्कियोस् भनेर मनमोहन सिंहको सरकार, उनका अर्थमन्त्री पी. चिदम्बरम, त्यहाँको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियाले लगातार प्रयास गरिरहेको भए पनि अहिले खासै सुधार हुन सकेको छैन । एक अमेरिकी डलरको तुलनामा भारुको विनिमयदर ७० रुपैयाँको हाराहारीमा पुग्न लागेको छ ।
अमेरिकी डलरको तुलनामा भारुमा भएको ह्रासले नेपाली अर्थतन्त्रमा पनि सोझै प्रभाव पारिरहेको छ । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनियमदर (पेग्ड) गरिएको छ । एक भारतीय रुपैयाँबराबर १६० नेपाली रुपैयाँको विनिमयदर वर्षौंदेखि स्थिर अवस्थामा रहँदै आएको छ । यो स्थिर विनिमयदरका कारण अमेरिकी डलरको तुलनामा भारु कमजोर भए नेपाली मुद्रा पनि कमजोर हुन्छ, भारु बलियो भए नेरु पनि बलियो हुन्छ । अहिले भारु कमजोर भएकाले प्रति अमेरिकी डलरमा नेरुको खरिद दर १०५ रुपैयाँ पुगेको छ । वर्तमान खुल्लाबजार विनिमयदर अनुसार वाणिज्य बैंकहरू आफैले खरिद तथा बिक्रीदर तोक्न पाउँछन । नेपाल विदेशी विनिमय बजार एसोसियसन (फरेक्स एसोसियसन)ले भारुमा भइरहेको तलमाथि हेरेर दर तर्जुम ागर्ने गरेको छ भने साँझ सोही संघको तथ्यांकका आधारमा नेपाल राष्ट्र बैंकले आफ्नो बैंकिङ प्रयोजनका लागि विनियमदर तोक्ने गर्छ ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाललाई फाइदाभन्दा बढी घाटा हुन्छ ।
फाइदाहरू
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपालको निर्यातले बढी फाइदा पाउँछ । विश्वका कतिपय मुलुकहरूले जानीजानी आफ्नो मुद्रालाई डलरको तुलनामा कमजोर बनाएका पाइन्छ । पहिला यो क्रम दक्षिण कोरियाले सुरु गरेकोमा हालैका वर्षहरूमा चीनले आफ्नो मुद्रा युआन (रेम्बिनी)लाई समेत कमजोर बनाइ विश्व बजारबाट फाइदा उठायो । अमेरिकाले त चीनमाथि मुद्रा तोडमोड गरेको आरोप नै लगायो, तर पनि चीनले आफ्नो निर्णयमा सच्याएन । अझ अमेरिकी मुद्रा कमजोर भएको बखत उसले अमेरिकी ऋणपत्र नै किन्ने नीति लिइदियो । त्यस्तै जापानमा सिन्झो आबे प्रधानमन्त्री निर्वाचित भएर आएपछि उनले पनि आफ्नो मुद्रालाई अमेरिकी डलरको तुलनामा कमजोर बनाएर देशको निर्यात व्यापारलाई उकास्ने नीति लिए, यसको परिणाम अहिले जापानी अर्थतन्त्र पुन ट्रयाकमा फर्किसकेको छ । यदि नेपालले आफ्नो निर्यात व्यापारलाई टेवा दिन सक्ने हो भने हामीले पनि अमेरिकी डलरको तुलनामा नेरु कमजोर हुँदा फाइदा उठाउन सक्छौं ।
नेरु कमजोर हुँदा नेपालले सबैभन्दा बढी लाभ कमाउने भनेको रेमिट्यान्सबाट हो । हाल नेपालमा वार्षिक ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको रेमिट्यान्स आइरहेको छ । मलेसिया, साउदी अरब, दुबई, दक्षिण कोरिया जहाँ गएर नेपालीहरूले कमाइरहे पनि त्यो रकम बैंकिङ च्यानलबाट पठाउँदा नेपालमा आइपुग्ने डलरमै हो र त्यसको भुक्तानी नेपाली रुपैयाँमा हुन्छ । यसरी रेमिट्यान्स पाउने परिवारहरूले बढी रकम भुक्तानी पाउँछन ।
यसैगरी नेपाल आउने पर्यटकहरूले बढी खर्च गर्नुपर्ने हुँदा नेरु कमजोर हुँदा नेपालले लाभ कमाउँछ । पर्यटकहरूले यहाँ बसोबास र खानपिनमा मात्र खर्च गर्दैनन्, उपहारका रूपमा नेपाली हस्तकलाका वस्तु पनि आफ्नो देशमा लैजान्छन्, त्यसबाट देशले लाभ कमाउँछ ।
घाटाहरू
डलरका तुलनामा नेपाली मुद्रा कमजोर हुँदा कमाउने लाभका तुलनामा घाटा बढी छ । सबैभन्दा ठूलो घाटा हो, आयात व्यापारमा बढी भुक्तानी । नेपाल आयातमुखी अर्थतन्त्र भएको देश हो । निर्यातको तुलनामा आयात असाध्य धेरै हुदा नेपालको व्यापार घाटा सवा ५ खर्बभन्दा बढी नाघिसकेको छ । नेरु कमजोर हुँदा व्यापार घाटा अझ फराकिलो भएर अर्थतन्त्र भडखालोमा पर्ने सम्भावना हुन्छ ।
अर्को घाटाको पक्ष हो, नेपालले बाह्य जगतलाई तिर्नुपर्ने ऋणको साँवा र ब्याज । देशको आन्तरिक स्रोत र साधनले नपुगेर हरेक वर्ष विदेशीहरूबाट ऋण सहयोग लिनु परिरहेको हुन्छ । हाल एक जना नेपालीको थाप्लोमा जन्मनेवित्तीकै १९ हजार रुपैयाँ ऋण छ । यसरी लिइएको ऋणको साँवा र ब्याज भुक्तानीका लागि बढी रकम छुट्ट्याउनु पर्ने हुन्छ ।
यसैगरी नेपालमा औद्योगिक वस्तुहरू महँगा हुन पुग्छन्, किनभने यहाँका अधिकांश उद्योगहरू विदेशी कच्चापदार्थमा आधारित छन्, महँगोमा कच्चा पदार्थ ल्याएपछि त्यसको उत्पादन लागत पनि बढी हुने नै भयो । आयातमै बढी तिरेको र उत्पादन लागतसमेत महँगो भएपछि नेपालमा वस्तुहरू महँगो भइ श्रमजीवी वर्ग महँगीको मारमा पर्ने छन् । भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडालगायत सामान अबको दिनमा महँगा हुनेछन् भने खासाबाट आउने सस्ता सामानको मुल्यमा पनि डलरले असर पार्नेछ ।
यसका साथै पढ्न र अन्य विभिन्न प्रयोजनका लागि विदेश जाने नेपालीहरूले बढी खर्च गर्नुपर्ने, अमेरिकी डलरमा खरिद सम्झौता (पीपीए) भएका आयोजनाहरूका कारण नेपाल विद्युत् प्राधिकरणको खर्च बढ्ने, पेट्रोलियम पदार्थ महँगो हुन गई नेपाल आयाल निगमको घाटा अकासिने छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज