बंगलादेशको ग्रामीण पूर्वाधार बिकासमा स्थानीय सरकार इन्जिनियरिंग विभाग एलजीइडी को सफलताको रहस्य

भीम उपाध्याय, महानिर्देशक, स्थानीय पूर्वाधार विकास तथा कृषिसडक बिभाग –

सरकारी सस्थाहरुले पनि कहीं प्रभावकारीढंगमा कार्यसंपादन गर्न सक्छन ? सायद नेपालमा कसैले पत्याउदैनन् , तर नेपाल जस्तै विकासशिल देश वंगलादेशमा ग्रामीण भौतिक पूर्वाधार विकास कार्य निरन्तर सफलतापूर्वक र प्रभावकारीढंगमा कार्यान्वयन गरी देखाउन सफल त्यहां एल जि इ डि नामले परिचित एउटा सरकारी  स्थानीय सरकार इन्जिनियरिंग विभाग छ । ग्रामीण विकास मन्त्रालयको एउटा सानो शाखाकोरुपमा कार्य आरम्भ गरेर १९९२ देखि मात्र विभागको हैशियतमा रुपान्तरित यस विभागको प्रभावकारितावाट आकर्षित भई विगत केही वर्ष देखि वंगलादेशलाई सहयोग गर्न इच्छुक दातृसंस्थाहरुका चाहना अनुरुप अधिकतर ग्रामीण विकास परियोजनाहरु अहिले यस विभागमार्फत संचालन हुने व्यवस्था गरिएका छन् । आफ्नै विभाग अन्तर्गत विनियोजित करिव १ खर्ब (वंगलादेशी मुद्रा) टाका र अन्य विभाग मन्त्रालयहरुमार्फत प्रवाहित करिव २५ अर्व टाका गरी कूल १२५ अर्व टाका (नेरु २ खर्व भन्दा वढी, १ टाका वरवार नेरु १.५० हुन्छ) लागतका पूर्वाधार विकास कार्यक्रमहरुको कार्यवोझ यस विभागले वहन गर्ने गरेको छ । वाषीर्क औशत २० अर्व टाका ( नेरु ३० अर्व) को वजेट खपत गर्ने यस विभागले हाल देशभरी कार्यरत करिव १० हजार प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्दछ । हरेक प्राविधिक तथा प्रविधिले सुविधायुक्त अत्याधुनिक ११ तले ढाका स्थित यस विभागको केन्द्रीय कार्यालय रहेका ३ गगनचुम्मी भवनहरु र देशका विभिन्न जिल्लास्थित आफ्नै अति व्यवस्थित कार्यालयहरुवाट ग्रामीणपूर्वाधार विकासका कार्यक्रमहरुको संचालन एवं व्यवस्थापन हुने गर्दछ ।

जहिले पनि सरकारी संयन्त्रलाई मात्र दोष दिइरहने नेपालका तिनै विदेशी दातृसंस्थाहरु त्यहां भने यस विभागको कार्यशैलीको प्रशंसा गरी कहिल्यै थाक्दैनन् । विश्व वैक, एशियाली विकास वैक, सिडा, स्वीस सहयोग नियोग, केएफढव्लु, इयू, एसएनभी, जिटिजेड, डेनिडा, जाइका, सउदी फण्ड, यूएसएड, ओपेक, इफाड जस्ता द्धीपक्षीय तथा वहुपक्षीय वैदेशिक दातृसंस्थाहरु यस विभागसंग सहकार्य गर्न पाउनु पर्ने शर्तमा मात्र सहयोग गर्न राजीहुन्छन् । अविकसित राष्ट्र्रमा पनि यसरी एउटा सार्वजनिक क्षेत्रका निकायले प्रभावकारी कार्य संपादन गर्न सक्नाका कारण र रहस्य पत्ता लगाउने उद्देश्यवाट विभिन्न विदेशी मूल्यांकनकर्ताहरुले स्वतन्त्र मूल्याकंन गरेका छन् । आफ्नो उद्देश्यमा एलजिइडिे सफल हुन सकेको रहस्यलाई यसरी शुत्रवद्द गर्ने गरेको पाइन्छ ।

१ विकेन्द्रीकरणः मुलुकभरीका ६४ जिल्ला र ४६० थाना (इलाका)मा स्थापित यस विभागका आफ्नै कार्यालयहरुवाटै स्थानीय स्तरमा कार्य संपादन गर्ने व्यवस्था मिलाई विकेन्दीकरण गरिएको छ । ९० प्रतिशत कर्मचारीहरु स्थानीयतहमा नियमित उपस्थित भई कार्यरत हुन्छन् ।
२ व्यावशायिकताः पेशागतरुपमा शिक्षित, दक्ष, अनुभवी, उपयुक्त तालिमप्राप्त जनशक्ति सहितको यस विभागका कर्मचारीहरुलाई निरन्तर नियमित, नवीन र उपयोगी विषयका तालिम प्रदान गरी दक्षताको अभिवृद्दि गराउने गरिन्छ । देशका १३ स्थानमा स्थापना भएका सुव्यवस्थित केन्द्रहरुवाट नियमित ४० भन्दा वढी इन्जिनियरिंग र व्यवस्थापन विषयका तालिम कार्यक्रमका वार्षिक तीस हजार दिनका कोर्षहरु संचालित हुन्छन् ।

३ सामूहिक कार्यशैली – यस विभागका कर्मचारी हुनुमा वंगलादेशका मानिस आफूलाई गौरवान्वित ठान्दछन् । सुस्पष्ट लक्ष्य यकिनका साथ कार्य गर्न थालनी गर्ने संस्कार स्थापित भएवाट कर्मचारीहरुमा सहकार्यको भावना व्याप्त रहेको पाइन्छ । अपनत्वपना, सुस्पष्ट ध्येय, सहयोगी भावना, एकअर्कालाई आदर र स्नेह एवं जिम्मेवारीवोधको अनुभूति जस्ता सामाजिक पूँजीको विकास हुन सक्नुलाई एलजिइडि संगठनको मूल विशेषता मान्नु पर्दछ ।

४ परिश्रमी संस्कारः विभागका माथिल्ला तहका व्यवस्थापकहरुमा रहेको कडा परिश्रम गर्ने संस्कार तल्ला कर्मचारीहरुलाई सधै अनुकरणीय भएका पाइन्छन् । वेलुका अवेर सम्म काममा लागीपर्ने कार्यप्रेमी लगनशिलता यहाको दिनचर्या नै हो ।संगठनमा रहेको यही संस्कारवाट प्रभावित दातृसंस्था र अन्य विभाग एवं मन्त्रालयहरुले समेत आफ्ना कार्यक्रमहरु समेत यस विभागमार्फत कार्यान्वयन चाहना राख्नाले यस विभागको कार्यवोझ निरन्तर वढ्ने गरेको छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्रोत्साहन दिने र उच्च अध्ययन भ्रमण गर्न अवसर उपलव्ध गराउने स्पष्ट आधार र अनुगमन तथा मुल्यांकन प्रणाली यहां स्थापित गरिएको छ ।

५ अनौपचारिक निर्णय प्रकृयाः कार्य संचालनमा आई पर्ने समस्यालाई औेपचारिक झन्झटिलो प्रकृया भन्दा सकभर अनौपचारिक तवरवाटनै समाधान गर्ने परम्पराले गर्दा कार्य संपादनमा दक्षता र प्रभावकारीता रहेको पाइन्छ । टेलिफोन, फ्याक्स, इमेल, सेलफोन, अनलाइन वेबसाइट सम्पर्कको माध्यमवाट अधिकतम समस्या सुल्झाउने चलन रहेको छ । माथिल्ला अधिकृतहरुसंग निरन्तर सिधा सम्पर्कमा रहिरहनु पर्ने नियम लागू गरिएकोले कर्मचारीको कार्यस्थलमा अनुपस्थित हुने गुन्जायसलाई यसले निमिट्यान्न पारेको छ ।

६ अनुगमन प्रणालीः कम्प्युटर जालोको उपयोगवाट यस विभाग अन्तर्गत संचालित सवै आयोजनाहरुमा एकनासको व्यवस्थापन सूचना प्रणाली स्थापना गरिएकोले अनुगमन तथा सूचना प्रणाली प्रभावशाली एवं दिगो रहेको पाइन्छ । विभागको केन्द्रीय कार्यालय भित्र अत्याधुनिक भौगोलिक सूचना प्रणाली कक्ष पनि रहेको छ । विभिन्न अध्ययनका प्रतिवेदनहरुको नियमित प्रकाशन तथा वितरण गर्नुका साथै अधिकांश राष्ट्र्यि एवं अन्तराष्ट्र्यि स्तरका गोष्ठी तथा सेमिनारहरु पनि आफ्नै भवनका अडिटोरियममा संचालन गर्नका लागि आवश्यक पर्ने भौतिक तथा यान्त्रिक पूर्वाधारहरु यस विभागसंग उपलव्ध छन् । तल्लापिच्छे वनेका ठूल्ठूला वैठक कक्षहरुमा नियमित कार्यक्रमहरु आयोजना भई नै रहेका हुन्छन् । संगठनको सम्पूर्ण कृयाकलाप र सूचनालाई पारदर्शी प्रवाह गर्नका लागि यस विभागको जिआइएस इकाईेले आफ्नै प्राविधिक व्यवस्थापनमा वेभसाइट संचालन गर्ने गर्दछ ।

७ निरन्तर सवल नेतृत्वः मातहतका कर्मचारीहरुलाई निरन्तररुपमा प्रोत्साहन तथा उत्प्रेरणा प्रदान गर्न सक्षम यस विभागका नेतृत्वदायी प्रतिवद्द संस्थापक चिफ इन्जिनियर श्री कामरुल इस्लाम सिद्दिकिको सवल र सक्षम नेतृत्ववाट नै यस्तो प्रभावशाली संस्था स्थापित हुन संभव भएको हो भन्नेमा वंगलादेशका पूर्वाधार विकाससंग सम्वन्धितहरु सवै पक्षमा एकमत पाइन्छ । नियोजितढंगमा भविष्यमा नेतृत्व सम्हाल्न योग्य थुप्रै प्राविधिज्ञहरुको पुस्ता विकसित भईसकेको अवस्थाले यस विभागको भविष्य अझ सुनिश्चित, उज्ज्वल र दरिलो हुदै गएको पाइन्छ ।
८मिशनको भावनाः कर्मचारीहरुमा आफ्नो संस्थाको मिशन भाव र अनुभूतिको स्पष्टताले प्रत्येक कर्मचारी सदस्यमा मैले केही ठोस तथा उपयोगी कार्य गर्दैछु भन्ने वोध रहेको देखिन्छ ।

९ वाह्य सम्वन्ध सुव्यवस्थापनः आफु अन्तर्गतका कार्यक्रमका अतिरिक्त अन्य मन्त्रालयका प्रशस्त कार्यक्रमहरु पनि यस विभागवाट संचालन गर्न गराउन सुम्पिइने गरिने हुनाले अन्य विभाग, निकाय र दातृसंस्थाका प्रतिनिधिहरुसंगको सोहाद्र्रपूर्ण सम्वन्धले गर्दा पनि यस विभागप्रति सरोकारवालाहरु सवैको सहानभूति तथा सहयोग रहेको पाइएको छ । वाह्य पक्षसंगको सम्वन्ध सुव्यवस्थापन कौशल प्रदर्शनवाट यस विभागका निरन्तर प्रतिष्ठा अभिवृद्धि भैरहेको छ ।
१० सुनिश्चित कार्यसंपादन संयन्त्रः आफ्नो जिम्माको कुनै पनि सानो भन्दा सानो कार्य पनि सफलतापूर्वक गम्भिरताकासाथ फत्ते गर्ने सुनिश्चित संयन्त्र निर्माण गर्नुका साथै संगठनको सीप र कार्यकुशलताको सुप्रदर्शनको कारणवाट नै वंगलादेशको गरिवी निवारणमा यस विभागको योगदानलाई उच्च मुल्यांकन गरिएको पाइन्छ ।

पंक्तिकारले १९९८ मा जापानको भ्रमण गर्ने एक अवसर पाएको थियो । जापान कस्तो र कसरी विकसित भयो होला भन्ने वारे निकै कौतुहलता थियो। त्यहाको उन्नती देखेर अचम्भित नहुने कोही हुदैन । जापानीहरुको कार्य शैली र व्यवस्थापनको स्तरमा पुग्ने हामी विकासशिल राष्ट्र्ले कहिल्यै सपना नदेखे हुन्छ भन्ने लाग्यो । एक वर्ष पछि लगत्तै वंगलादेशको एलजिइडि नामले परिचित इन्जिनियरिंग विभागको भ्रमण गर्ने आर्को एउटा मौका मिल्यो । व्यवस्थापन सम्वन्धी विषयमा वंगलादेशमा अवलोकन गर्ने खास कुनै पक्ष होला जस्तो नलागेको हुनाले मनमा कुनै कौतुहलता थिएन । अत्याधुनिक सुविधा र साधनले सम्पन्न दक्ष र प्रतिवद्ध जनशक्तिद्धारा व्यवस्थित वंगलादेशको यस विभागको संचालन एवं व्यवस्थापन कार्यशैली जापानमा भन्दा कुनै कमि रहेको नदेख्दा भने आश्चर्य लाग्यो । नेपाल जस्तै गरिव र अविकशित एउटा राष्ट्र् वंगलादेशले ग्रामीण जनतालाई पुर्याउने पूर्वाधार विकासका सेवामा त्यस प्रकारको प्रभावकारीता आउन सक्ने तर त्यस्तै एउटा गरिव राष्ट्र्र नेपाल भने जहिले पनि रसातलमा भास्सिदै मात्र जाने किन भयो होला ? यस अवलोकन भ्रमण पछि वंगलादेशको त्यो विभागजस्तै व्यवस्थापन र संगठन प्रणाली नेपालमा स्थापित गर्ने हो भने हाम्रो मुलुकलाई पनि जापानीे स्तरमा पुर्याउन असंभव हुनेछैन भन्ने आश जागेको थियो ।

बंगलादेशको भ्रमणबाट फर्किएको १ वर्षभित्रै बिस २०५५ भदौमा नेपालमा पनि त्यहा जस्तै इन्जिनियरिंग बिभाग डोलिडार स्थापना हुन गयो । यो बिभाग खडा भएको १५ वर्षमा यसले धेरै आरोहअवरोह पार गरेको छ । भीजनलाइ गन्तब्यमा पुर्याउन संस्था महत्वपूर्ण श्रोत हो । संस्था बिग्रियो भने भीजन भताभु्रंग हुन्छ ।
वंगलादेशको यो अनुपम विभागको कार्यशैलीवाट नेपालीले सिक्ने अनगिन्ती पाठहरु छन् । ग्रामीण भौतिक पूर्वाधार विकाससंग सम्वन्धित डोलिडार नामको विभाग अघि सर्न जरुरी छ जसले वंगलादेशको एलजिइडि जस्तो स्थान नेपालमा लिनसकोस् । व्यवस्थापनसिप, कौशल, समर्पण, प्रतिवद्दता र संस्थागत पूँजीजविना जतिसुकै जस्तोसुकै साधन, श्रोत उपलव्ध गराइए पनि र जति राम्रो ऐन, नियम, कानून, निर्देशिका वा नीति तर्जुमा भए पनि त्यसको कुनै अर्थ रहन्न । यही नै मूल पाठ हो नेपालले वंगलादेशको एलजिइडिवाट सिक्ने ।

सम्बन्धित समाचार

2 Comments for “बंगलादेशको ग्रामीण पूर्वाधार बिकासमा स्थानीय सरकार इन्जिनियरिंग विभाग एलजीइडी को सफलताको रहस्य”

  1. Kali Bahadur Shahi

    हामी ले पनि यस बाट केहि पाठ सिक्नु जरुरि छ / भिम सर लाइ धेरै धेरै बधाई ……..

  2. Desh...sambriddha

    देश को विकास मा सबै एञ्जिनॆरिङ्ग फ्याकल्टी को उत्तिकै योगदान हुन्छ … हाम्रो देश मा एङ्गिनॆर वनेको सिविल मात्र हो…येहा इलेक्ट्रोनिक्स कम्प्युटर र मेकानिकल को खासै व्यालु नै छैन … सरकार को एस बीसाया मा ध्यान जायोस छिटै ….

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए