एकमहिने अभियानको ताजा सन्देश

खिमलाल देवकोटा-
संविधानसभाको निर्वाचन २०७० को तयारी तथा जनसम्बन्ध सुदृढीकरण अभियानको सन्दर्भ त्यतिबेला उठ्यो जतिबेला एमाओवादीले आफ्नो ऐतिहासिक हेटौंडा महाधिवेशनले बाँकी राखेको कार्यभार खास गरी संगठनात्मक संरचनाको पूर्ति गर्ने कार्यभारको प्रस्ताव पारित हुन सकेन पार्टीभित्र पदका लागि मरिहत्ते गर्ने प्रवृत्तिहरु देखिए सो मेसोमा पार्टी उपाध्यक्ष्य बाबुराम भट्टराईले पद त्याग गर्नुभयो अध्यक्ष प्रचण्डले एकल नेतृत्वमा पार्टीलाई आगामी निर्वाचनमा झोक्ने कार्यक्रमसहितको प्रतिवेदन विस्तारित बैठकमा पेश गर्नुभयो र बाँकी पदाधिकारी उपाध्यक्ष र महासचिवले पनि राजीनामा दिनुभएको थियो । एक हप्ता अगाडि पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिन्थ्यो एक हप्ता पछि विस्तारित बैठकमा सबै पदबाट मुक्त हुने बरु जनता जगाउन अभियानमा जाने प्रस्तावलाई गड्गडाहट तालीका बीचबाट पारित गरिएको थियो । २४० वटै निर्वाचन क्षेत्रमा सबै केन्द्रीय सदस्यहरु खटिंदा निकै उत्साहका साथ र साँचै पार्टी निर्माण गर्ने धेयका साथ कार्य क्षेत्रका खटिएका थिए एकाधबाहेक कसैले पनि आफ्नो कार्यक्षेत्रका बारेमा गुनासो गरेका थिएनन् उच्च मनोबल र उच्च उत्साहका साथ आरम्भ भएको यो अभियान आफैंमा ऐतिहासिक त छँदै थियो जसरी पनि सफल बनाउने मिसन पनि आफ्नैमा थियो त्यसैले यसको विशिष्ठता र ऐतिहासिकता पुष्टि गर्दै यसको समापन भएको छ । त्यसै अभियानको समीक्षा गर्न यो आलेखको उद्देश्य रहेको छ ।

अभियान निर्धारणको आधार पार्टी केही बिग्रिएको निष्कर्षः
माओवादी पार्टी युद्धबाट आएको थियो परिवर्तनका एजेण्डाको वाहक पार्टी जसले साठी वर्षदेखि थाती रहेको संविधानसभाको निर्वाचनलाई सम्भव तुल्याएको थियो अढाई सय वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त गरी गणतन्त्रलाई पनि सम्भव तुल्याएको थियो भने नेपाली समाजका समस्याका रुपमा रहेका वर्गीय, जातीय, क्षेत्रीय लैङ्गिक समस्याको समाधान गर्न अग्रगामी पुनर्संरचनाको माध्यमबाट सुशासनसहितको संघीयताको नारा पनि उसैले स्थापित गरेको थियो । उसले अधिकार र विश्वास दुवै एकसाथ दिने वाचा गरेको थियो । संविधानसभामार्फत पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधानको नारासहितको नयाँ संविधानमार्फत जनताको अधिकारको कुरा र सरकार सञ्चालनमार्फत जनताको विकासलगायतका आधारभूत आवश्यकता र विकासका अपेक्षा पूरा गर्न खोजेको थियो जनताको अपेक्षा पनि ठूलो थियो तर दुर्भाग्यवश नै भनौं संविधानसभाबाट पहिचानविरोधीहरुका कारणले बनेको संविधान पनि जारी हुन सकेन दुई–दुई पटक सरकारको नेतृत्व गर्दा पनि बजेट ल्याउन नदिएका कारणले विकासको अपेक्षा पूरा गर्न सम्भव भएन यसले जनतामा पूरै निराशा थियो । जनतामा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने आहानले घर गरेको थियो ठीक यही अवस्थामा पार्टीभित्रको गुटबन्दी फुटकै अवस्थामा पुगेर वैद्य माओवादी संविधानसभा र गणतन्त्र नै बेकार भन्ने सन्देश दिन तल्लीन थियो भने निर्वाचित प्रतिनिधि वा पार्टीका जिम्मेवार नेताहरु पनि जनताका घरदैलोमा पुग्ने अवस्था थिएन, यसबाट जनता पूरै बेवारिसे जस्ता बनेका र विरोधीहरुले दिएको भ्रम सत्यजस्तै लागेको थियो । यही निष्कर्षका आधारमा हामीले विगतमा गरेका राम्रा र नराम्रा दुवै कामको समीक्षा पनि गर्ने जनतालाई बताउने अनि हामी बिग्रिएकोमा माफी पनि माग्ने तर जति बिग्रिएको भए पनि सच्चिन नसक्ने गरी बिग्रिएको हैन र अरु हामीभन्दा वढी बिग्रिएका छन् । जस्तोसुकै भए पनि, कुटे पनि आमै जाति पोले पनि, घामै जाति भनेझै ग¥यो भने एमाओवादीले नै गर्छ भन्ने जनताको आशालाई जगाउनका लागि मात्रै यो अभियान सञ्चालन गर्न जरुरी ठानिएको थियो ।

मिसन आधारित अभियानको लक्ष
जनतासँंगको सम्बन्ध सुदृढ गर्ने यसको प्रमृुख लक्ष्य थियो जनता, पार्टी नेता र कार्यकर्ताबीचको सम्बन्ध ६३ बन्न पर्नेमा ३६ को जस्तो बनेकोलाई सुधार्न र सच्याउनकै लागि नयाँ अभियान सञ्चालन भएको थियो । यसले जनताका मनमा रहेका भ्रम आशंका आक्रोशलाई राम्ररी सुन्ने आवश्यक पर्दा सच्चाउने, माफी माग्नेलगायतका काम कारवाही गर्ने भनिएको थियो र जनताको आदश जे पनि मान्ने विरोधीको भ्रममा नपर्ने एमाओवादीले यसलाई यो अभियानमार्फत सत्य साविक गर्न र जनतालाई पनि सोही पद्धति अँगाल्न आग्रह गर्ने कुरा थियो यो मिसनमा पार्टी सफल भएको छ । यसका साथै पार्टी कमिटीहरु अस्तव्यस्त थिए योजनाविहीन थिए । कार्यक्रम थिएनन् स्थानीय तहको तथ्य तथ्यांकबाट बेखबर जस्तै थिए पूरै उदासिनता छाउलाजस्तो पनि थियो । यी सबैको कुलयोग जनताका चरम निराशा थियो यो निराशाले देश र जनताको मुक्ति त सम्भव नै थिएन राजनीतिक निकासको कुरा पनि सम्भव थिएन नयाँ संविधान जनयुद्धका उपलव्धिको संस्थागत गर्ने कुरा त धेरै परका कुरा हुने गर्दथे वैद्य संस्कृतिले त जनतालाई विद्रोहमा हैन पलायन र फुट, कुण्ठा र आत्मसमर्पण हुँदै आत्महत्याको बाटोमा लैजानेवाला थियो, यसबाट बचाउन पनि अभियान सञ्चालन गर्न जरुरी थियो यो अभियानबाट जनतालाई पूरै उत्साहित बनाउन सफल भएको छ । एमाओवादी आफ्नो यो अभियानमा पूरै सफल रहँदै अबको विकल्प एमाओवादीबाहेक अर्को छैन भन्ने कुरा स्थानीय तहमा र जनताको तहमा स्थापित गर्न सफल भएको छ ।

अभियानबाट सिक्नपर्ने महत्वपूर्ण पाठहरु
जनता आक्रोशित थिए लामो समयसम्म जनताका समक्ष पार्टी नजाँदा पार्टीकरण भएका जनता पनि राजनीतिकरण भएका जनता पनि आम जनतामा परिणत भएका थिए । योजनाविहीन पार्टी पार्टीका रुपमा हैन भत्केको पाटीका रुपमा परिणत भएका थिए । नेता र कार्यकर्ताहरु फगत नेता र हास्यको र व्यंग्यको पात्र बनेका थिए । यस्तो अवस्थामा पार्टीले यो अभियान सञ्चालन नगर्दो हो भने शायद पार्टी निकै ठूलो विग्रह र विघटनको अवस्थाबाट पनि गुज्रने खतरा उत्पन्न भइसकेको थियो । बेलैमा र ठीक बेलामा यो अभियान सञ्चालन गर्ने यो कार्यले एमाओवादी फेरि एकपटक जनताको मनमा बस्न सफल भएको छ यो सफलतालाई फेरि पुँजीकृत गर्न सकिएन भने अर्को अवसर आउला कि नआएला यसै भन्न सकिन्न ।

जनताको मनभित्रका कुरा
हामी भन्छौ जनता कसैका हुँदैनन् उनीहरु साझा हुन्छन अर्थात उनीहरु आफ्नो स्वार्थमा बरालिन्छन् तर कार्यक्षेत्रको अनुभवले यसलाई गलत सावित गरिदियो जनता एकपटक माओवादी बनिसकेपछि माओवादीमा भोट हालिसकेपछि केन्द्रका नेताजस्तो पिपलपाते हुन जाँदो रहेनछ । निकै आक्रोशका साथ आफ्ना अभिव्यक्ति राखिसकेपछि अन्तमा निर्दोष भाषामा भन्ने गरे हामी माओवादी दशवर्षको युद्ध लडयो गणतन्त्र ल्यायौं, संघीयता पनि ल्यायौ, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय पनि स्थपित गरायौं वर्ग, जाति क्षेत्र लिङ्ग र समुदायको अधिकार स्थापित गर्ने पनि हामीले प्रण ग¥यौं । त्यही आधारमा एमाओवादीलाई सबैभन्दा ठूलो पार्टी पनि बनायौं तर आज हाम्रा अपेक्षा पूरा नहुँदै अर्को पाटी मेरै गाउँमा ठूलो बनेर आयो भने मेरा हालत के हुन्छ मैले र हामीले कुन मुख लाएर त्यो गाउँमा बस्ने हो त्यसकारण हामी कहीं गएका छैनौ हामी एमाओवादीमै छौं, फेरि पनि हामी एमाओवादीलाई नै ठूलो पार्टी बनाउछौं, बरु हामीलाई सुत्र चाहियो भन्ने भने तरिका चाहियो भन्ने हो त्यसकारण अब हामीले यो चिज पाएका छौं हामीलाई पुगेको छ अब हामी गाउँमा जनताको घर दैलोमा जान्छौ र यही कुरा बताएर आफ्नो स्थान फेरि पनि सुरक्षित गर्छौं भन्ने कुरा गरेका थिए ।

अरु पार्टीहरुका कुरा
अभियानले पेरिसडाँडामा बसेर मात्रै र आफै घेराबाट लिएको रिपोर्टका आधारमा गर्ने विश्लेषण र जनताका घरदैलोमा जिम्मेवार नेताहरुको टिम नै पठाएर ल्याउने रिपोर्टका आधारमा बन्ने योजना र सोको विश्लेषण स्वाभाविक रुपमा फरक पर्ने नै भयो । यहाँबाट हेर्दा वैद्य माओवादीका बारेमा जति हाउगुजी थियो त्यो अन्त भएको छ जनताको तहमा विभाजनको कुजै असर छैन जनता विभाजनको विरुद्धमा छने विभाजनकारीका विरुद्धमा पनि छन् । यसको असर केन्द्रका नेता र केन्द्रउन्मुख राज्यसमिति सदस्यहरुसम्म छ त्यो पनि जाँगर नलागी नलागी मात्रै झन पछिल्लो चरमा त्यही रगत र पसिना बगाएर प्राप्त संविधानसभा र गणतन्त्रका विरुद्धमा दिएका अभिव्यक्ति र गणतन्त्रभन्दा राष्ट्रियता प्रधान राष्ट्रियताका रक्षक ज्ञानेन्द्र र पूर्वपञ्चहरु वैद्य माओवादीको निष्कर्षले सबैलाई झस्काएको छ । यसैगरी एमाले र कांग्रेसको हालत पनि निर्वाचनबाट आफ्नो पुरानो साखः पनि जोगाउन नसक्ने भएका कारणले बरु चुनाव टार्न वेश भन्ने मानसिकताले एमाले–कांग्रेस सम्बद्ध जनताले पनि विकल्प खोज्न आरम्भ गरेको र भरपर्दो शक्तिका रुपमा एमाओवादी नै देख्न थालेका आभासहरु प्रसस्तै देखिए त्यसकारण यो अभियानका सन्दर्भमा प्राप्त उपलब्धिलाई पार्टीले सस्थागत गर्न जरुरी भएको छ ।

आफैका लागि शिक्षा
केही समययता एमाओवादी यद्धबाट शान्तिको कार्यदिशामा आएपछि पनि आफ्नो संगठनात्मक संरचना भने बदल्न सकेको छैन । हेटांैडा महाधिवेशनबाट पारित नयाँ कार्यदिशाअनुसार त झन संगठनमा आमूल परिवर्तननै गर्नुपर्ने थियो । यो पटक पनि संगठन परम्परागत ढंगले नै लैजान खोज्दा पहिलो पटक संगठनात्मक प्रस्तावले असफलता भोग्न प¥यो फेरि पनि गम्भीरताका साथ पाठ सिकिएन भने आइपर्ने दुर्घटनालाई रोक्न सकिने छैन ।
टिके केन्द्रीय सदस्य, टिके पदाधिकारी हाम्रो पार्टीको महारोग नै हो, जसले योग्यता क्षमतालाई ध्याद दिनै सक्दैन एककीरणको योग्यता अर्को महारोग भएको छ के कारणले केन्द्रीय सदस्यभन्दा एकीकरणको समझदारी हाम्रो पार्टीको सिद्धान्त बनेको छ, जसले फेरि पनि निरन्तरता पाउने हो भने पार्टीले नराम्रै धक्का खाने छ भन्ने कुरा यतिबेलाको अभियानका बखत राम्ररी भोगिएको हुनपर्छ केन्द्रीय सदस्य आफै पनि कति खरो त्रिन सक्छु पार्टीको सो हैसियत कायम गर्न सक्छु वा सक्दिन सके वा सकिन भन्ने हेक्का पनि राम्री भएको हुन पर्छ मैले हैसियत कायम गर्न सकिन भन्ने लागेका भए इमान्दारीताकासाथ मेरो हैसियत केन्द्रमा हैन जिल्लामा रहेछ म भन्दा काविल कमरेडहरु जिल्लामा हुनुहुदो रहेछ भन्ने वातवारण पनि यस पटकको अभियानले सिर्जना गरेकोछ । भने पार्टीका बढे बढे नेताहरुका पनि मूल्यांकन गर्ने अवसर कनिष्ट केन्द्रीय सदस्यहरुले पाएका छन् जनताको मनमा बढे नेताहरु कसरी बसेको रहेछन् वा उनका प्रतिको विश्वास कति रहेछ भन्ने पनि राम्ररी पहिचान भएको छ । त्यसकारण जनताको यो अडिटका आधारमा र आफ्नै यो अडिटका समेत आधारमा भावी संगठनात्मक संरचना बनाउनका लागि यो अभियानले राम्रो पाठ सिकाएको छ ।

केही नकारात्मक पाठ पनि छन्
पार्टी नेता र कार्यकताको ध्यान कमाउधन्दामा कतिपय गैरकानुनी काम कारबाहीमा र तस्करीमा समेत पनि लागेको र सो वापत पार्टीले संरक्षण गरे वा नगरेको कारणले कसैको नजिक र प्यारो कसैको टाढा हुने गरेका घटना पनि देखापरे । यस्ता घटना कम्युनिष्ट आन्दोलनकै लागि घातक हुन्छन् त्यसैले नकारात्मक घटनालाई पार्टीको अनुशासनको कारबाहीका रुपमा लिने अवसर पनि पार्टीलाई यो अभियानको माध्यमबाट प्राप्त भएको छ । यो प्रवृत्तिलाई पार्टीले ढिला नगरीकन कुनै हिसाबकिताब पनि नगरीकन र ढिला पनि नगरीकन निर्मम भएर नै सच्याउन जरुरी छ ।

निष्कर्ष
पार्टीले ढिलै भए पनि राम्रो अभियानको चयन गरयो पार्टीले कमसेकम अव मनोगत नहुने कुरा कम्युनिष्ट पार्टी जनताको पार्टीकोे रुपमा स्थापित गर्नका लागि जनताको नजरमा लोकप्रिय नेताको छनोट गर्ने कुरा पनि यसबाट पाठ सिकाएको छ भने जनता र पार्टीको सम्बन्ध माछापानीको हुनुपर्ने सार्वभौम मान्यतालाई पुनपुष्टि गरेको छ । विचारको अनुकूलको संगठन र सो अनुकूलको कार्यशैलीमा सामान्जस्यता आएन भने विघटनको अर्को परिघटना खोज्नै पर्दैन भन्ने जाने मानेको युक्ति यतिबेला स्पष्ट भएको छ । पार्टी राज्यको सम्पूर्ण कार्यभार सम्हाल्ने स्थानमा आइपुगेको छ । सिङ्गै मुलुक जिम्मा लिने हैसियत बोकेको पार्टी झिनामसिना र प्राविधिक पक्षमा अल्झिदा देश र जनताले दुःख पाएको कुरा त छँदैछ पार्टीले र नेताले पनि सुख पाउने अवस्था छैन । त्यसैले इतिहासले सुम्पेको जिम्मेवारीलाई गम्भीरताका साथ आत्मसात गर्दै सो अनुकूलको कार्यभार पूरा गर्ने कार्ययोजनासहितको नेतृत्व चयनमा पार्टीले विशेष ख्याल पुयाउन जरुरी भएको छ । इतिहासले ठेगान गरेको बखतमा कार्यभार निर्वाह गर्न सकिएन भने इतिहासले माफ दिने त छैनन् नै । यस्तो मौका फेरि पाउने पनि छैन । त्यसैले इतिहासले दिएको जिम्मेवारीलाई पटक–पटक आत्मसात गर्दै आएको र ऐतिहासिक चुनौतीलाई सामना गर्न सक्षम पार्टीका रुपमा रहेको एमाओवादी यस पटकको यो चुनौती सामना गर्न पनि सक्षम हुनेछ । जनताका चाहना पनि यही छ । खासगरी अभियानका सन्दर्भमा जनताले दिएको सन्देश यही हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना‚ यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

गजल

कालीगंगा सुसाउँदा

मुलुकका विभिन्न भागमा वर्षा-ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु