कास्कीमा जनसम्बन्ध अभियान – एक समिक्षा

मनहरि तिमिल्सिना – २०७० भाद्र ३ गते, पोखरा –
पार्टीको सातौं महाधिवेशनले रणनीति, कार्यदिशा र कार्यनीतिको क्षेत्रमा गुणात्मक उचाई हासिल गरेपनि त्यसको संगठनमा ठोस अभिव्यक्ति हुन नसक्दा देशभरि नै पार्टीका गतिविधि निष्कृय जस्तै थिए । एकातिर पार्टी विभाजनको संगठनात्मक प्रभाव खासै ठूलो नरहेपनि त्यसको मनोवैज्ञानिक प्रभाव, बेलाबखत गठन हुने तर परिचालित नहुने संगठन, नेता, कार्यकर्ताको शहरमा केन्द्रीकरण र गाउँमा रिक्तता, नेता, कार्यकर्ताप्रति जनतामा रहेको आशंका र अन्यौलको पृष्ठभूमिमा सम्पन्न पार्टीको विस्तारित बैठकले तात्कालीन रुपमा निर्वाचनमा केन्द्रित हुने निर्णयका साथ एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानको थालनीले नयाँ रक्तसंचार गरायो । त्यही रक्तसंचार बोकेर पार्टीका बरिष्ठ केन्द्रीय सदस्य क. जनार्दन शर्मा ‘प्रभाकर’ को नेतृत्वमा केन्द्रीय सदस्यहरु चित्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, चन्द्रबहादुर खड्का र केन्द्रीय सल्लाहकार बाबुलाल पुन अभियानको नेतृत्व गर्न श्रावण १३ गते कास्की आई पुग्नुभयो । यसले कास्कीका नेता, कार्यकर्तामा नयाँ उत्साह र प्रतिस्पर्धी दलहरुमा एक खालको राजनीतिक आतंक पैदा गयो ।
कास्कीमा ४ वटा निर्वाचन क्षेत्र रहेकोमा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले ३ सिटमा प्रत्यक्ष विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ ४ वटै निर्वाचन क्षेत्रमा निकै ठूलो अग्रता हासिल गरेको थियो । यसैगरि २०६५ मा सम्पन्न क्षेत्र नं. १ को उपनिर्वाचनमा पनि माओवादी नै विजयी बनेको थियो । हाल कास्की जिल्लाका चार वटै क्षेत्रमा मतदाताहरुको संख्या विगतमा भन्दा घटेको अवस्था छ । २०७० असार मसान्तसम्मको मतदाता तथ्याङ्क हेर्दा कास्कीको क्षेत्र नं. १ मा ५५,०३० जना, क्षेत्र नं. २ मा ४८,६५८ जना, क्षेत्र नं. ३ मा ४०,६९७ जना र क्षेत्र नं. ४ मा ५३,६६७ जना गरि कास्की जिल्लाभरि १,९८,०५२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । जसमा महिलाको संख्या पुरुषको भन्दा १० हजारले बढी छ । निर्वाचन आयोगले एक हप्ताको म्याद दिएकाले थप ३÷४ हजार मतदाता बढ्न सक्ने सम्भावना छ ।
जिल्लामा ४३ गाविस र २ नगरपालिका रहेका छन्, त्यसमध्ये पोखरा उपमहानगरपालिकामा १८ र लेखनाथ नगरपालिकामा १५ वडा रहेका छन् । एक महिने जनसम्बन्ध अभियान एकल र संयुक्त रुपमा सबै गाबिस र नगरका वडाहरुमा सम्पन्न गरियो । जिल्लाभरिमा अभियान अवधिभर २५० भन्दा बढी कार्यक्रमहरु सम्पन्न भए । क्षेत्र नं. १ मा सुकबहादुर रोका, २ मा जनार्दन शर्मा ‘प्रभाकर’, ३ मा चित्रबहादुर श्रेष्ठ, ४ मा चन्द्रबहादुर खड्का र बाबुलाल पुनले नेतृत्व गरेको अभियानले सबै पार्टी सदस्य र पार्टीका शुभेच्छुकसम्म आफ्नो अभियान संचालन ग¥यो । १३ गते अभियानको जानकारी र समसामयिक विषयमा सबै केन्द्रीय सदस्यहरुको सहभागितामा गण्डकी संचार गृहमा पत्रकार सम्मेलन गरियो । अभियानको तयारीको लागि श्रावण १४ गते अभियानका कमाण्डर, निर्वाचन क्षेत्रका संयोजक र जिल्ला कार्यालयका सदस्यहरुको बैठक बसी जिल्लाभरिको अभियानलाई एकरुपतामा संचालन गर्ने निर्णय गरियो । १५ गते राष्ट्रिय कार्यक्रम अन्तरगत पार्टीका संस्थापक तथा संरक्षक नरबहादुर कर्माचार्यको श्रद्धान्जली कार्यक्रम सम्पन्न गरियो । १६ गते पार्टीका जिल्लास्तरीय अगुवा कार्यकर्ताको संयुक्त प्रशिक्षण कार्यक्रम गरि अभियानको ठोस योजनाबारे जानकारी गरियो । १७ गते शहीद भीमदत्त पन्तको स्मृति सभाको आयोजना गरियो । यसैगरि १९ गते तमु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन सम्पन्न भयो । अभियानकै क्रममा श्रावण २३ गते एविसी टेलिभिजनले देश संकटमा छ, नीतिको अभावले कि नेताको ? भन्ने गम्भिर प्रकृतिको अन्तरक्रियाको आयोजना ग¥यो । कार्यक्रममा अध्यक्ष प्रचण्ड, लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौला, अधिकारकर्मी तथा प्राध्यापक डा. कृष्ण हाथेछुको उपस्थिति थियो । जिल्लाको अभियानको योजना नभए पनि एविसीको उक्त कार्यक्रमले पोखरा र पश्चिम क्षेत्रमा निकै सकारात्मक सन्देश प्रवाह ग¥यो । खासगरि अध्यक्षद्वारा व्यक्त विचार र विगतको निर्मम समिक्षा सबैका लागि निकै नयाँ, आशाप्रद र भविश्यप्रतिको विश्वासको प्रतिक सावित हुन पुग्यो । यसले कास्कीको अभियानमा सकारात्मक योगदान थियो । यसरी नै २३ गते वाइसिएलको जिल्ला स्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भयो । अध्यक्ष प्रचण्डको प्रशिक्षण र निर्देशनले नेता, कार्यकर्तामा नयाँ उत्साह थपियो ।

उक्त दिन विभिन्न पार्टी परित्याग गरि २५० भन्दा बढी युवा एकीकृत माओवादीमा प्रवेश गरे । २४ गते जिल्लामा क्रियाशील सबै जनवर्गीय संगठन र जातीय मोर्चाहरुको संयुक्त प्रशिक्षण भेलाको आयोजना गरि मोर्चा÷जवसहरुको अभियानात्मक कार्यक्रम निर्माण गरियो । यसैगरि २५ गते कास्कीका बुद्धिजीवी, प्राध्यापक, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसायी, संस्कृतिकर्मी, लेखक लगायतका बौद्धिक वर्गबीच संविधान सभाको दोस्रो निर्वाचन र क्रान्तिकारी बुद्धिजीवीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । २६ गते नेपाल राष्ट्रिय प्राध्यापक संगठनको तमुवान राज्य सम्मेलन सम्पन्न भयो । २७ गते मजदुरहरुको भव्य उपस्थितिमा अखिल नेपाल ट्रेड यूनियन महासंघ कास्कीको सम्मेलन सम्पन्न गरियो । यसरी नै भाद्र २ गते शहीद रामवृक्ष यादवको २० औं स्मृति सभा गरियो । यसका साथै निर्वाचन क्षेत्रका बैठक, बेपत्ता खोज सभा, गाउँ, नगर, वडा र टोल भेला र प्रशिक्षण, वाइसिएलका निर्वाचन क्षेत्रीय सम्मेलन, तमु मोर्चाको आयोजनामा अन्तरक्रिया, सुकुम्वासी बस्तीमा भेटघाट, भेला र प्रशिक्षण, शहीद स्मृति सभाहरु, बुद्धिजीवी भेला र पहिचान र संघीयता सम्बन्धि एक महिने गोष्ठीका दर्जनौं कार्यक्रम निर्धारण, उद्योगी व्यवसायीसँग अन्तरक्रिया, बनभोज, विद्यार्थी, महिला, दलित र किसानका कमिटीहरु निर्माण, सबै कमिटीहरुका बैठक लगायतका कार्यक्रमहरु गरिए । जिल्लामा रहेका कार्यालय प्रमुख र निर्वाचन अधिकृतसँग निर्वाचनको तयारीका बारेमा अन्तरक्रिया पनि गरियो । जिल्लामा एक दिनमा ५ देखि १७ वटासम्म महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भए । अभियान अवधिभर जिल्लामा विभिन्न पार्टी र सामाजिक क्षेत्रबाट १८०० भन्दा बढी व्यक्तित्वहरु एकीकृत माओवादीमा प्रवेश गरे । यसले कास्की जिल्लालाई नै नयाँ रुपले तरङ्गित बनायो ।
अभियानको प्रचारात्मक कार्य पनि कास्की जिल्लामा प्रभावकारी नै रह्यो । अभियानको थालनीको पत्रकार सम्मेलन, अध्यक्ष प्रचण्डको उपस्थिति र पत्रकार सम्मेलन प्रचारमा प्रभावकारी रहे । यसका साथै दैनिक रुपमा अभियानको प्रचारात्मक कार्यका निम्ति मनहरि तिमिल्सिनाको नेतृत्वमा मिडिया परिचालन कमिटी निर्माण गरि प्रचारको कामलाई व्यवस्थित गरियो । सबै ठाउँबाट आउने समाचारहरुलाई दैनिक रुपमा एउटै समाचारको रुपमा तयार पारि स्थानीय र राष्ट्रिय पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक संजालहरुमा सम्प्रेषण गरियो । एक महिना कास्कीका मिडियाहरुको अभियानको समाचारलाई अग्रपंक्तिमा सम्प्रेषण गरिरहे ।
अभियानको अन्तिममा सबै निर्वाचन क्षेत्रको समिक्षा कार्यक्रमको आयोजना गरियो । एक महिनाभरिको रिपोर्ट र स्थलगत अध्ययनका आधारमा बैठकमा प्रस्तुत विचार र निकालिएको निष्कर्षले कास्कीमा माओवादी आन्दोलन नै अग्रपंक्तिमा रहने निश्चित देखिएको छ । अभियानले कास्की जिल्लामा राजनीतिक प्रभावका दृष्टिले तरङ्ग नै ल्याइदियो । प्रतिस्पर्धी शक्तिहरुमा निर्वाचन जित्ने सपनामा आशंका जन्मिए, बौद्धिक वर्गमा माओवादी नै अग्रभागमा आउने बहसहरु सिर्जना भए । टोलदेखि चिया पसलसम्म माओवादीको अभियानको विभिन्न कोणबाट समिक्षा भयो । नेता, कार्यकर्तामा विगतमा एक प्रकारको निरासा र कुष्ठाभाव व्यक्त हुने गर्दथ्यो । वर्षौंदेखि निष्कृय रहेका नेता, कार्यकर्ताहरु अभियानमा निरन्तर क्रियाशील रहे । जनतामा माओवादी फेरि पनि क्रान्तिकै यात्रामा समर्पित छ भन्ने कुरा व्यवहारिक बोध गरायो । शहीद र बेपत्ता परिवारले आफ्ना पीडा, व्यथा राख्ने ठाउँ फेला पारे । नेताहरु गाउँ पुग्दा जनता हराएका अभिभावक भेटिएको जस्तो अनुभूति गर्दथे, यसले प्रष्टै देखाउथ्यो जनतामा माओवादीप्रति आशा छ, अनि निरासा र आक्रोश पनि ।
अभियानले जिल्लाभरि उत्साह थपेपनि केही समस्या र चूनौतिहरु पनि देखिए । समयको चापका कारण प्रत्येक गाबिस र वडाहरुमा एकल प्रकृतिका कार्यक्रम गर्न सम्भव देखिएन, गाउँस्तरमा एकल कार्यक्रमको आयोजना गर्न सकेको भए धेरै जनताको बीचमा पुग्न सकिन्थ्यो र त्यसको ठूलो राजनीतिक र संगठनात्मक प्रभाव रहन्थ्यो । चुनावको सम्मुखमा अभियान संचालन गरिएकाले जनतामा पार्टी चुनावका लागि मात्र जनताको घरदैलोमा आएको हो कि ? भन्ने आशंका पनि केही हदसम्म जन्मायो । कतिपय नेता, कार्यकर्ताले अभियानलाई समग्र वर्गको मुक्तिसँग जोडेर क्रियाशील हुनुभन्दा आफ्नो उम्मेदवारीको वातावरण तयार पार्ने र नेता रिझाउने अभ्यास पनि गरेको देखियो । निर्वाचन व्यक्तिले जित्ने, हार्ने मूख्य कुरा होइन, वर्गसंघर्षको विशिष्ट अवस्थाबाट क्रान्तिलाई नयाँ ढंगले विजयसम्म पु¥याउने हो भन्ने चेतनाको पूर्ण विकास हुन सकेन । नेताका वरिपरि घुम्ने तर आफ्नो कार्यक्षेत्रमा क्रियाशील नहुने समस्या पनि व्यक्त भयो । जनताले पार्टी सरकारमा गएर केही काम गर्न नसकेको, नेता, कार्यकर्ता विग्रिएको, क्रान्तिको सपना अध्यारो सुरुङभित्र हराएको, पार्टी एकता अनिवार्य भएको, संगठनात्मक नीति, विधि र अनुगमनको अवस्था मृतप्र्रायः भएको, आर्थिक, सांस्कृतिक अनुशासन नभएको र नियन्त्रणको विधि पनि नभएको, गुटबन्दीले पार्टी कमजोर भएको, गुटबन्दी गर्नेलाई कार्वाहीको ठोस विधि हुनुपर्ने, नेता, कार्यकर्ताले जनतालाई न्याय दिन नसकेको, नेताहरु शहर केन्द्रित भएको र गाउँलाई भुलेको, आगामी निर्वाचनमा इमान्दार, सक्षम र जनताप्रति समर्पित उम्मेदवार उठाउनुपर्ने, संगठन निर्माण गरेपनि त्यसको अधिकारको उचित बाँडफाँड र निरन्तर परिचालन नभएको जस्ता कैयौं प्रश्नहरु उठाएका थिए । यसले पार्टीले जनतामा सरकार र सत्ताको भेदबारे प्रष्ट गर्न नसकेको कुरालाई बोध गराउँदथ्यो भने पार्टीमा गम्भिर प्रकारको रुपान्तरण अभियान आवश्यक रहेको कुरा व्यक्त गर्दथ्यो ।
यसैगरि सुकुम्बासीहरुले सुकुम्बासीले आफु बसेकै स्थानबाट मतदान गर्न पाउनुपर्ने, त्यसका लागि पार्टी पार्टीले ठोस पहल गर्नुपर्ने, गरिब किसान, मजदुर, महिलाका समस्यालाई गम्भिरतापूर्वक लिनुपर्ने, पार्टीमा सामाजिक न्यायप्रतिको सामाजिक उत्तरदायित्व कमजोर भएको जस्ता प्रश्नहरु उठाएका थिए । अभियानको समिक्षाले माओवादीले कास्कीका ४ वटै क्षेत्र जित्नसक्ने निष्कर्ष निकालिएको छ । तर विजयका लागि केही चूनौतिहरुको सामना गर्नुपर्ने निष्कर्ष पनि पार्टीले निकालेको छ । त्यसका लागि सक्षम, इमान्दार र विजयको आधार भएको उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने, विगत अन्तरसंघर्षको प्रभावलाई पार्टीभित्र अन्त्य गर्नुपर्ने, महत्वकांक्षालाई निरुत्साहित गरि वर्ग आन्दोलनमा समर्पित गर्ने अभिभारालाई गम्भिरतापूर्वक लिनुपर्ने, उम्मेदवारको योग्यता र छनोटको ठोस विधि बनाउनुपर्ने, सुकुम्बासीलाई बसेकै स्थानबाट मतदान गर्न पहल लिनुपर्ने, सिङ्गो पार्टीलाई एकतावद्ध रुपमा निर्वाचनमा क्रियाशील बनाउनुपर्ने कुरामा पार्टीले विशेष जोड दिएको छ । उल्लेखित चूनौति र कार्यभारलाई पुरा गर्न सके कास्कीका चार वटै क्षेत्रमा माओवादीको विजय निश्चित भएको र कास्की जिल्ला लालकिल्ला बन्ने निश्चित छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग