रेमिट्यान्सले बिगारेका यी गाउँहरु !

सुमनराज पन्त

“आज हरियो तरकारी छैन सर, मस्यौरा पकाउँछु है” होटल सञ्चालकले यसो भनेपछि हामीले हुन्छ भन्नुको विकल्प पनि थिएन र स्वीकृति जनायौं ।

खाना खाएर केहीबेर गाउँतिर टहल्न निस्कियौं । वरिपरि खेतीयोग्य जमीन, मुहानको धारा, नजिकै बाह्रमासे नदी देखेपछि मसँगै रहनुभएका हरि दाईले भन्नु भयो “यहाँका मान्छे नम्बरी अल्छी रछन् भाइ ।” उहाँको टिप्पणी ठिकै थियो । हुन पनि, आफ्नै खेतबारी र सिंचाइ सुविधा भइकन पनि खुर्सानीसमेत बजारबाट झिकाउने किसान समुदाय देख्दा उहाँजस्तै विचार सबैमा आउँदो हो ।

चोकतिर डुल्दै आउँदा परनिर्भरताको थप प्रष्ट तस्वीर देखियो । दुईजना महिला डालीमा तरकारी बेच्न बसेका रहेछन् । उनीहरुको डालीमा घिरौला, फर्सी र गोलभेंडा थिए । तर बासी, ओइलाएर चाउरी परेका । ‘हप्तामा एक दुईपल्ट किनेर ल्याउँछौ, बासी त भइहाल्छ नि ‘ तरकारी बेच्दै गरेकी एकजना बोलिन् ।

तरकारी लटरम्म हुनसक्ने यहाँका किसानको दैनिकी अनौठौ महसुस भयो । दुईचार दिन गाडी चलिदिएन भने यहाँका बासिन्दाको मुखमा हरियो तरकारी पर्न हम्मे पर्छ । सागपात, घिरौला, लौका, फर्सीजस्ता सजिलो खेती हुने बालीसमेत गर्ने चलन त्यति देखिएन यहाँ । सिराहाको गोलबजार र मिर्चैंयाले यहाँका बासिन्दालाई तरकारी खुवाइरहेको छ ।

उदयपुर जिल्लाको बेलसोत गाउँमा देखिएको यो दृष्य अहिले सामान्य भइसकेको छ । खाद्यान्न एवं तरकारीको भण्डार मानिएको तराइका अधिकांशः जिल्लामा यस्तो कृषि परनिर्भरता चुलिंदै गएको छ । सिराहाको मिर्चैयादेखि ७ किलोमिटर उत्तरमा पर्ने यो गाउँ ओखलढुंगा, खोटांङ, सोलुखुम्बुलगायतका जिल्लाको नाका हो । कृषि उब्जनीको दृष्टिले उपयुक्त यो गाउँमा सिंचाइको लागि बाह्रमासे कमला नदी यहीं भएर बग्दछ । प्रायः घरमा मुहानको पानी छ । इनार र बोरिङको समस्या छैन । अन्यत्रजस्तो लोडसेडिङको मार पनि कमै छ यहाँ । यातायातको पुरै सुविधा छ । दैनिक संयौंका संख्यामा बस, ट्रक, जीपहरु यही गाउँ भएर गुड्छन् । सदरमुकाम गाइघाट, पूर्वमा धरान, काकडभिट्टा, पश्चिममा बीरगँजदेखि काठमाण्डौंसम्मका सोझो बससेवा छ । सडक पीच छ ।

यो त भयो, पहाडसित सम्मुख गाउँको कुरा । तरकारीको लागि नामी सर्लाहीको लालबन्दी बजारसमेत परनिर्भर हुन थालिसकेको छ । कुनैबेला यहाँबाट बसको छतभरि गोलभेंडा, काउलीहरु भरिएर जान्थे तर अहिले यो क्रम घटेको छ । मकवानपुर, काभे्र, धादिंङजस्ता जिल्लामा उत्पादित तरकारीको बजार भएको छ लालबन्दी । भारतीय आलु, प्याज, चाइनिज लसुन नआए किसानकै तरकारीमा मिसाउने मेलो हुँदैन । खासगरी, बेमौसमी तरकारीहरु आयात हुन थालेकोमा अहिले मौसमी तरकारीसमेत आउन थालेको छ । जबकि, बेमौसमी तरकारीको लागि पनि यहाँ खराब वातावरण छैन ।

कृषिबालीको भण्डार तराइमै यस्तो परनिर्भरता बढ्नुको पछाडि केही कारण छन् । खासगरी, रेमिट्यान्सको नकारात्मक प्रभाव । खेतीकिसानीमा खट्ने युवाहरु धेरैजसो विदेशिएका छन् । विदेश जान नपाएकाहरु नेपालकै सहर बजारतिर पुगेका छन् । घरगाउँमै इलम गरेर बस्दा केही गर्न नसक्ने व्यक्तिको रुपमा चित्रित हुनुपर्ने सामाजिक डरले पनि युवाहरु पलायन हुन बाध्य भइरहेका छन् । उनीहरुको नियमित कमाइले घरका मानिसहरु भने अल्छी र सौखिन भइरहेका छन् । विदेशको कमाइले घरमा सौखका सामान जोड्ने अभिपे्ररणा वृद्धि भइरहेको छ । बढी कमाइ हुँदा सहर बजारतिर घरघडेरी जोड्ने चाहनाले प्रश्रय पाएको छ । गाउँमै महिनापिच्छे करोडौं रेमिट्यान्स भित्रिन थालेपछि बाहिरबाट झिकाइएका तरकारी, फलफूल र अनाज खाने सोख पलाएको छ । आफ्नै खेतखलिआनमा उब्जिने रामविलास, सोना मन्सुली र गद्यरजस्ता धान कौडीको भाउमा बेचेर सहरमा प्याक गरिएका जीरा मन्सुली खाने चलन बढेको छ । ग्रामीण खान्कीलाई नयाँ पुस्ताले मनोरञ्जनको लागि मात्र चाख्ने अवस्था आएको छ । प्रति लिटर २५ रुपैंयाँमा दूध बेचेर २५० मिलिलिटरको कोकलाई ३५ रुपैंयाँ तिर्न ग्रामीण नागरिकमा तत्परता हावी भएको छ । अर्थात्, मौलिक उत्पादन हेपिएको र आयातित खाद्यान्नमा रमाउने चलन स्थापित भएको छ ।

घरपरिवारका मानिसहरु एकातिर परिवारमा युवाशक्ति नभएर कुटोकोदालो गर्न नपाएको दुखेसोमा छन् । कतिपय परिवारमा भने महिनापिच्छेको विदेशी कमाइले कुटोकोदालो नै गर्नुपर्ने अभिपे्ररणा तथा वाध्यता पनि नभएको अवस्था छ । अहिले युवाशक्ति विदेशिंदा गाउँमा धेरैजसो जमीन बाँझो छन् । कतिपय खेतीयोग्य जमीन घडेरीको रुपमा टुक्रिएको छ । विदेशको कमाइले एउटा पक्की घर, घर नभएपनि घडेरी त किन्नैपर्ने सामाजिक मान्यता तथा दवाबले कृषियोग्य जमीनको खण्डीकरण भइरहेको छ । अहिले लालबन्दी र बेलसोतहरुमा सहरी बजारको हाराहारीमा जमीनको भाऊ पुगिसकेको छ । कुनैबेला विगाह र कट्ठामा जमीनको स्वामित्व हुने चलन कटौती भइरहेको छ । धूर र आनामा जमीन खण्डित भइरहेको छ । लहलह धानको बाला झुल्ने जमीनमा इँटाको घर ‘फल्न’ थालेपछि कृषि परनिर्भरता नहुने कुरै भएन । हरेक महिना प्रत्येकजसो गाउँमा दस वीसवटा नयाँ घर थपिएका छन् । अहिले विदेशिने अधिकांश युवा र तिनका परिवार एउटा राम्रो घर बनाउने, नसके सहरमा एउटा टुक्रा भएपनि घडेरी जोड्ने ध्याउन्नमा पाइन्छन् ।

नेपालबाट रोजगारीको खोजीमा विदेशिनको संख्या जति बढ्दैछ, त्यति नै रेमिट्यान्सको गति पनि बढेको छ । विदेशमा खासगरी, खाडी मुलुकमा नेपालीले गर्ने आर्जनले देशको प्रमुख आयस्रोत कायम भएको छ । वास्तवमा नेपालको बजेट संरचना रेमिट्यान्सको प्रवाहदरमा स्थापित भएको तथ्य मान्नैपर्ने हुन्छ । एउटै भएपनि अथाह रुपमा आएको यो आयस्रोतले देशको बजेटमा प्रभाव पार्नु सकारात्मक हो । खासगरी, ग्रामीण वस्तीबाट खाडी पुग्नेहरु भएकोले रेमिट्यान्सको प्रभाव ग्रामीण जनजीवनमा पर्नु स्वाभाविक हो । ग्रामीण गरिबीलाई थोरै भएपनि आर्थिक हैसियत जुटेको छ भने कतिपय ग्रामीण जनजीवनमा विकासका न्यूनतम पूर्वाधारहरु जुटिरहेको छ । तर समग्रतामा यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउनुको साटो उपभोक्तावादलाई सर्वाधिक उचाइ प्रदान गरिरहेको छ । देशवासीलाई प्रत्युत्पादक रुपमा अल्छी र सोखिन बनाइरहेको छ । यद्यपि, उपभोक्तावादले जन्माएको मागको आपूर्ति स्वदेशी उत्पादनबाट पूरा हुने वातावरण सिर्जना गरिनुको साटो भारत, चीन तथा अन्य तेस्रो मुलुकको उत्पादनले बजार पाइरहेका छन् । मुलुक अनि समाजको दिगो आर्थिक समृद्धिको नीतिगत एवं कार्यगत जिम्मेवारी बोकेका राजनीतिक दल र सरकारहरुको लाचारी हो यो । उनीहरुको यस्तै लाचारीले नेपाली अर्थतन्त्र खासगरी कृषि क्षेत्रमा परनिर्भरता चिन्ताजनक रुपमा अघि बढिरहेको छ । बेलैमा राजनीतिक दल र सरकारहरुमा चेत खुलोस् । हामीले पनि नागरिक दवाब दिने तत्परता जुटाऔं ।

(लेखक कर्मणा कृषि फार्म, जब्दी, सर्लाहीका प्रबन्ध निर्देशकसमेत हुन् ।)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज