“लौहपुरुषलाई कांग्रेसले न्याय गर्न सकेन”

‘दैवी न्यायलाई पर्खिरहेका जनताले आफूलाई प्रजातन्त्ररूपी यज्ञमा निर्भय र निःस्वार्थ होमिरहेका छन् । यो अभूतपूर्व त्याग र बलिदानले छिट्टै प्रजातन्त्र ल्याउनेछ,’ ०४६ को जनआन्दोलन सुरु हुनुअघि गणेशमान सिंहले सहिद दिवसमा दिएको अभिव्यक्ति सार्थक प्रमाणित हुन लामो समय पर्खनु परेन ।
०४६ सालको २६ चैतमा नै उनले बालेको यो कुरो पुग्यो । उनको नेतृत्वमा उर्लेको जनसागरको दबाब थेग्न नसकी तत्कालीन पञ्चायतले घुँडा टेक्यो । १ पुस २०१७ मा खोसिएको प्रजातन्त्रलाई जनआन्दोनको भरमा पुनः प्राप्त गरेपछि २७ चैतमा टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसी’ का रूपमा सम्मान दिइयो । जसमा तत्कालीन कम्युनिस्ट ६ पार्टीको संयुक्त मोर्चा पनि सहभागी थियो । गणेशमानको उक्त वाणी प्रजातन्त्र र लोकतन्त्रलाई संस्थागत गर्न अहिले पनि उत्तिकै सार्थक छ । तर, दलीय एकता हुन नसक्दा आमजनता अहिले आफूहरूको निरन्तर संघर्षबाट प्राप्त लोकतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्तामा छन् । मुलुकमा संवैधानिक र राजनीतिक अन्योल छ । अन्योलकै बीच ३० वर्षे पञ्चायती शासन पाखा लगाउन नेतृत्व गर्ने ०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डरको १५औँ स्मृतिदिवस
आज हो ।
मुलुक र जनताका लागि अहोरात्र खटिएका सिंहलाई तत्कालीन पञ्चायतले आन्दोलनका क्रममा गिरफ्तार मात्र गरेन, थुनामा लगेपछि पनि बारम्बार चरम यातना दिन थाल्यो । तर,  उनी मुलुक र जनताका लागि लडिरहे र सफलता हात पारे । जसको नेतृत्वमा काम सफल हुन्छ, त्यसपछिको पद उसैले पाउँछ, यो सर्वव्यापी मान्यता हो तर उनी त्यो पदका लागि पनि अग्रसर भएनन् । जनआन्दोलन सफल भएपछि सबैले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे तर उनले त्यो आग्रहलाई ठाडै इन्कार गरी आन्दोलनका अर्का सहयात्री कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए । यद्यपि, अहिले त दलहरूका लागि यस्तो जटिल अवस्था छैन । दलहरू एकजुट भए लोकतन्त्रका लागि गर्न नसक्ने केही छैन । तैपनि, दलगत र नेताका व्यक्तिगत स्वार्थका कारण शान्ति र संविधानका कार्य पूरा हुन सकेका छैनन् ।
तर, विडम्बना कांग्रेसले उनलाई स्मृतिदिवसमा समेत सम्झन औपचारिक कार्यक्रम आयोजना गर्ने फुर्सद पाएन । कांग्रेस केन्द्रीय कार्य समितिले कुनै कार्यक्रम आयोजना नगरेको कांग्रेस मुख्यालयले जानकारी दियो । ‘केन्द्रले कुनै औपचारिक कार्यक्रम गरेको छैन,’ कांगे्रस महामन्त्री प्रकाशमान सिंहले भने, ‘जिल्ला कार्य समितिलाई भने स्मृतिदिवस मनाउन पत्राचार गरिएको छ ।’
१२औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित प्रकाशमान गणेशमानका छोरा हुन् । ‘कांग्रेसले चाहेर पनि विभिन्न प्रतिकूल परिस्थितिका कारण बिपी र गणेशमानका सिद्धान्त तथा दर्शन अवलम्बन गर्न सकेको छैन,’ उनी भन्छन्, ‘तर पूरै सिद्धान्त भने छाडिसकेको होइन । उहाँलाई कांग्रेसले न्याय गर्न सकेन ।’ कांग्रेस विधानमा महामन्त्रीले केन्द्रीय कार्यालयको कामकाजको नेतृत्व गर्ने तथा पार्टीगत रूपमा मनाउने पर्वको निर्धारण गर्ने उल्लेख छ । प्रकाशमान सिंह १२औँ महाधिवेशनबाट निर्वाचित
महामन्त्री हुन् ।
गणेशमान सिंहसँग ०४६ को आन्दोलनमा सँगसँगै होमिएका कांग्रेस पूर्वमहामन्त्री तथा वर्तमान केन्द्रीय सदस्य कुलबहादुर गुरुङ पार्टीले आफ्नो र मुलुकको गौरव आफ्ना नेताहरूलाई भुलेको स्वीकार गर्छन् । ‘राष्ट्रको गौरव बचाएका नेताको नाम भजाएर पार्टी अघि बढ्न पर्ने हो, जनताको माया पाउनका लागि,’ गुरुङ भन्छन्, ‘तर नेतृत्वको अक्षमताका कारण उनीहरूको गौरवलाई भजाएर पार्टीलाई सक्षम बनाउन त कहाँ छ कहाँ ? जन्मजयन्ती र स्मृतिदिवसमा समेत सम्झन छाड्यो ।’
मुलुक र जनताका लागि गणेशमान, बिपी, किसुनले दिएकोजस्तो निःस्वार्थ योगदान अहिलेका नेता र दलहरूले राष्ट्रका लागि गर्न सके वर्तमान जटिलता सहजै समाधान हुन सक्छ । एकपटक नेता र दलहरूले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र र जनताका लागि सोच्ने हो कि ?

सिंहको राजनीतिक यात्रा

सिंहले राजनीतिक यात्रा भारतमा अध्ययनकै क्रममा विसं १९९७ मा राष्ट्रिय प्रजा परिषद्को सदस्यता लिएर सुरु गरेका हुन् । वैशाखमा प्रजा परिषद्को सदस्यता लिएका सिंहलाई ६ महिनापछि कार्तिकमा तत्कालीन राणासरकारले गिरफ्तार गरी सर्वस्वहरणसहित आजीवन कारावासको दण्डसजाय सुनायो । तर, राणाको पर्खालले उनलाई धेरै दिन कैद गर्न सकेन ।
उनी २००१ वैशाखको एक रात भद्रगोल जेलको पर्खाल नाघेर भागे । लगत्तै उनी कृष्णबहादुर प्रधानका नाममा राणाविरोधी अभियानमा लागे । त्यसपछि उनलाई देशनिकाला गरियो । भागेर उनी भारतमा नेपालीको बसोबास रहेको दार्जिलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौरलगायत स्थानमा पुगे । यसक्रममा कोलकातामा विश्वेश्वरप्रसाद कोइरालासँग सिंहको २००१ सालमा भेट भएपछि विश्वेश्वरसँग मिलेर १२ माघ २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे । पाँच वर्षपछि २००६ मा उनले सुवर्णशमशेरको प्रजातान्त्रिक कांग्रेससँग सो पार्टी मिलाएर नेपाली कांग्रेस बनाए ।
पुनः क्रान्तिका लागि २७ असोज २००७ मा भूमिगत रूपमा नेपाल आउँदा सिंह ठोरीको जंगलमा पक्राउ परे । जेलमा शारीरिक यातना झेलेका सिंह प्रजातन्त्र स्थापना भएपछि रिहा भए । रिहा भएपछि उनी मोहनशमशेरको नेतृत्वको मन्त्रिमण्डलमा उद्योग तथा वाणिज्यमन्त्री र २००८ सालमा कांग्रेस नेता मातृकाप्रसाद कोइराला नेतृत्वको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भए । २०१२ मा कांग्रेसको वीरगन्ज अधिवेशनमा सभापतिमा उनी सुवर्ण शमशेरसँग पराजित भए । २०१४ सालको भद्र अवज्ञा आन्दोलनका नेतृत्वकर्ता सिंह २०१५ सालमा सम्पन्न प्रथम संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौंबाट सांसदमा विजयी भए । त्यसपछि बिपी कोइरालाको नेतृत्वमा गठित सरकारमा उनी निर्माण तथा यातायातमन्त्री बने ।
१ पुस २०१७ को घटनापछि २०२५ सम्म सुन्दरीजल जेलमा थुनिएका सिंह जेलमुक्त भएपछि निरंकुशताविरुद्ध आन्दोलनको नेतृत्व गर्न भारत गए । बिपी कोइरालासँग २०३३ मा मेलमिलापको नीति लिएर फर्किएका सिंहलाई तत्कालीन पञ्चायत सरकारले विमानस्थलमै गिरफ्तार गरी राजकाज मुद्दा चलाएर र फाँसीको तयारीसमेत गर्‍यो । २०३४ मा भारतको पटनामा सम्पन्न कांग्रेेसको सम्मेलनबाट पार्टी नेता निर्वाचित सिंहको जनमत संग्रहमा निःशर्त सहभागी हुने विषयमा बिपीसँग मतभेद भयो । २०३९ मा बिपीको देहावसानपछि कांग्रेस सर्वोच्च नेता बनेका सिंहले २०४२ मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरी सत्याग्रह आन्दोलनको नेतृत्व गरे । त्यसबखत पनि उनी जेल परे ।
५, ६ र ७ माघ २०४६ मा क्षेत्रपाटीस्थित आफ्नै निवासमा सम्पन्न कांग्रेस सम्मेलनबाट सिंहले जनआन्दोलनको घोषणा गरे । ७ फागुन २०४६ मा प्रारम्भ भएको जनआन्दोलनको नेतृत्व सम्हालेका सिंहलाई ६ वामपन्थी पार्टीको संयुक्त मोर्चाले समेत साथ दियो । तर, आन्दोलनका क्रममा घरमै नजरबन्दमा राखिएका सिंहलाई गम्भीर अस्वस्थ भएपछि अस्पताल भर्ना हुँदासमेत नजरबन्द गरियो । २६ चैत २०४६ मा जनआन्दोलनसामु पञ्चायतले घुँडा टेकेपछि दलहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । २७ चैतमा टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसी’ का रूपमा सम्मान दिइयो । जनआन्दोलनपछि २०४७ मा गठित अन्तरिम सरकारमा तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा सिंहले अस्वीकार गरे ।
झापाको कलबलगुडीमा २०४९ मा सम्पन्न कांग्रेसको आठौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सुरु भएको मतभेद उत्कर्षमा पुगेपछि सिंहले २०५१ भदौमा कांग्रेस परित्याग गरे तर कांग्रेसले २०५१ म्ाा पोखरामा सम्पन्न महासमिति बैठकमा पनि सिंह पार्टी सर्वाेच्च नेता कायमै रहेको घोषणा गर्‍यो । २०५३ वैशाखको नवौँ अधिवेशनमा अनुपस्थित रहे पनि सिंहलाई पार्टी सर्वाेच्च नेता कायमै राखियो । ८२ वर्षको उमेरमा २ असोज २०५४ मा सिंहको देहान्त भयो । सरकारले पहिलोपटक सरकारी पदमा नभएको राजनीतिज्ञको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो ।

प्रस्तुति : मधुसुधन भट्टराई

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए